बर्जु महोत्सवको भाँडभैलोपछि रौतहट आउने तयारीमा खेसरीलाल, नगरपालिकासँग सम्झौता – Nepal Press

बर्जु महोत्सवको भाँडभैलोपछि रौतहट आउने तयारीमा खेसरीलाल, नगरपालिकासँग सम्झौता

जनकपुरधाम । सुनसरीको बर्जु महोत्सवमा भाग लिन रोकिएका भोजपुरी स्टार खेसरीलाल यादवले अर्को कार्यक्रमका लागि सम्झौता गरेका छन् । रौतहटमा फागुनमा आयोजना हुने मदानी महोत्सवमा आयोजकले उनलाई निम्त्याएको छ ।

कोरोनाका कारण जिल्ला प्रशासनले रोक लगाएपछि यादव बर्जु महोत्सवमा उपस्थित हुन सकेका थिएनन् । उनी नआएपछि दर्शकले उपद्रो मच्चाउँदै चारवटा गाडी जलाइदिएका थिए । यादवले यसको क्षतिपूर्ति आफूले पाउनुपर्ने माग गरिरहेका छन् ।

फागुन १७ गतेबाट आयोजना हुने भनिएको मदानी महोत्सवको पनि निश्चितता भने छैन । मौलापुरकी नगरप्रमुख रिनाकुमारी साहले खेसरीलालसँग सम्झौता भइसके पनि कोरोना साम्य भएन भने महोत्सव स्थगित हुन सक्ने बताइन् ।

‘अझै एक महिनाभन्दा बढी समय छ । त्यतिञ्जेल यदि कोरोना महामारी रोकियो भने महोत्सव हुन्छ र उहाँ आउनुहुन्छ । नत्र स्थगित गरिन्छ,’ उनले भनिन् ।

कार्यक्रम अनिश्चित भए पनि खेसरीलालले आफूले पाउने पारिश्रमिकको आधा रकम लिइसकेका छन् । साहले बाँकी पारिश्रमिक कार्यक्रमपछि दिने गरी सम्झौता गरिएको बताइन् । सम्झौताको रकम भने उनले खुलाइनन् ।

यसअघि बर्जु महोत्सवमा उनलाई आयोजकले १६ लाख रुपैयाँ अग्रिम दिएर बोलाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर