जोकोभिचको लज्जास्पद फिर्ती र नाडालको विजयी यात्रा : ग्रान्डस्लामले पाउला एकल कीर्तिमानी ? – Nepal Press

जोकोभिचको लज्जास्पद फिर्ती र नाडालको विजयी यात्रा : ग्रान्डस्लामले पाउला एकल कीर्तिमानी ?

मेलबर्न । पछिल्ला ३ संस्करणका विजेता नोभाक जोकोभिचलाई अष्ट्रेलियन सरकारले फिर्ता गरेपछि वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ‌ओपनमा सबैको नजर यतिबेला राफेल नाडालमाथि छ ।

नाडाल प्रतियोगिताको प्रिक्वाटरफाइनलसम्म पुगिसकेका छन् र अबका चार खेल जिते ग्रान्डस्लाम टेनिस इतिहासमा सर्वाधिक उपाधि जित्ने एक्लो खेलाडी बन्नेछन् । पुरुष एकलतर्फ स्पेनका नाडाल र सर्बियाका नोभाक जोकोभिचसँगै स्वीट्जरल्यान्डका रोजर फेडेररले समान २० पटक उपाधि जितेका छन् ।

३८ वर्षीय फेडेररले जारी अष्ट्रेलियन ‌ओपन खेल‍ेका छैनन् । उनले गत वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन पनि खेलेका थिएनन् । फेडेररले पछिल्ला ७ ग्रान्डस्लाममध्ये दुईवटा मात्र खेलेका छन् । उनले निकट भविस्यमै सन्याशको घोषणा गर्न सक्ने चर्चा पनि छ।

यता अस्ट्रेलियन ओपन खेल्न पुगेका जोकोभिचलाई कोभिड आइसोलेसनका नियमहरु उल्ल‌ंघन गरेको भन्दै प्रतियोगिताको पूर्वसन्ध्यामा भिषा रद्ध गर्दै स्वदेश फिर्ता गरेको हो ।

कोरोना संक्रमण भएका बेला पत्रकारलाई अन्तर्वार्ता दिएको, ट्राभल फर्ममा गलत विवरणहरु उल्लेख गरेको आरोप जोकोभिचविरुद्ध थियो ।

सरकारको निर्णयविरुद्ध जोकोभिच अदालत गएका थिए । अदालतले सरकारको निर्णय उल्टाएको पनि थियो । तर फेरी सरकारले भिषा रद्ध गर्दै जोकोभिचलाई घर फर्काएको हो ।

सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा एक्लै रहन जोकोभिचका लागि अष्ट्रेलियन ओपन गतिलो मौका थियो । उनले अष्ट्रेलियन ओपन हालसम्म ९ पटक जितेका छन् ।

यसैगरि दुई फ्रेन्च ओपन, ६ विम्बल्डन र तीन यूएस ओपन पनि जोकोभिचको नाममा छ । उनी गत वर्षका सबै चार ग्रान्डस्लाममा फाइनल पुग्दै तीमध्ये तीनवटाको उपाधि जित्न सफल भएका थिए। यूएस ओपनको फाइनलमा भने ड्यानिल मेदभेदेभसँग पराजित भएका थिए ।

जोकोभिचले सन् २०११ यता मात्र १९ पटक ग्रान्डस्लाम जितेका छन् । सन् २००५ देखि ग्रान्डस्लाम खेल्न थालेका जोकोभिचले पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा सन् २००८ मा अस्ट्रेलियन ओपन जितेका थिए ।

नाडाल सन् २०२० को फ्रेन्च ओपनपछि पहिलो ग्रान्डस्लाम उपाधि जित्ने प्रयासमा छन् । उनले पनि गत यूएस ओपन खेलेका थिएनन् । अष्ट्रेलियन ओपन नाडालका लागि एक मात्र यस्तो ग्रान्डस्लाम प्रतियोगिता हो जुन उनले एकपटकभन्दा बढी जित्न सकेका छैनन् ।

सन् २००९ मा फेडेररलाई फाइनलमा हराएर उनले पहिलो र अन्तिमपटक अष्ट्रेलियन ओपन जितेका थिए । यसबीचमा उनी यो प्रतियोगितामा चारपटक फाइनल पुगेपनि उपाधि भिडन्तमा दुईपटक जोकोभिचसँग पराजित भएका थिए । उल्लेखनीय के छ भने जोकोभिचले दोस्रोपटक ग्रान्डस्लाम जित्दा नाडालले ९ पटक विभिन्न ग्रान्डस्लाम उपाधि जितेका थिए ।

नाडाल अस्ट्रेलियन ओपनमा अन्तिमपटक २०१९ मा फाइनल पुगेका थिए । यसपटक सुरुका दुई चरण सोझो सेटमा जितेका नाडालले तेस्रो चरणमा भने चार सेट खेल्नु परेको थियो ।

२८ औँ वरियताका रुसी खेलाडी कारेन खाचानोभले नाडाललाई सोझो सेटमा खेल जित्न नदिएका हुन् । अब क्वाटरफाइनल पुग्नका लागि उनले फ्रान्सका एड्रियन मानारिनोसँग खेल्नेछन्, आइतबार । ३३ वर्षीय मान्नारिनो ग्रान्डस्लाम टेनिसमा पहिलोपटक चौथो चरण पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर