फिल्म हल बन्दको निर्णयले ‘चपली हाइट ३’ लाई आर्थिक क्षति : खुले लगत्तै पुनःरिलिजको तयारी – Nepal Press

फिल्म हल बन्दको निर्णयले ‘चपली हाइट ३’ लाई आर्थिक क्षति : खुले लगत्तै पुनःरिलिजको तयारी

काठमाडौं । सरकारले कोभिड-१९ को तेस्रो लहर संक्रमण रोकथामका लागि फिल्म हलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेपछि पुनः अन्यौलता थपिएको छ ।

सरकारी निर्णयको सबैभन्दा ठूलो मार ‘चपली हाइट ३’ लाई परेको छ । फिल्म रिलिज भएको दुई दिनमै मन्त्रिपरिषद् बैठकले माघ १५ गतेसम्म हल बन्द गर्ने निर्णय गरेपछि समस्या भएको हो ।

फिल्म रिलिज भएकै दिनको बेलुका बसेको मन्त्रिपरिषद् बैठकले माघ मध्यसम्म हल बन्द गर्ने निर्णय गरेको थियो । सोही दिन बेलुका मन्त्रिपरिषद्को निर्णय बाहिरिएपछि फिल्म निर्माता र हल संचालक बिलखबन्दमा परेका थिए ।

शनिबार सार्वजनिक बिदाको दिन परेकाले मन्त्रिपरिषद् निर्णय आउन ढिलाइ भएकाले यद्यपी सोही दिनमा फिल्म रिलिज भए । तर, आइतबार सरकारका प्रवक्ताले मन्त्रिपरिषद्का निर्णय सुनाए लगत्तै फिल्म हलहरुले सोमबारका कुनै सोज तालिका प्रकाशित गरेनन् ।

‘चपली हाइट ३’ रिलिजको दुई दिनमै बन्द भएपछि फिल्मलाई ठूलो आर्थिक क्षति पुगेको छ । कोरोना त्रासले उसै त हलसम्म दर्शक नपुगिरहेको बेला सरकारी निर्णयले फिल्मलाई ठूलै क्षति पुगेको ठानिएको छ । निर्माता अर्जुन कुमारले फिल्मलाई ठूलै आर्थिक क्षति पुगेको बताए ।

सरकारले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय त गरेको छ तर, त्यसपछि पनि संक्रमणको आधारमा बन्द कायमै रहने वा नरहने टुंगो छैन । सरकारले संक्रमणको आधारमा फिल्म क्षेत्रमा कायम बन्दलाई निरन्तरता दिने वा नदिने निर्णय लिने जनाएको छ ।

यद्यपी, हल खुलेलगत्तै चपली हाइट ३ लाई पुनः रिलिज गर्ने निर्माता अर्जुन कुमारले बताएका छन् । तर, फिल्म रिलिज भैसकेको र समीक्षा पनि बाहिर आइसकेको बेला पुनः चपली हाइटले दर्शकलाई हलसम्म तान्न सक्ला त भन्ने कुरामा भने चुनौति कायमै रहनेछ ।

‘चपली हाइट ३’ मात्र नभएर प्रदर्शन मिति घोषणा गरिसकेका अन्य फिल्मलाई लिएर पनि अन्यौलता सुरु भएको छ । भविष्यका सबै कुराहरुको एउटै उत्तर छ : कोरोनाभाइरस संक्रमणको ग्राफ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर