भिजिट भिसामा अलपत्र परेका नेपालीको समस्याबारे सरकारले गरायो युएईलाई ध्यानाकर्षण – Nepal Press

भिजिट भिसामा अलपत्र परेका नेपालीको समस्याबारे सरकारले गरायो युएईलाई ध्यानाकर्षण

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा तस्करीमार्फत लगेर अलपत्र पारिएका नेपालीका समस्या समाधान गर्न पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले युएईका राजदूत साइद्य हमदान अल नाकीसँग यस विषयमा छलफल गर्दै ध्यानाकर्षण गराएका छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

अनधिकृतरुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालक, बिचौलिया तथा लामो समयदेखि युएइमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीले नै नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृत्ति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरुलाई कानूनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरेका थिए ।

उनले रोजगारी पाउने आशामा भिजिट भिसामा युएई गई अलपत्र परेकाको समस्याको स्थायी समाधान नहुञ्जेल त्यही रोजगारीका अवसरका लागि सहयोग गर्न आग्रह गरे । अलपत्र परेका नेपालीको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनीरुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफीको लागि पनि मन्त्री श्रेष्ठले अनुरोध गरेका थिए ।

राजदूत साइदले युएई गई समस्यामा परेका नेपालीको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । उनले नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर