कर्मचारीमा संक्रमण फैलिएपछि पाल्पा प्रशासनका सेवा बन्द – Nepal Press

कर्मचारीमा संक्रमण फैलिएपछि पाल्पा प्रशासनका सेवा बन्द

रुपन्देही । प्रशासनका धेरै कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक सेवाबाहेक अन्य सबैखाले सेवा बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तिमार्फत् अत्यावश्यक सेवाबाहेक अन्य सबैखाले सेवालाई हाललाई स्थगित गरेको जानकारी दिएका छन् ।

प्रजिअ पन्तले जारी गरेको सूचनामा माघ ९ गतेदेखि लागू हुने गरी शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सेवा स्थगित गरिएको र अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको उल्लेख छ ।

प्रशासनले अत्यावश्यक सेवा लिन आउँदा पनि खोप कार्ड वा कोरोना बिरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने जनाएको छ । खोप लगाएको कार्ड नभएको खण्डमा सेवासमेत नदिने प्रशासनले जनाएको छ । यसैबीच प्रमुख जिल्ला अधिकरी पन्तले कोरोना संक्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेका छन् । गत पौष २८ गते जारी गरेको आदेशलाई यथावत राख्दै थप आदेश जारी भएको हो ।

आदेशमा कामबाहेक अनावश्यक घर बाहिर ननिस्कन, सार्वजनिक यातायातमा सिट क्षमता अनुसार यात्रु माक्स प्रयोग गरेर मात्र राख्न आग्रह गर्दै यातायात तथा होटेल व्यवसाय सञ्चालनको लागि मापडण्द तोकिएको छ । अग्रपंक्तिमा रहने कर्मचारीहरुको एन्टिजेन परिक्षण गरेर मात्र काममा लगाउन, कोभिडको लक्षण देखिएमा ५ दिन क्वारेन्टाइन र त्यस पश्चात परिक्षण गरेर मात्र काममा लगाउन निर्देशन जारी भएको छ ।

उता कोरोना संक्रमित यतिबेला घरघरमै छन् । कोरोनासंँग मिल्दोजुल्दो लक्षण देखिएका धेरैजना घरमै बसेका छन् । रुघाखोकीलाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, कतिपयलाई ज्वरोसमेत आउने गरेको छ । तर परीक्षणको दायरा नबढाउँदा भने उनीहरु घरमै रुघा लागेको भन्दै बस्ने गरेका छन् । कतिपयले सामाजिक सञ्जालमै यस्तो लक्षण देखिएकाो छ । ओमीक्रोन भाइरस हो कि रुघाखोकी भन्दै बसेको पनि पाइएको छ ।

तर स्थानीय तह, स्वास्थ्य कार्यालय, सरोकारवाला निकायले परीक्षणका लागि दायरा भने फराकिलो बनाउन सकेका छैनन् । लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा उपचार गर्न गयो भने पैसा लिएर एन्टिजेन गर्छ । स्थानीयले तहले कहिँकतै बुथ राखेका छैनन् । जसले गर्दा नागरिकले पैसा तिरेर परीक्षण गर्न चाहेका छैनन् । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पुस २८ कै बैठकबाट एन्टिजेन परीक्षणका लागि स्थानीय तहलाई बुथ मिलाउन निर्णय भएको हो । तर पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले बुथ निर्माण गरेका छैनन् ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले तानसेन नगरपालिकालाई यस विषयमा जानकारी गराएको बताए । स्थानीय तहहरुलाई पनि यस विषयमा समन्वय भए पनि बुथ राख्न प्राविधिक कर्मचारी अभावले नसकिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर