उत्तर प्रदेशमा बीजेपीलाई चुनौति : तीन मन्त्रीसहित १४ विधायकले छाडे पार्टी – Nepal Press

उत्तर प्रदेशमा बीजेपीलाई चुनौति : तीन मन्त्रीसहित १४ विधायकले छाडे पार्टी

दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा तीन मन्त्रीसहित १४ जना विधायकले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) त्यागेका छन् । दल छाडिसकेका अधिकांश भाजपाको प्रतिस्पर्धी क्षेत्रीय दल समाजवादी पार्टीमा पसेका छन् ।

भाजपा छाड्नेमध्येका एक हुन् पाँच पटक विधायक भइसकेका स्वामी प्रसाद मौर्य पनि छन्। उनले आफूले भाजपा छाड्दा उक्त पार्टीमा हलचल ल्याउने उनको विश्वास छ । निर्वाचनको केही साता मात्र बाँकी रहँदा भाजपामाथि चुनौती थपिएको छ । भाजपा छाड्ने मन्त्री र विधायकले पिछडिएको जातजातिको उत्थानका लागि पार्टी अनुदार रहेको आरोप लगाउँदै परित्याग गर्ने गरेका छन् ।

राजीनामा गरेका मन्त्री र विधायक उत्तर प्रदेशमा चुनावमा भोट बैंक मानिने पिछडिएको वर्गको प्रतिनिधित्व गर्छन् । र, आ-आफ्नो क्षेत्रमा प्रभावशाली मानिन्छन् ।

एकपछि अर्को मन्त्री र विधायकले राजीनामा दिएपछि बीजेपी अप्ठ्यारोमा परेको छ । पार्टी छाडेका मन्त्रीहरू स्वामीप्रसाद मौर्य, डा. धर्मसिंह सैनीले अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (सपा) प्रवेश गरिसकेका छन् । पार्टी छाडेका अर्कामन्त्री दारासिंह चौहान पनि समाजवादी पार्टीमै प्रवेश गर्ने तयारीमा छन् ।

भाजपाले पिछिडिएको वर्गका लागि काम नगरेको आरोप उनीहरुको छ । विचार र मुद्दाभन्दा पनि ती नेताले सिट सुरक्षित गर्न पार्टी छाडेको कतिपयको मूल्यांकन छ ।

ठूलो जनसंख्या, धेरै विधायक र लोकसभा सदस्य चयन गर्ने भएकाले उत्तर प्रदेशको चुनाव अन्य राज्यको तुलनामा बढी महत्त्वपूर्ण मानिन्छ । उत्तर प्रदेशबाट ८० जना लोकसभा सदस्य चुनिने भएकाले त्यहाँ पकड हुनेलाई केन्द्रमा सरकार बनाउन सहज हुन्छ ।

त्यसकारण सत्तारूढ दल भाजपाले आफ्नो पूरा शक्ति त्यहाँको चुनावमा लगाएको छ । ४ सय ३ सदस्यीय उत्तर प्रदेशको विधानसभाका लागि फेब्रुअरी १० देखि ७ चरणमा चुनाव हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर