सत्ता गठबन्धनलाई विष्णु पौडेलको आग्रह– विकासका काममा राजनीति नगरौं – Nepal Press

सत्ता गठबन्धनलाई विष्णु पौडेलको आग्रह– विकासका काममा राजनीति नगरौं

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् । रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।

बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् ।

तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफू चिन्तित भएको उनको भनाइ थियो ।

‘सबै दललाई, सामाजिक संघसंस्थालाई मेरो आग्रह छ, तिनाउ दानव करिडोरमा अर्बौंको बजेट व्यवस्थापन भएको छ, यो सडक मात्रै होइन, यो नदी नियन्त्रणको लागि पनि विशेष योजना हो, यो आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने छ यसले कसैलाई घाटा बनाउने छैन’, उनले भने ।

पौडेलले रुपन्देहीमा बन्दै गरेको विमानस्थल, सबैतिरका ६ लेन सडक, अन्तराष्ट्रिय प्रदर्शनी स्थल, पोखरा–नारायणगढ जाने तथा पश्चिम जाने सडकको स्तरोउन्नति, खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, नुवाकोट र वसन्तरपुरका दुई केबलकारका आयोजनाले केही वर्षमा यस क्षेत्रलाई नमूना बनाउने बताए ।

‘विकासप्रति हाम्रो दृष्टिकोण रुपनदेहीवासीले बुझेका छन्, केही योजनामा निर्माणमा विलम्ब भएको छ, तर कानूनी र प्रशासनिक जटिलता समाधान गरेर बजेटको प्रबन्ध भएकाले अब ढिलाइ गर्ने छुट कसैलाई छैन’, पौडेलले भने ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेश सांसद लिला गिरीले आर्थिक विकासको केन्द्र बनेको रुपन्देहीमा बुटवल उपमहानगरका नमूना योजनाले पहिचान थपेको बताए । उनले अब दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाउन पर्ने बताए ।

पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देही आर्थिक विकासको केन्द्रका रुपमा अगाडि बढाउनुपर्ने बताए । अहिलेको सरकारले यसअघिको सरकारले संचालन गरेका विशेष योजनाको बजेट काट्ने, योजनाबाटै हटाउनेजस्तो गलत राजनीतिक संस्कारको अभ्यास गरेको बताए । उनले विकासको राजनीतिमा बल्छी राखेर नागरिकलाई अन्याय नगर्न सत्तारुढ दललाई आग्रह गरे ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा नयाँ आधुनिक भवनको निर्माण गरेको बताए । उनले महानगरीय अवधारणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको बताए । उक्त भवनको शिलान्यास पनि नेता पौडेलले नै गरेका हुन् । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाको पुरानो भवनको दक्षिणभागमा रहेको पार्क हटाएर नयाँ अत्याधुनिक कार्यालय भवन निर्माण गरिएको हो । करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो ।

चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए तर कोभिडका कारण समयमा निर्माण कार्य नसकिएको जनाइएको छ ।

भवनमा अन्डरग्राउण्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मुल गेटलाई जितगढी किल्लाको झल्को दिने गरी निर्माण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर