उपाधि जित्न एपीएफले पुलिसलाई दियो एक सय ५८ रनको लक्ष्य


काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको उपाधि जित्न शसस्त्र प्रहरी बल (एपीएफ) क्लबले नेपाल पुलिसलाई एक सय ५८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको जिम्मा पाएको एपीएफले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ५७ रन जोड्यो ।
एपीएफका कप्तान शरद भेषावकरले १९, लोकेश बमले २७, सन्दीप जोराले २४ , भुवन कार्कीले १७ र अमर रौटेलाले २९ रन बनाए ।
सेमिफाइनलमा पहिलो विकेटका लागि एक सय ५० रनको साझेदारी गरेका आसिफ शेख ९ र प्रदिप ऐरी ७ रनमा आउट भए ।
पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले तीन तीन, गुल्सन झाले दुई तथा आरिफ शेख र योगेन्द्र कार्कीले एक एक विकेट लिए ।
१२ रन जोड्दा पहिलो विकेट गुमाएको एपीएफले दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरेको थियो । तर, दोस्रो विकेटका रुपमा ऐरी आउट भएसँगै एपीएफ दबाबमा परेको थियो ।
त्यसपछि लगातार विकेट गुमाएको एपीएफ ६२-५ को स्थितिमा पुगेको थियो । तल्लोक्रमका भुवन र रौटेलाले आठौँ विकेटका लागि ४२ रनको साझेदारी गरे ।
६ खेलमा १४ विकेट
अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जारी प्रतियोगितामा शानदार बलिङ प्रदर्शन गरेका छन् । उनले प्रतियोगितामा आफ्नो विकेट संख्या १४ पुर्याएका छन् । उनी सर्वाधिक विकेट लिने बलर हुन् । ११ विकेटसहित एपीएफका अविनाश बोहरा दोस्रोमा छन् ।
सेमिफाइनलमा दीपेन्द्रले १० रन दिएर ५ विकेट लिएका थिए । फाइनलमा उनले विस्फोटक ब्याट्सम्यान लोकेश बमसहित सन्दीप जोरा र पुरन विकेलाई आउट गरे । उनले चार ओभरमा २२ रन खर्चिए । प्रतियोगितामा दीपेन्द्रले १९ ओभर बलिङ गर्दै ४.७३ रनको इकोनोमी बनाएका छन् ।
तस्बिरहरू : सरोज बैजु ।