उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारीमा, काठमाडौं प्रशासनका २० कर्मचारीलाई कोरोना – Nepal Press

उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारीमा, काठमाडौं प्रशासनका २० कर्मचारीलाई कोरोना

अत्यावश्यक सेवा मात्र सञ्चालन गर्नुपर्ने तीनै जिल्लाका प्रजिअको जोड

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् । उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्नेमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपाल प्रेससँग भने, ‘२ जना सहायक प्रमुख जिल्ला अधिकारी पनि भर्खरै मात्र संक्रमण मुक्त भएर कार्यालय फर्किनुभएको थियो । प्रजिअ गोविन्द रिजाल  साता अघिदेखि नै होम आइसोलेसनमा हुनुहुन्छ । थप दुई जना प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी गरेर २० जनामा संक्रमण देखिएको छ । यस्तै करिव १५ जनामा लक्षण देखिएको छ । ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण भइसकेको हामीले अनुमान गरेका छौं ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रमुख जिल्ला अधिकारीसहित ५० प्रतिशत कर्मचारीमा कोरोनाको संक्रमण भएको अनुमान गरेपछि कार्यालयबाट नियमित दिनुपर्ने कतिपय सेवा पनि बन्द गरेको छ । कार्यालयले मंगलबार साँझ एक सूचना जारी गर्दै नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि दिने, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीका लागि आवेदन लिने काम रोकेको जनाएको छ ।

काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल अत्यवाश्वक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा छिन् । उनले नेपाल प्रेससँग भनिन्, ‘यस्तै अवस्थामा त नियमित सेवा दिन मुस्किल छ । त्यसैले अत्यावश्वक बाहेकका सबै सेवा बन्द गर्नुपर्छ जस्तो लाग्छ । यस्तै अवस्था हुने हो भने त चाडै नै सबै कर्मचारी संक्रमित हुन बेर छैन । सेवाग्राहीको भिडले कर्मचारीमा सर्ने र कर्मचारीबाट सेवाग्राहीमा सर्ने जोखिम भयो ।’

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रशासकीय अधिकृतसहित ५ जनामा संक्रमण

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार सोमबार गरिएको परिक्षणका क्रममा एक जना प्रशासकीय अधिकृतसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले नेपाल प्रेससँग भनिन्, ‘एक जना प्रमुख प्रशासकीय अधिकृतसहित अन्य तल्लो तहका कर्मचारीमा गरेर ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप दुई जना अरु कर्मचारीमा कोरोनाका लक्षण देखिएका छन् । उनीहरुलाई घरमा बस्न र कोरोना परिक्षण गर्न लगाइएको छ ।’

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारीसहित ४० जना कर्मचारी कार्यरत छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नेपाल प्रेससँग भनिन्, ‘हामी सबै कर्मचारीले भौतिक दुरी कायम गरेर काम गर्दै आएका छौ । हिजो मात्र एकैपटक ५ जनामा संक्रमण देखिएको छ । अरु एक दुई जना पनि बिरामी छन् । बिस्तारै बढ्ने खतरा देखिएको छ ।’

सेवाग्राहीको संख्या पहिलेको तुलनामा अहिले बढिरहेकाले जिल्ला प्रशासन कार्यालय कोरोनाको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । उनले नेपाल प्रेससँग भनिन्, ‘अहिले राष्ट्रिय परिचय पत्रको आवेदन दिनका लागि, इ–पासपोर्ट र नागरिकता बनाउनेको संख्या बढिरहेको छ । नागरिकताको प्रतिलिपी लिनेको संख्या पनि बढिरहेको छ । त्यसैले हामी कर्मचारी जोखिममा छौं । पहिलो प्राथमिकता मान्छेलाई बचाउने हो । यहि हिसावले बढ्ने हो भने कर्मचारी र सेवाग्राही सबैमा संक्रमण हुन बेर लाग्दैन । त्यसैले वैकल्पिक माध्यम पनि सोच्नुपर्ने अवस्था आएको छ ।’

ललितपुर जिप्रकामा पनि तीन जना संक्रमित

ललितपुर जिल्ला प्रशासनमा मंगलबार तीन जना  कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तले नेपाल प्रेससँग भने, ‘हाम्रो कार्यालयमा प्रमुख जिल्ला अधिकारीसमेत गरेर ४० जना कर्मचारी कार्यरत छन् । जसमध्ये तीन जनालाई कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ भने अरु एक दुई जनामा कोरोनाको लक्षण देखिएपछि परीक्षणको क्रममा छन् ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार कार्यालयले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दा पनि एक जना कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ । उनका अनुसार अरु एक दुई जनामा पनि कोरोनाका लक्षण देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *