यी हुन् विश्व आर्थिक मञ्चले औंल्याएका नेपालमाथिका पाँच खतरा – Nepal Press
वर्ल्ड रिस्क रिपोर्ट २०२२

यी हुन् विश्व आर्थिक मञ्चले औंल्याएका नेपालमाथिका पाँच खतरा

काठमाडौं । विश्व आर्थिक मञ्चले सन् २०२२ मा नेपालका लागि पाँच खतरा औंल्याएको छ । मञ्चले यसैसाता सार्वजनिक गरेको वर्ल्ड रिस्क रिपोर्टमा विभिन्न पाँच कारणले नेपाल जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ ।

उक्त प्रतिवेदनमा सन् २०२२ मा नेपालले भोग्नुपर्ने पाँच खतरा उल्लेख गरिएको जसमा बढ्दो बेरोजगारीले जनजीवनमा पार्ने असर, मानवको कारण हुने वातावरणीय खतरा, भूराजनीति र रणनीतिक स्रोतहरु, संक्रामक रोगहरु, प्रविधिगत असमानता तथा चुलिँदो आर्थिक अस्थिरता छन् ।

सर्वेक्षणको आधारमा ती खतरा औंल्याइएको विश्व आर्थिक मंचले जनाएको छ ।

वर्षेनी स्विटजरल्यान्डको डाभोसमा हुने मंचको विश्व सम्मेलनको छेकोमा प्रतिवेदन सार्वजनिक हुन्छ । तर, कोरोना महामारीले यसपटकको भौतिक सम्मेलन पोस्टपोन्ड भएको छ ।

‘आय असमानताले आर्थिक हिंसा मच्चिनसक्छ’

कोरोनाभाइरस महामारीको समयमा संसारका १० अर्बपतिको सम्पत्तिमा दोब्बर वृद्धि भएको पाइएको छ । अक्सफाम इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

भाइरस संक्रमणले दैनिक २१ हजार ३०० मानिसहरुको मृत्यु भैरहँदा पनि सम्पत्तिको आयमा असमानता देखिएको प्रतिवेदनले जनाएको छ ।

‘हामी अभूतपूर्व चासोका बीच सन् २०२२ मा प्रवेश गरेका छौं’ अक्सफामको प्रतिवेदनमा उल्लेख छ । साथै, अक्सफाममा आयमा असमानता वृद्धि हुँदै धनी र गरिब मुलुकबीच आर्थिक हिंसा सिर्जना हुनसक्ने चेतावनी पनि दिइएको छ ।

गहिरोरुपमा विभाजित अहिलेको विश्वका संरचना, प्रणाली र राजनीतिक रुचिहरु धनी र शक्तिशाली मुलुकको सुरक्षा हुने गरी निर्माण भएको समेत अक्सफामले प्रतिवेदनमा उल्लेख गरेको छ । यो प्रवृत्तिले विश्वका बहुसंख्यक गरिब मानिसलाई हानी पुग्ने समेत चेतावनी छ ।

कोभिड-१९ को खोप वितरणमा देखिएको असमानता प्रमुख उदाहरण भएको जनाइएको छ ।

‘खोपमा पहुँच भएको भए लाखौं मानिसले ज्यान गुमाउन पर्दैनथ्यो तर उनीहरु मरे । ठूला औषधि उत्पादक कम्पनीहरुले खोप र प्रविधिमाथि एकाधिकार काम राखे’ अक्सफामले भनेको छ ।

अफ्रिका र ल्याटिन अमेरिकाका एक अर्ब महिला र बालिकाभन्दा पनि २५२ जना पुरुषमा सम्पत्ति केन्द्रित रहेको प्रतिवेदनमा उल्लेख छ । संसारका ३.१ बिलियन मानिसभन्दा पनि १० जना धनी व्यक्तिमा संसारको सम्पत्ति थुप्रिएको जनाइएको छ ।

महामारीको समयमा ९९ प्रतिशत जनसंख्या प्रभावित भैरहँदा धनीहरु झनै धनी बनेको प्रतिवेदनमा उल्लेख छ । अक्सफामको प्रतिवेदन प्रायः विश्व आर्थिक मञ्चको डाभोस सम्मेलन हुने छेकोमा सार्वजनिक हुन्छ तर, यसपटक कोभिडको कारण डाभोस सम्मेलन स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *