साम्राज्ञी र जितुको लभस्टोरी कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ सुटिङ सुरु – Nepal Press

साम्राज्ञी र जितुको लभस्टोरी कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ सुटिङ सुरु

काठमाडौं । जितु नेपाल र साम्राज्ञी शाहको मुख्य भूमिका रहने कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ छायांकन पर्वतदेखि सुरु भएको छ ।

त्यहाँको भूक देउराली गाउँबाट सुरु भएको छायांकन दुई महिना चल्ने अभिनेता नेपालले जानकारी दिए । सोमबार मुहूर्तसहित फिल्म सुटिङ गरिएको थियो ।

पर्वतपछि पोखरा र काठमाडौंमा समेत छायांकन सुरु हुने फिल्मलाई सिचुएसनल कमेडी जानरामा निर्माण गर्न लागिएको हो । कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

‘कोभिड प्रोटोकल पालना गर्दै छायांकन गरिरहेका छौं’ जितुले टेलिफोनबाट नेपाल प्रेसलाई भने, ‘बाँकी छायाँकन पोखरा र काठमाडौंमा गर्ने तयारी छ ।’ फिल्म छायांकन सेटमा भाग लिन अभिनेत्री शाह यसैसाता त्यसतर्फ जाने भएकी छिन् ।

कमेडी विधाबाटै स्थापित अभिनेता जितुका लागि यो त्यसकै निरन्तरता भएपनि साम्राज्ञीको लागि भने यो पहिलो कमेडी जानराको फिल्म हो । ‘फिल्मलाई लिएर म उत्साहित छु र रोल मेरा लागि एक किसिमले चुनौतिपूर्ण पनि छ’ साम्राज्ञीले भनिन्, ‘दर्शकले मलाई नयाँ भूमिकामा देख्न सक्नुहुनेछ ।’

फिल्ममा साम्राज्ञी जितुको प्रेमिकाको भूमिकामा देखिने भएकी छिन् ।

फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, डिल्ली खनालको समेत मुख्य भूमिका छ । यही फिल्मको लागि साम्राज्ञीले महंगो पारिश्रमिक समेत बुझेकी छिन् ।

छक्कापञ्जा सिरिजमा रहने वा नरहने अन्यौलताको बीचमा जितुले यो फिल्मलाई अघि बढाएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *