आयोगले गरेको विभेद नसच्चाइए आन्दोलनमा जाने संस्कृत विश्वविद्यालयका विद्यार्थीको घोषणा – Nepal Press

आयोगले गरेको विभेद नसच्चाइए आन्दोलनमा जाने संस्कृत विश्वविद्यालयका विद्यार्थीको घोषणा

रुपन्देही । नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरुले विश्वविद्यालय अनुदान आयोगले नै संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुलाई विभेद गरेको भन्दै तत्काल यसलाई नसच्चाइए आन्दोलनमा जाने घोषणा गरेका छन् ।

आयोगले आव्हान गरेको छात्रवृत्ति तथा अनुदानका प्रस्ताव लिएर कार्यालयमा पुगेका विद्यार्थीहरुलाई आयोगका कर्मचारीहरूद्धारा नेपाल संस्कृत विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ वर्ष अध्ययन नभएका) मा अनुसन्धान कार्यमा सहभागी शोधार्थीहरूले विश्वविद्यालय अनुदान आयोगद्धारा प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने र हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने जस्ता अभिव्यक्तिले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन् ।

उनीहरुले शिक्षामन्त्री, कुलसचिव, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका शिक्षाध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका अनुसन्धान केन्द्र निर्देशक, विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरका अध्यक्षलाई ध्यानाकर्षण पत्रसहित यसको वास्तविकता विद्यार्थीलाई जानकारी दिन माग गरेका छन् ।

उनीहरुले विश्वविद्यालय अनुदान आयोगमा विद्वत वृत्तिका लागि आवेदन दिने व्यवस्था मिलाउन, आयोगद्धारा शोधार्थीलाई प्रदान गरिने विद्वत वृत्ति तथा अन्य छात्रबृत्तिहरूमा विभेदपूर्ण व्यवहार नगर्न र यसरी प्राप्त गर्ने विद्यावारिधि अन्य विश्वविद्यालयद्धारा प्रदान गरिने विद्यावारिधि सरह मान्यता प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।

विश्वविद्यालय अनुदान आयोगद्धारा पहिलेदेखि प्रदान गर्दै आएको विद्वतवृत्ति अनुदान कार्यक्रम हाल हटाइएको र नेपाल संस्कृत विश्वविद्यालयका आधुनिक विषयका पूर्ववर्ती अध्येताहरूले विद्वतवृत्ति अदालतको आदेशअनुसार न्यायसंगत रूपमा हासिल गरेको परिप्रेक्ष्यमा विश्वविद्यालय अनुदान आयोगको यस अन्यायपूर्ण व्यवहारले मर्माहत बनाएको उल्लेख गर्दै पत्रमा ५ दिन भित्र पूरा नभए आन्दोलनमा जान बाध्य हुने र त्यसको जिम्मेवारी आयोग नै हुनपर्ने जनाइएको छ ।

पत्रमा  भनिएको छ,’०७८।०९।२३ गते विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरद्धारा उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरूलाई छात्रवृत्ति तथा अनुदानको लागि प्रस्ताव आव्हानसम्बन्धी सूचना प्रकाशन गरेकोमा विश्वविद्यालय अनुदान आयोगमा नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका शोधार्थीहरूले आवेदन पेश गर्न जाँदा आयोगका कर्मचारीहरूद्धारा नेपाल संस्कृत विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ वर्ष अध्ययन नभएका) मा अनुसन्धान कार्यमा सहभागी शोधार्थीहरूले विश्वविद्यालय अनुदान आयोगद्धारा प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने र हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने जस्ता अभिव्यक्तिहरू आएकाले यसतर्फ ध्यानाकर्षण गराउँदछौं । ‘

 


प्रतिक्रिया

One thought on “आयोगले गरेको विभेद नसच्चाइए आन्दोलनमा जाने संस्कृत विश्वविद्यालयका विद्यार्थीको घोषणा

  1. धन्यबाद नेपाल प्रेस, कसैलाई काखा, कसैलाई पाखा कसरी गर्न सकेको विश्व विद्यालय अनुदान आयोग ले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *