विद्युत आपूर्ति नहुँदा ९० लाखको अक्सिजन प्लान्ट प्रयोगविहीन


सुर्खेत । दैलेख जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिका–चारमा रहेको राकम कर्णाली स्वास्थ्य चौकीमा पर्याप्त विद्युत आपूर्ति नहुँदा अक्सिजन प्लान्ट थन्किएको छ ।
गैरआवासीय नेपाली संघले अछाम, दैलेखका विकट बस्तीका नागरिकको सुविधाका लागि राकम स्वास्थ्य चौकीलाई ९० लाखको अक्सिजन प्लान्टको सामाग्री अनुदानमा उपलब्ध गराएको थियो ।
‘हामीले विधुतको व्यवस्थापन गर्न नसक्दा अक्सिजन प्लान्ट स्वास्थ्य चौकीको एक कोठामा नै थन्क्याएर राख्न बाध्य भएका छौं,’ आठबीस नगर स्वास्थ्य प्रमुख देवराज तिमिल्सेनाले भने, ‘सुर्खेत जुम्ला सडकमार्फत गएको एघार केभीएको विद्युत प्रसारण लाइनमा एक ट्रान्सफर्मर राखेर विद्युत प्रवाह गर्न सकिए एक सातामै अक्सिजन उत्पादन सुरु गर्न सक्छौं।’
जिसी रिसर्च एण्ड डेभलप्मेन्ट उद्योग कुपण्डोलका इन्जिनियर शिशिर जिसीका अनुसार उक्त प्लान्ट जडान भएपछि दैनिक रुपमा तीन सय सिलिण्डरसम्म अक्सिजन भर्न सकिने छ । उक्त प्लान्टको क्षमता ५० एनएमक्यू प्रति घण्टा रहेको बताउँदै उनले विद्युत उपलब्ध भएको खण्डमा एक साता भित्रै अक्सिजन प्लान्टले उत्पादन सुरु गर्न सक्ने बताए ।
‘यो प्लान्ट ल्याउने र जडान गर्ने जिम्मेवारी हाम्रै हो । तर विद्युत आपूर्ती नभएका कारण हामीले जडान गर्न सकेका छैनौं,’ उनले भने ।