ब्याडमिन्टनको जुनियर महिला युगलतर्फको ७औं विश्व वरीयतामा रशिला


काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।
जुनियर महिला एकलतर्फ १९ औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।
नेपाल ब्याडमिन्टन संघले प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियर तर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली व्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा सफलताको कामना गरेको छ ।
साथै संघले नेपाली ब्याडमिन्टन खेलाडीहरुले एक पछि अर्को उचाइलाई छुन सफल भएकोमा खुसी जनाएको छ ।
महासंघले यसअघि नेपालका अर्का उदीयमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा परेको सार्वजनिक गरिसकेको छ ।