बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ – Nepal Press

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस अवस्थी पक्राउ परेकोमा अहिले उनकै आफन्त पर्ने २८ वर्षका नवराज अवस्थीसमेत पक्राउ परेका छन् । उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यता विप्लव नेतृत्वको नेकपाले भने आफ्ना कार्यकर्ताको हत्या पछि दैनिक आन्दोलन गरिरहेको छ । विप्लव नेतृत्वको नेकपाका सदस्यसमेत रहेका ३० वर्षीय डम्बर अवस्थीको शव गत बुधबार स्थानीय जंगलमा ओढारभित्र गाडेको अवस्थामा भेटिएको थियो ।

यस्तो छ घटना

२३ पुसमा सुर्नया-६ का स्थानीय शिक्षक हरिस अवस्थीले आफ्नो फेसबुकमा एक स्ट्याटस लेखे । गाउँमा हराएका व्यक्तिको नाम किटान गर्दै उनले फलानोलाई फलानोले मारेको होसम्म लेखे ।

स्थानीय दुई जनाले विप्लवका ६ कार्यकर्ता लगाएर आफूलाई समेत मार्न खोज्दैछन् भन्दै उद्धारका लागि प्रहरीसँग हारगुहार गर्दै अपहरणको नाटक गरेका थिए ।

हरिसलाई बर्दिया जिल्लाबाट पानीले भिजेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनले हराएका व्यक्तिलाई कसैले मारेको किटान गरेकाले प्रहरीले संकाको घेरामा राख्दै थुनामा राखेको थियो ।

थुनेको दुई दिनपछि हरिस आफैले डम्बरलाई मारेर गुफाभित्र पुरेको बताए । हरिसले भनेकै गुफामा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालसहितको टोलीले सडेको अवस्थामा शव फेला पारेको थियो ।

घटना मसिर १४ गतेको राति भएको प्रहरीले जनाएको छ । १५ गते बैनीको उपचारमा डडेल्धुरा जाने तयारी गरेका डम्बर अघिल्लो रातदेखि बेपत्ता थिए ।

उनलाई खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएपछि कलडिटेल माग गर्दा अन्तिम कल उनै हरिसको थियो । जसले हत्या गरेको स्वीकार गरिसकेकाछन् ।

घटनामा उनीमात्रै संलग्न थिए अथवा अरू पनि भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताए ।

डेढ महिनाअघि हत्या भएको डम्बरको शव अझै आफन्तले बुझेका छैनन् । हत्यामा अरू पनि संलग्न रहेको हुनसक्ने भन्दै सबैको पहिचान गरी कारबाहीको माग आफन्तको छ ।

उता विप्लव नेतृत्वको नेकपाले मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै दैनिक आन्दोलन चर्काइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर