बुटवल उपमहानगरको नयाँ भवन निर्माण, आज विष्णु पौडेलले उद्घाटन गर्ने – Nepal Press

बुटवल उपमहानगरको नयाँ भवन निर्माण, आज विष्णु पौडेलले उद्घाटन गर्ने

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । नगरप्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका छन् ।

नवनिर्मित प्रशासकीय भवनको आज माघ ५ गते पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दैछन् । भवनको शिलान्यास पनि पौडेलले नै गरेका हुन् । नगरप्रमुख सुवेदीले कोभिड महामारीका कारण भवनको उदघाटन भर्चुअल विधिबाट गरिने जानकारी दिए ।

महानगरीय अवधारणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको दावी छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाको हाल रहेको पुरानो भवनको दक्षिणभागमा रहेको पार्क हटाएर नयाँ अत्याधुनिक कार्यालय भवन निर्माण गरिएको हो । करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो ।

चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए तर कोभिडका कारण समयमा निर्माण कार्य नसकिएको जनाइएको छ ।

भवनमा अन्डरग्राउण्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मुल गेटलाई जितगढि किल्लाको झल्को दिने गरी निर्माण भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर