इन्डोनेसियाले नुसान्तारामा राजधानी सार्ने, जर्काता समुन्द्रमुनी डुब्नसक्ने चेतावनी – Nepal Press

इन्डोनेसियाले नुसान्तारामा राजधानी सार्ने, जर्काता समुन्द्रमुनी डुब्नसक्ने चेतावनी

जकार्ता । इन्डोनेसियाले राजधानीलाई अर्को सहरमा स्थानान्तरण गर्ने भएको छ । मंगलबार सरकारले राजधानी परिवर्तन गर्ने विधेयक पारित गरेपछि मुलुकको राजधानी नुसन्तारामा सर्ने निश्चित भएको हो ।

राष्ट्रपति जोको विडोडोले सन् २०१९ मा देशवासीको नाममा सम्बोधन गर्दै राजधानी जकार्तामा बाढीको प्रकोप ज्यादा हुने र जमिनको सतह गहिरिँदै गएकाले नुसन्तारालाई नयाँ राजधानीको रुपमा कायम गर्ने घोषणा गरेका थिए ।

राष्ट्रपति विडोडोले राजधानी परिवर्तन गर्नुको मुख्य कारण पर्यावरणीय समस्या र बढ्दो वित्तीय अस्थिरता रहेको बताएका छन् ।

बाढीको प्रकोप र भीडभाडले राजधानी परिवर्तन गर्ने निर्णय गरिएको राष्ट्रपतिले बताए । विज्ञहरुले अहिलेकै स्थिती कायम रहे केही दशकमै अहिलेको राजधानी जकार्ता पानीमुनी डुब्ने खतरा औंल्याउँदै आएका छन् । नयाँ राजधानीका लागि सिफारिस गरिएका ८० भन्दा धेरै शहरको सूचीबाट राष्ट्रपति विडोडोले नुसन्तारालाई नयाँ राजधानीका लागि छनोट गरेका थिए ।

राजधानीलाई जकार्ताबाट नुसन्तारा सार्ने पहिलो चरणको काम सन् २०२४ सम्म पूरा हुने बताइएको छ । नुसन्ताराको कूल क्षेत्रफल २ लाख ५६ हजार १ सय ४२ हेक्टर छ । पहिलो चरणको काम सकिएपछि मात्र नुसन्तारामा अन्तर्राष्ट्रिय संगठनसँग सम्बन्धित कार्यालय रहने बताइएको छ ।

सरकारले नयाँ राजधानी निर्माणका लागि विशेष कमिटी गठन गरेको छ । विधेयक पारित भइसकेको र राष्ट्रपति विडोडोले हस्ताक्षर गरेपछि आधिकारिक रुपमा राजधानी परिवर्तनको काम सुरु गरिने जनाइएको छ । राजधानी परिवर्तन गर्न कुल ३३ बिलियन डलर खर्च हुने सरकारले जनाएको छ ।

यसअघि ब्राजिल, नाइजेरिया, कजाकिस्तान, म्यान्मारलगायत देशको पनि राजधानी परिवर्तन गरिएको थियो । ब्राजिलको राजधानी रियो डी जेनेरियोबाट परिवर्तन गरी ब्रासिलिया बनाइएको थियो । त्यस्तै नाइजेरियाको राजधानी लागोसबाट अबुजा, कजाकिस्तानको राजधानी अलमाटीबाट नुर सुल्तान र म्यान्मारको राजधानी रङ्गुनबाट परिवर्तन गरी न्यपिदअ कायम गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *