भाइरल गाउँ रत्नेचौरमा १० करोडको भ्यू टावर बन्ने, टीकटकमा हिट भएपछि पर्यटन विकासको पहल – Nepal Press

भाइरल गाउँ रत्नेचौरमा १० करोडको भ्यू टावर बन्ने, टीकटकमा हिट भएपछि पर्यटन विकासको पहल

रत्नेचौर । पछिल्लो समय टीकटकजस्ता सामाजिक संजालमा भाइरल बनिरहेको म्याग्दीको रत्नेचौर गाउँमा पर्यटकीय विकास गर्न पहल सुरु भएको छ ।

बेनी नगरपालिका-१ स्थित गाउँमा १० करोड लागतमा भ्यू टावर निर्माण गर्न पहल सुरु भएको हो । जगतगुरु हिमालयन बाबाको पहलमा रत्नेचौरको सल्लाघारी डाँडामा टावर निर्माणको योजना अघि बढाइएको हो । तीन महिनाभित्र प्रस्ताव पत्र पेश हुने भएको छ ।

कोरोनाभाइरस महामारीको परिस्थिती सामान्य बनेपछि संघीय तथा प्रदेशस्थित विभागीय मन्त्रीलाई बोलाएर परियोजनालाई अघि बढाउने समाजसेवी तथा स्थानीय भानु उच्च माविका प्रअ भरत खत्रीले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार अहिले भ्यू टावरसहित पर्यटन विकासका अन्य योजनाको प्रस्तावको ढाँचा बनिरहेको छ । जगतगुरु हिमालयन बाबाले पनि आफ्नो पहलमा भ्यू टावर बनाउने र भानु उच्च माविमा संस्कृतिको नियमित पठनपाठनको पहल सुरु भएको बताए ।

सल्लाघारी डाँडामा भ्यू टावर बनाए धौलागिरी श्रृंखलाको दृश्यावलोकनसहित म्याग्दी, बागलुङ र पर्वतलाई पनि नियाल्न सकिने आशा हिमालयन बाबाले लिएका छन् । आगामी साता रत्नेचौर पुगेर उनले भ्यू टावर निर्माण थलोको अवलोकन गर्नेछन् ।

पछिल्ला साताहरुमा रत्नेचौरको तोरीबोरी र त्यहाँको सौन्दर्य सामाजिक संजालसहित मूलधारका मिडियामा पनि चर्चित भएका छन् । सयौं तन्नेरी रत्नेचौरको फाँटमा पुगेर दैनिक तोरीबारीलाई टीकटक, इन्स्टाग्राममा कैद गर्न व्यस्त देखिन्छन् ।

भाइरल बनेको रत्नेचौर गाउँले ट्वीटरमा समेत चर्चा बटुलेको छ । प्रशासक, पत्रकार, कूटनीतिज्ञदेखि सर्वसाधारणले समेत फोटो ट्वीट गर्दै घुम्ने चाहना व्यक्त गरेका छन् ।

गुरुङ फिल्म एसोसियसन (जिफान)का अध्यक्ष भोजबहादुर गुरुङले आफूले निर्माण गर्न लागेका केही फिल्म प्रोजेक्टको छायांकन रत्नेचौरमा गर्ने योजना रहेको सुनाए ।

‘भाइरल बनेको मात्र हैन, मेरो फिल्मले खोजेको कथावस्तुसँग त्यहाँको लोकेसनको सौन्दर्य मेल खान्छ’ गुरुङले नेपाल प्रेसलाई भने । आफूले यसअघि म्याग्दीका अन्य भूगोलमा पनि फिल्म सुट गरेपनि रत्नेचौरको ब्यूटीले फिल्ममेकरलाई लोभ्याएको बताए ।

म्याग्दीको तराइको रुपमा समेत चिनिने रत्नेचौरमा पछिल्लो समय धौलागिरी रंगशाला तयार भएको छ भने बागलुङको कुँडुलेसँग जोड्ने लामो झोलुंगे पुलको निर्माण सुरु भएको छ ।

रत्नेचौरसम्म पुग्नको लागि कालोपत्र सुरु भएपछि दैनिक सो सडक हुँदै आवतजावत गर्नेको घुइँचो लागेको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट निकट रहेको रत्नेचौरमा पर्यटकीय सम्पदा विकास गर्न सकिए यसले त्यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास भानु माविका प्रअ खत्रीले लिए ।


प्रतिक्रिया

6 thoughts on “भाइरल गाउँ रत्नेचौरमा १० करोडको भ्यू टावर बन्ने, टीकटकमा हिट भएपछि पर्यटन विकासको पहल

  1. त्यहाँकाे साैन्दर्य हरिया र पहेंला फाँटहरूलाई जाेगाएर खालि र उब्जनी नभएकाे स्थानमा भाैतिक पूर्वाधारको निर्माण गर्नुहुन सराेकारवाला सबैलाई अनुराेध छ ।

  2. मेरो देश किन बिग्रेको यस्तै कृयाकलाबले हो ।दस करोड को भिउ टावर होइन ।दस करोडको कृषि मा बिकास गरोस न ।

  3. दश करोड को view tower सट्टा कृषि विकास मा खर्च गरौं न ।

  4. त्यस्ता राम्रा डाँडाहरू भएको ठाउँमा भ्युटावरको सट्टा सबभन्दा अग्लो डाँडामा जाने केवलकारको व्यवस्था गरेमा प्रकृतिले दिएको डाँडा नै भ्युटावर हुन्छ त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *