१७१ देशसँग नेपालको कूटनीतिक सम्बन्ध, छिमेकीसँग सम्बन्ध बलियो बनेको सरकारको दावी (पूर्णपाठ) – Nepal Press
परराष्ट्र मन्त्रालयद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक

१७१ देशसँग नेपालको कूटनीतिक सम्बन्ध, छिमेकीसँग सम्बन्ध बलियो बनेको सरकारको दावी (पूर्णपाठ)

काठमाडौं । सरकारले सन् २०२१ मा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको र भारत तथा चीनसहितका छिमेकी मुलुकसँगको सम्बन्ध बलियो भएको बताएको छ ।

सन् २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले कोभिड-१९ महामारीको चुनौतिको बाबजुद पनि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भएको जनाएको हो ।

नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १७१ पुगेको बताउँदै मन्त्रालयले पछिल्लो वर्ष गाम्बिया, सियरालिओन र कमन वेल्थ अफ कोमिनिकासँग कूटनीतिक सम्बन्ध स्थापना भएको जनाएको छ ।

सन् १८१६ मा नेपालले पहिलोपटक बेलायतसँग कूटनीतिक सम्बन्ध विस्तार गरेको थियो । सन् १९४७ मा अमेरिका र भारतसँग सम्बन्ध विस्तार भएको थियो । सो संख्यामा वृद्धि भएर अहिले १७१ पुगेको हो ।

वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोनाभाइरसको दोस्रो लहरले नेपाललाई खोप कूटनीति संचालन गर्नतर्फ अग्रसर तुल्याएको बताएका छन् ।

‘विदेश नीति संचालन गर्ने क्रममा मैले स्वदेशमा राष्ट्रिय सहमति जुटाउने प्रयास गरेको छु’ प्रतिवेदनमा मन्त्री खड्काले भनेका छन्, ‘हाम्रा निकट छिमेकी, छिमेकी र क्षेत्रीय तथा अन्य मित्रराष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध थप बलियो भएको छ ।’

परराष्ट्र नीति निर्माणसहित उच्चस्तरीय भ्रमण, उच्चस्तरीय संवाद र आर्थिक कूटनीतिलाई मन्त्रालयले सन् २०२१ का महत्वपूर्ण प्रगतिको रुपमा व्याख्या गरेको छ ।

गतवर्ष नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनेको बताउँदै मन्त्रालयले सीमापार पेट्रोलियम पाइपलाइन, रेलवे, एकीकृत चेक प्वाइन्ट, भूकम्पपछिको पुननिर्माण भारतसँगको सहकार्यमा पुरा भएको उल्लेख छ ।
उत्तर छिमेकी चीनसँग पञ्चशिलको सिद्धान्तअनुसार सुमधुर सम्बन्ध रहिआएको र नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको समेत मन्त्रालयले जनाएको छ ।

दक्षिण एसियाली मुलुक, पूर्वी एसिया, पूर्वी एसिया र प्रशान्त क्षेत्रीय मुलुकहरु, मध्य एसिया-पश्चिम एसिया र अफ्रिका, युरोप तथा अमेरिकी मुलुकसँग नेपालको सम्बन्ध र कूटनीतिक उपलब्धीको रुपमा प्रतिवेदनमा चर्चा गरिएको छ ।

सार्क, बिमस्टेक, एसिया कोअपरेसन डायलग, सांघाइ कोअपरेसन अर्गनाइजेसनजस्ता क्षेत्रीय संगठनमा नेपालले सक्रिय भूमिका खेलेको जनाइएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा राहदानी विभागले कूल ६८ लाख एमआरपी पासपोर्ट वितरण गरेको पनि मन्त्रालयले जनाएको छ । कोभिड-१९ महामारीको क्रममा छिमेकी मुलुक भारत र चीनदेखि अमेरिका लगायत अन्य मुलुकहरूले गरेको स्वास्थ्य सामग्री र खोप सहयोगलाई प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपतिको आयोजनामा ग्लोबल डेमोक्रेसी फोरममा गरेको सम्बोधन र स्कटल्यान्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागितालाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा नेपालले पहिलो पटक गत वर्ष जारी गरेको नेपालको परराष्ट्र नीति-२०२० जारी गरिएको, नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएको, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा फेरि सदस्य निर्वाचित भएको तथा नेपाल संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ दोस्रो स्थानमा उक्लिएको उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर