प्रधानमन्त्री कपमा लोकेश बमको कीर्तिमान : १४ बलमै बनाए अर्धसतक – Nepal Press

प्रधानमन्त्री कपमा लोकेश बमको कीर्तिमान : १४ बलमै बनाए अर्धसतक

काठमाडौं । प्रधानमन्त्री कप अन्तरगत आज जारी दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी क्लवका ब्याट्सम्यान लोकेश बमले कीर्तिमानी व्याटिङ गरेका छन् । उनले १४ बलमै अर्धसतक बनाए, जुन नेपालको टि–२० राष्ट्रिय प्रतियोगितामा सबैभन्दा छिटो हो ।

प्रारम्भिक जोडी आसिफ सेख र प्रदिप ऐरीको लामो साझेदारी तथा लोकेशको विष्फोटक इनिङको मद्दतमा सशस्त्रले त्रिभुवन आर्मी क्लवलाई २३१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

सशस्त्रका दुवै ओपनरले अर्धसतक बनाए । आसिफले ४३ बलमा ८४ रनको आक्रामक इनिङ खेल्दा प्रदिपले धैर्यपूर्वक व्याटिङ गर्दै ५३ बलमा ५७ रन बनाएर नटआउट रहेका छन् । आसिफ र प्रदिपबीच पहिलो विकेटका लागि १५० रनको साझेदारी भएको थियो ।

सशस्त्रले आसिफ र कप्तान शरद भेषावकरलाई गुमाएपछि आएका लोकेशले सुरुबाटै छक्काको वर्षा गरेका थिए । केवल १८ बलमा ९ छक्का र २ चौकासहित ६६ रन बनाएर उनी नटआउट रहे । क्रिजमा आउनासाथ उनले लगातार तीन छक्का हानेका थिए ।

नेपालका लागि सबैभन्दा छिटाे अर्धसतककाे किर्तिमान पवन सर्राफको नाममा छ । उनले एकदिवसीय क्रिकेटमा १३ बलमा अर्धसतक हानेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *