एपीएफका आसिफ बने प्रधानमन्त्री कप क्रिकेटका बेस्ट प्लेयर


काठमाडौं । सशस्त्र प्रहरी बल–एपीएफ क्लबका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख प्रधानमन्त्री कप क्रिकेटको बेस्ट प्लेयर घोषित भएका छन् ।
बुधवार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई हराएर एपीएफले उपाधि जितेको थियो । फाइनलमा ९ रन मात्र बनाएपनि आसिफको प्रदर्शन प्रतियोगितामा स्तरीय रह्यो ।
राष्ट्रिय टोलीका सदस्यसमेत रहेका आसिफले प्रतियोगितामा ६ खेल खेल्दै २ अर्धसतकसहित २ सय २२ रन बनाएका थिए ।
उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी रहे । दोस्रो स्थानमा रहेका एपीएफकै प्रदीप ऐरीले दुई अर्धसतकसहित २ सय १३ रन जोडे ।
यसैगरि नेपाल पुलिस क्लबका कुशल भुर्तेल बेस्ट ब्याटर चुनिए । उनले चार खेलमा एक सय ८२ रन जोडेका थिए । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो स्थानमा थिए ।
चार खेलमा १० विकेट लिएका लुम्बिनी प्रदेशका स्पीनर अनिल खरेल बेस्ट बलर घोषित भए ।
उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रोमा थिए । पुलिसका दीपेन्द्रसिंह ऐरीले १४ र एपीएफका अविनाश बोहराले १२ विकेट लिएका थिए ।
६ खेलमा १० विकेट लिएका एपीएफका किशोर महतो प्लेयर अफ दी फाइनल चुनिए ।