निर्वाचनबारे कांग्रेस : छलफल छैन अलमल मात्रै – Nepal Press

निर्वाचनबारे कांग्रेस : छलफल छैन अलमल मात्रै

काठमाडौं । स्थानीय निर्वाचनबारे राष्ट्रिय राजनीतिमा चर्चा चुलिएपनि सत्तारुढ दल नेपाली कांग्रेसभित्र भने यसबारे कुनै छलफल भएको छैन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । देउवाले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै ‘आगामि वर्ष तीनै तहको निर्वाचन हुने’ बाहेक कुनै धारणा दिएनन् ।

१४ औं महाधिवेशनबाट कांग्रेस सभापतिमा देउवा दोहोरिएको १ महिना बितेको छ । यो अवधिमा कांग्रेसले २ वटा केन्द्रीय समिति बैठक सम्पन्न गरेको छ । दुवै बैठकमा राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा छलफल भने हुन सकेन ।

निर्वाचनबारे कांग्रेस नेताहरुको फरक–फरक अभिव्यक्ति सार्वजनिक भएपनि सभापति देउवाले आन्तरिक छलफल गराएका छैनन् । निर्वाचनबारे पार्टीको भन्दा गठबन्धनको साझा धारणालाई देउवाले प्राथमिकता दिएका छन् ।

एकातिर प्रधानमन्त्री देउवाले निर्वाचनबारे पार्टीभित्र पर्याप्त छलफल गराएका छैनन् भने अर्कोतिर गठबन्धनको समन्वय समितिमा रहेका कांग्रेस नेताहरु आफ्नो स्वार्थ अनुकुलको निर्णय गराउन केन्द्रीत छन् ।

गठबन्धनको संयोजकसमेत रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला स्थानीय भन्दा पहिले संसदीय निर्वाचन हुनुपर्ने पक्षमा छन् ।

उनीहरु तीनैजना गत संसदीय निर्वाचनमा पराजित भएका नेता हुन् । पहिले संसदीय निर्वाचन भए पार्टीलाई लाभ हुने भन्दै उनीहरुले प्रधानमन्त्री देउवालाई पनि स्थानीय निर्वाचन सारेर भएपनि संसदीय निर्वाचन गराउन सुझाव दिदै आएका छन् ।

‘गठबन्धनको समन्वय समितिमा अधिकांश नेताहरु पहिले संसदीय निर्वाचन गराउने पक्षमा हुनुहुन्छ । गठबन्धनले लिने निर्णय नै प्रधानमन्त्रीको निर्णय हो । त्यसलाई पार्टीले पनि स्वामित्व लिन्छ’, देउवानिकट एक नेताले भने ।

ती नेताका अनुसार पार्टीभित्र फरक मतजस्तो देखिएपनि सभापति देउवाले लिने निर्णय कार्यान्वयनमा बाधा हुनेछैन । ‘अहिले पार्टीभित्र छलफल गर्नुभन्दा गठबन्धनमा साझा धारणा बनाउनु महत्वपूर्ण हो’, ती नेताले भने ।

कांग्रेसभित्र डा. शेखर कोइराला नेतृत्वको समूह भने स्थानीय सरकारलाई जन प्रतिनिधिविहीन बनाउन नहुने पक्षमा रहेको छ ।

कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतले पहिले स्थानीय निर्वाचन गरेर मात्रै संसदीय निर्वाचन गराउनुपर्ने धारणा राख्दै आएका छन् ।

उनीहरुले संविधानमा स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्थाको कल्पना नगरिएको भन्दै बैशाख अन्तिमसम्म स्थानीय निर्वाचन गर्नुपर्ने अडान राख्दै आएका छन् । यद्यपि कांग्रेसको औपचारिक बैठक बस्न नसक्दा उनीहरुको धारणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा मात्रै सीमित भएको छ ।

‘महाधिवेशन सकिएको १ महिना भइसक्यो तर कुनैपनि विषयमा पार्टीमा छलफल भएको छैन । निर्वाचनजस्तो गम्भीर विषयमा पार्टीका नेताहरुको फरक–फरक धारणा आउनु गलत छ । तत्काल पार्टीको धारणा बनाउनुपर्छ’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर