दीपेन्द्र बलिङमा चम्किएपछि वागमतीलाई हराउँदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा – Nepal Press

दीपेन्द्र बलिङमा चम्किएपछि वागमतीलाई हराउँदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट वलिङ प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा वागमती प्रदेशलाई ५० ले हराउँदै फाइनल प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गरेको थियो ।

विजयी लक्ष्य पछ्याएको वागमती निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सफल भएको थियो ।

वागमतीका लागि आदिल खानले सर्वाधिक २७ रन को योगदान गरे भने,कप्तान ज्ञानेन्द्र मल्ल २३ रन जोडेर पभेलियन फर्किएका थिए । मध्यक्रमका ब्याटरहरूले राम्रो प्रदर्शन गर्न नसक्दा अन्तिममा ब्याटिङ गर्न आएका रिजन ढकालले १५ र रमनरेश गिरीले २२ रनको योगदान गरे ।

पुलिसको बलिङमा दीपेन्द्रसिंह ऐरीले चार ओभरमा १० रन खर्चिँदै सर्वाधिक ५ विकेट लिए र उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै, सागर ढकाल दुई तथा आरिफ शेखले १ विकेट लिए ।

यसअघि, सुरूआति लगातार दुई विकेट गुमाएको पुलिसको तेस्रो विकेटका लागि पवन सर्राफ र अनिल शाहले ७८ रनको साझेदारी गरेका थिए । ओपनिङमा आएका पवनले ५४ बलमा ३ चौका र तीन छक्कासहिट सर्वाधिक ५९ रन जोड्दै उत्कृष्ट इनिङ खेले । यस्तै, चौथो नम्बरमा क्रिजमा उत्रिएका अनिल शाह २४ बलमा २५ रनको योगदान गरेर पभेलियन फर्किए ।

आरिफ सेख ९ बलमा १२ रन जोड्दा दीलिप नाथले १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनको योगदान गर्दै उत्कृष्ट फिनिस गरे । भने, रासिद खान ५ रनमा अविजित रहे ।

वागमतीको बलिङमा नन्दन यादव र रिजन ढकालले समान २ विकेट लिए भने प्रतिस जिसीले १ विकेट लिए ।

आजै हुने दोस्रो सेमिफाइनल खेलमा समूह‘बी’को विजेता टोली एपीएफ र समूह‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस र दोस्रो खेलको विजेता टोलीले उपाधिका लागि बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

पुस १६ गतेदेखि सुरु भएको प्रतियोगितामा समुह‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो ।

पुलिस र एपीएफ लिग चरणको खेलहरूमा अपराजित रहेर सेमिफाइनल पुगेका हुन् । यस्तै, वागमती तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सेमिफाइनल पुगेको हो । दुई खेलमा जित एक खेल हारेको आर्मीले प्रदेश एकसँग मैदान चिसो भएर खेल स्थिगित भएपछि अंक बाँडेको थियो ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र वलरले समान २० हजार पाउँनेछन् । र, सेमिफाइनलबाट बाहिरिने टोलीले ५०-५० हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *