स्वस्थानी व्रतकथा : मातृशक्तिको महिमा र नेपालीपन बोकेको पर्व – Nepal Press

स्वस्थानी व्रतकथा : मातृशक्तिको महिमा र नेपालीपन बोकेको पर्व

आजदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ । केही मानिसहरू स्वस्थानीको नाम सुन्नेबित्तिकै ओँठ लेब्रयाउँछन् । केही मानिसहरू कथा सुन्छन्, व्रत बस्दछन्, तर त्यसबाट उपलब्धि के भयो ? के बुझियो ? के सिकियो ? यतातिर ध्यान दिँदैनन् । कथा भनेको कथा नै हो । न कथा सुनेर मात्र मुक्ति वा मोक्ष प्राप्त हुने हो, न जीवनमा जस्ताको तस्तै लागू हुने हो । असल र खराब के हो भन्ने बुझेर असल ग्रहण गर्ने र खराब त्याग्ने हो भने कथाले हामीलाई दिन सक्ने विषय धेरै हुन्छन् । जानेर गरिए के अन्धविश्वास र नजानेर गरे के विज्ञान ? बजारमा गएर चाहिएको वस्तु रोज्न सक्ने वनमा गएर फल फूल रोज्न सक्नेलाई पो बजार र वन दुवै अर्थपूर्ण हुन्छ र !

क्रमेलको केलिवने प्रविश्य निरीक्ष्यते कण्टकजालमेव अर्थात् ऊँट खेल वाटिकामा पसे पनि काँडा नै खोज्दछ । हाम्रो समाजमा अहिले हुर्केको प्रवृत्ति यस्तै छ । शास्त्रमा, परम्परामा मन पर्ने र मन नपर्ने विषय हुन्छन् । तर, मानिसहरू यी भित्रका असान्दर्भिक, असामयिक, हानिकारक विषय टपक्क टिपेर ज्ञानी र अभियन्ता बनेको देखिन्छ । यसो गर्नु धर्मको मर्म नबुझ्नु, अध्यात्मको अन्तर्यमा चियाउन नसक्नु र संस्कृतिको सरसता ठम्याउन नसक्नु नै हो । अज्ञात कालका विषयलाई आजको अवस्थामा अनुचित ढंगले मिसाएर कम्बलमा पोखिएको सातु झुसैसित उठाएर सातुको विरोध गर्नुजस्तै हो ।

स्वस्थानीको व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्दछ । यस कथाको प्रारम्भ विष्णु र उनको नाभिकमलबाट उत्पन्न ब्रह्मा, मधुकैटभ राक्षसको युद्धबाट प्रारम्भ हुन्छ । यो प्रसंग पृथ्वीको सृष्टिको रूपमा वर्णनबाट भएको छ । यसमा दक्ष प्रजापति, महादेव र सतीदेवीको कथा छ ।

हाम्रो समाजमा कथा सुन्ने सुनाउने प्रचलन सर्वविदित नै छ । कथाको माध्यमबाट मूलतः ज्ञानको आदान-प्रदान हुने देखिन्छ । तर, सुन्नेहरू व्यक्तिगत र पारिवारिकरूपमा पूण्य प्राप्तका लागि भनेर नै कथा सुन्ने गर्दछन् । हिजोआज त सामाजिक कार्यका लागि चन्दा उठाउने प्रयोजनले पनि सार्वजनिक स्थलहरूमा भव्य ‘कथामेला’ नै लाग्ने गर्दछ ।

‘हिन्दू’ नाम गरिएको पूर्वीय परम्परामा विभिन्न उपलक्ष्यमा व्रत बस्ने र कथा सुन्ने सुनाउने प्रचलन रहेको पाइन्छ । यी व्रत र कथाको अवधि कम्तीमा एक दिनदेखि बढीमा चार महिनासम्म चल्ने गरेको देखिन्छ । एक दिनका व्रत र कथामा एकादशीको व्रत र सबै एकादशीका कथाहरूलाई लिन सकिन्छ ।

तर, प्राचीन कालका कथा प्रसङ्गमा भने मानिसहरू ठूलो सङ्ख्यामा जुटेर सादगी र शान्त वातावरणमा ज्ञानयज्ञका रूपमा कथा श्रवण गरेको पाइन्छ । कथाका जानकार विद्वान्हरूका अनुसार यी कथा श्रवणका तीन वटा मुख्य कारण छन्, ती हुन्- ज्ञान, भक्ति र योग ।
ज्ञान भनेको जीवन र जगतका बारेमा प्राप्त गरेका जानकारीहरूलाई आत्मसात गर्नु हो । यसमा खाद्य-अखाद्यका बारेमा जान्नु हो । जीवनलाई सुखी, समृद्ध र सन्तुष्ट पार्ने विधि र विषयहरू थाहा पाउने हो । दुःख-कष्टबाट जोगिने युक्ति र सहन गर्न सक्ने धैर्य गर्ने सीप हासिल गर्ने हो । यी विषयहरू नै कथाका मूल विषयहरू हुन् ।

भक्ति भनेको निष्ठा र समर्पण हो । भक्ति भनेको लेनदेन होइन । भक्ति भनेको उच्चतम विश्वास हो । यस भक्तिभित्र ईश्वर वा देवभक्ति, राष्ट्रभक्ति, समाजभक्ति, मातृभक्ति, पितृभक्ति, भातृभक्ति, मित्रभक्ति आदि हुनसक्दछ । योग भनेको जोड हो । मन वा विचारलाई कर्मसङ्ग जोड्नु हो । एकाग्र हुनु हो । तल्लिन हुनु हो । श्रीमद्भगवत् गीतामा भनिएको छ- ‘योगः कर्मसु कौशलम्’ यसको अर्थ हो कार्यमा कुशलता नै योग हो । अहिले विभिन्न कारणले मानिस मानिस बीचमा दूरी बढाउने विभेदमा परेकाहरूलाई मूल प्रवाहमा जोड्नु योग हो । यस योगलाई सामाजिक योग भन्न सकिन्छ ।

शब्दको हिसाबले ‘स्वस्थानी’को अर्थ यस प्रकार लाग्दछः ‘स्व’ भनेको आफू वा आफ्नो भन्ने हुन्छ भने ‘स्थानी’ भनेको स्थानको भन्ने हुन्छ । तर, स्वस्थानीको विस्तारलाई बुझ्न स्वस्थानी शब्दलाई पनि फरक ढंगले नै बुझ्नुपर्ने हुन्छ । यसरी हेर्दा ‘स्व’ शब्दले- आफू, आफ्नो, आफन्त-बान्धव, धन, चराचर (सृष्टिका सबै) लाई जनाउँछ । ‘स्थानी’ भनेको स्थान/ठाउँ हो ।

अहिले भने यहाँ हिन्दू धर्म, दर्शन वा संस्कृतिमा रहेको स्वस्थानी व्रतकथाका विषयमा छोटो चर्चा गरौं । स्वस्थानीको व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्दछ । यस कथाको प्रारम्भ विष्णु र उनको नाभिकमलबाट उत्पन्न ब्रह्मा, मधुकैटभ राक्षसको युद्धबाट प्रारम्भ हुन्छ । यो प्रसंग पृथ्वीको सृष्टिको रूपमा वर्णनबाट भएको छ । यसमा दक्ष प्रजापति, महादेव र सतीदेवीको कथा छ । यही कथाको माध्यमबाट विष्णुलाई सर्वव्यापक ईश्वर, ब्रह्मालाई सृष्टिकर्ता र महादेवलाई संहारकारीको रूपमा सिद्ध गरिएको छ । यो कथा मार्कण्डेय पुराण, केदारखण्डको माघ महात्म्यका रूपमा रहेको एउटै अध्यायमा समेटिएको कथा हो, जसलाई यहाँ ३१ अध्यायमा विस्तार गरिएको छ । यस कथामा अनेकौं उपकथा छन् ।

शब्दको हिसाबले ‘स्वस्थानी’को अर्थ यस प्रकार लाग्दछः ‘स्व’ भनेको आफू वा आफ्नो भन्ने हुन्छ भने ‘स्थानी’ भनेको स्थानको भन्ने हुन्छ । तर, स्वस्थानीको विस्तारलाई बुझ्न स्वस्थानी शब्दलाई पनि फरक ढंगले नै बुझ्नुपर्ने हुन्छ । यसरी हेर्दा ‘स्व’ शब्दले- आफू, आफ्नो, आफन्त-बान्धव, धन, चराचर (सृष्टिका सबै) लाई जनाउँछ । ‘स्थानी’ भनेको स्थान/ठाउँ हो ।

नेपाली समाजमा स्वस्थानी एउटा पारम्परिक पर्व हो । पर्व भनेको संसारमा गरिने विशेष कार्य हो । ‘व्रत’ भनेको अठोट र संकल्पसहित निष्ठापूर्वक गरिने कर्म हो । ‘कथा’ भनेको केही ऐतिहासिक विषय, पात्र र घटनालाई आधार बनाएर कल्पित वर्णन हो । यसरी विश्लेषण गर्दा स्वस्थानीको कथा आफ्ना बन्धुबान्धव, सम्पत्ति, जगतका सम्पूर्ण चराचरसँग सम्बन्धित कथा हो । प्रायः सबै धर्मग्रन्थका कथाहरू रूपकका रूपमा रहेको कुरा विद्वान्‌हरू बताउँछन् ।

‘शिव’ भनेको कल्याण हो । कल्याण गर्ने ‘देव’ हुन् भने विपरीत कर्म गर्नेलाई ध्वंसको स्थितिमा पुर्‍याउन त्योभन्दा ठूलो शक्ति देवलाई पनि नटेर्ने ‘महादेव’ प्रकट हुन्छन् भन्ने राम्रो दृष्टान्त स्वस्थानीको कथामा रहेको छ ।

कथामा प्रयुक्त केही शब्द तथा व्यक्तित्वका नामको अर्थ केलाउँदा स्वस्थानीले दिन खोजेको संकेतको गूढ अर्थ फेला पर्दछ । यहाँ ब्रह्मा, विष्णु, लक्ष्मी, महादेव, शिव, दक्षप्रजापति, विरणी, सती, मधु-कैटभ आदि उल्लेखनीय छन् । गोमा र शिवशर्मा उल्लेखनीय पात्र हुन् ।
विष्णु भनेका श्रीसम्पन्न व्यक्तित्व हुन् । त्यसैले विष्णुलाई भगवान/ऐश्वर्ययुक्त भनिएको हो । विष्णुको अर्थ व्यापक हो भने विष्णुको पर्यायवाची शब्द हो सनातन । सनातन भनेको सीमारहित, अनादि, अविनाशी (बीजतत्व), धर्म आदि हो ।

सर्वव्यापकतामा नै ऐश्वर्य सम्भव हुन्छ । ऐश्वर्यको कुनै खास स्थान हुँदैन । ऐश्वर्य प्राप्त गर्न कुनै स्थान, कुनै समय, कुनै खास वस्तु निर्धारित हुँदैन । ऐश्वर्यको स्थान, काल, विषय असीम हुन्छ । यसै भएकोले विष्णु (व्यापक) र लक्ष्मी (ऐश्वर्य/श्री) सँगै हुन्छन् । सृष्टिको आधारलाई कर्ताको रूपमा ब्रह्मा देखाइएको छ । ब्रह्मालाई चार मुख/टाउका भएको देखाइएको छ । चार टाउकाको तात्पर्य हो : चार जातको सृष्टि । ‘जात’ या ‘ज’ भएको वा जन्मेको भनेको हो । जस्तैः आत्मज, वंशज आदि । सृष्टि सजातीय छ र ती चार जातका छन् । ती हुन्- उद्भिज (भुइँमा उम्रने), स्वेदज (पसिनाबाट), जरायुज (गर्भाशयमा बढेर, सालनालसमेत जन्मने), अण्डज (अण्डा, फुलबाट) यीनै चार जातको सृष्टिका आदि व्यक्तित्वका रूपमा ब्रह्मा देखाइएको छ र उनका चार टाउका देखाइएको बुझ्न सकिन्छ । ब्रह्माका अन्य व्यक्तित्वका विषयमा अन्यत्र चर्चा गरिनेछ । सृष्टि स्वजातीय मात्र हुन्छ भनिनुको कारण पनि यही नै हो । यी चार जातबाट तत् तत् मात्र जन्मन्छन् । प्रकृतिको नियम यही नै हो ।

हामीले सुन्ने कथाभित्रै देखिने अर्को पक्ष हो महिना दिन लामो व्रत महिलाहरूले मात्र लिइनु, तर १०८ गणनाको रोटीको प्रसाद भने सकेसम्म श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मितका छोरालाई, मितका छोरा पनि नभए नदीमा बगाइदिने प्रावधानले समाजमा रहेको पुरुषप्रधानतालाई निकै महत्व दिएको पाइन्छ ।

मधुकैटभ, मधु भनेको मीठो, कैटभ भनेको कपट, कीट प्रवृत्ति हो । मीठो भए पनि कपट सिर्जनाको बाधक हुन्छ भन्ने बुझाउन मधु-कैटभको अन्त्य गर्नुपरेको कथा स्वस्थानीमा पढ्न र सुन्न सकिन्छ । कथाअनुसार यी दुईको चिहानमा नै संसार सृष्टि भएको बताइएको छ ।

सतीदेवीको बाबु हो दक्षप्रजापति । ‘दक्ष’भनेको बाठो हो । ‘प्रजापति’ भनेको जनताको अगुवा वा नाइके हो । प्रकृतिको नियमविपरीत र आवश्यकताभन्दा बाठो हुँदा के हुन्छ भन्ने परिणाम दक्षलाई बाख्राटाउके देखाइनुले स्पष्ट पारेको छ ।

सतीदेवीकी आमा दक्षप्रजापतिकी श्रीमती हुन्- विरणी । विरणी भनेको रण वा युद्ध, झगडा आदि गर्न नचाहने भनेको हो । कथामा उनी यस्तै थिइन् भनिएको छ ।

सती भनेको सत्यमा अडिने, निष्ठा हो । निष्ठाको जन्म शान्तिबाट हुन्छ । युद्ध, कलह, झगडाबाट निष्ठा जन्मँदैन । निष्ठाको कोखबाट शान्तिमात्र हुन्छ भन्ने दृष्टान्त हो : विरणीबाट सतीको जन्म । कथाअनुसार दक्षताको घमण्डले निष्ठालाई बाधा पर्न गयो । दक्षताको घमण्डले निष्ठाको समाप्ति हुन्छ । निष्ठाको समाप्तिको परिणाम ध्वंशको वा अकल्याणको बाटो हो भन्ने विषय स्वस्थानीको कथाबाट बुझ्न सकिन्छ ।

‘शिव’ भनेको कल्याण हो । कल्याण गर्ने ‘देव’ हुन् भने विपरीत कर्म गर्नेलाई ध्वंसको स्थितिमा पुर्‍याउन त्योभन्दा ठूलो शक्ति देवलाई पनि नटेर्ने ‘महादेव’ प्रकट हुन्छन् भन्ने राम्रो दृष्टान्त स्वस्थानीको कथामा रहेको छ ।

सात वर्षकी गोमा र सत्तरी वर्षका शिवशर्मा बीचको अनमेल विवाहको विषय नेपाली समाजमा आलोच्य रहेको छ । हुन त कथामा यस्तो हुनुपर्छ भनिएको नभई यस्तो भएको मात्र देखाइएको छ । त्यतिबेलाको समाजमा पनि विवाहको उमेर यौवनावस्था नै हो भनिएका धेरै उदाहरण पाइन्छन् । विद्वान्‌हरूले सात वर्षकी गोमा र सत्तरी वर्षका शिवशर्मा बीचको अनमेल विवाहको विषयलाई दृष्टान्तका रूपमा लिनुपर्ने बताउँछन् । तर, पनि त्यसलाई आजको समाजले अघि सारेका वृद्ध विवाह, अनमेल विवाह, बाल विवाह रोक्ने सन्दर्भमा प्राप्त गरेका सफलताहरूको आधारको रूपमा लिन सकिन्छ ।

नेपाली समाजमा स्वस्थानी व्रतकथा परम्परागत संस्कृतिका रूपमा चल्दैआएको आस्थाको एउटा रूप हो । यो कहिलेदेखि सुरु भयो ? यसका बारेमा इतिहासविद्हरूले बताउलान्, तर नेपाली समाजमा आलोच्य हुँदाहुँदै पनि धेरैको आस्थाको केन्द्र बन्न गएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रतकथा भन्ने र श्रवण गर्ने परम्परा नेपाली समाजमा प्रचलित रहेको पाइन्छ । नेपाली भाषामा लेखिएको यस कथामा भौगोलिक क्षेत्र, विभिन्न स्थानहरू र तीर्थस्थलहरूको वर्णन गरिएको पाइनाले यसले नेपाली समाजकै कथा, व्यथा र आस्थालाई व्यक्त गरेको छ भन्दा अत्युक्ति हुँदैन ।

स्वस्थानी व्रतकथामा औँल्याइएका नेपालका स्थानहरूको पहिचान र संरक्षण गर्न आवश्यक छ । त्यस्ता स्थानहरूको भौतिक तथा पौराणिक र सांस्कृतिक उत्खनन् गर्नुपर्ने देखिन्छ । यसबाट हाम्रो देशको प्राचीनताको थप पुष्ट्याइँ गर्न सकिने छ । यति नै बेलाका लागि उपयोगी वा अनुपयोगी जेसुकै होला, यहाँ मानव समाज थियो, सामाजिक प्रवन्ध थियो, आज हामीले आफ्नो मानेको र गर्व गरिरहेको भूमि र समाजको संरचना थियो भन्ने पुष्ट्याइँ गर्ने थप साक्ष्य प्राप्त हुनेछ ।

कथा र कथाका पात्रहरूको बाहिरी पक्ष मात्र हेर्दा यस कथामा गोमा नाम गरेकी सात वर्षकी कन्यासँग शिव शर्मा नाम गरेका ७० वर्षका वृद्धको विवाह भएको प्रसंगबाट बालविवाह र अनमेल विवाहको वर्णन पाइन्छ । तर, यो कथाको यत्ति एउटा प्रसंग र अन्य पुराणहरूमा यस्तो विवाहको सन्दर्भ र मान्यता कहीँ देखिँदैन । बरु, राजकीय-प्रवन्धकीय प्रावधानहरूमा यस्ता प्रावधान छन् । शासकीय विषय र धर्म, अध्यात्म, संस्कृति बीचको अन्तर छुट्याउन नसक्दाका समस्यालाई अन्धविश्वासको संज्ञा दिनुको के नै विकल्प छ र ?

हामीले सुन्ने कथाभित्रै देखिने अर्को पक्ष हो महिना दिन लामो व्रत महिलाहरूले मात्र लिइनु, तर १०८ गणनाको रोटीको प्रसाद भने सकेसम्म श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मितका छोरालाई, मितका छोरा पनि नभए नदीमा बगाइदिने प्रावधानले समाजमा रहेको पुरुषप्रधानतालाई निकै महत्व दिएको पाइन्छ । तर स्वस्थानीको नाममा पूजा गरिने देवी नारी नै छन् । ‘स्वस्थानी’ देवीलाई अष्टदल कमलको फूलको आकारमा बीचमा राखेर पूजा गरिन्छ भने उनका चारैतिर वैष्णवी, ब्राह्मी, महेश्वरी, कौमारी, वाराही, इन्द्राणी, चामुण्डा, महाकाली नाम गरेका आठवटी देवीहरूकै पूजा गरिन्छ । स्वस्थानीको मूलपक्षका रूपमा नारीशक्तिको पूजनीयतालाई स्वीकार गर्नु नै देखिन्छ ।

समाजका मानिसहरूलाई भक्ति, पूजा, पाठ आदि धार्मिक कर्मको माध्यमबाट सबै समस्या समाधान हुने विषयको वर्णनले आलसी, अनुत्पादनशील, परजीवी प्रवृत्तिमा राख्न खोजेको देखिन्छ । यी विषयलाई अहिलेको समाजले रूचाउन र पचाउन नसकेको देखिन्छ । तर यसमा अन्तर्निहित कथामा यस्तो कहीं पनि पाइंदैन । बरु बहु-आयामिक हुने सन्देश दिएको देखिन्छ ।

स्वस्थानी व्रतकथाले नेपाली भाषामा कथा भन्ने र सुन्ने प्रचलन कायम गरेको छ । जसले गर्दा धर्मका कथा संस्कृत भाषामा नै हुनुपर्छ र पण्डितले मात्र कथा भन्नुपर्छ भन्ने मान्यता तोडिएको छ । नेपाली भाषामा नै कथा लेखिएको हुनु, स्वस्थानीको व्रतकथाको परम्परा नेपालमा मात्र हुनु, नेपाली समाजमा मात्रै कथा सुन्ने सुनाउने आफ्नै मौलिक परम्पराले यो हाम्रो यसमा नेपालीपन देखिन्छ । कथामा नेपालको विभिन्न क्षेत्र, स्थान, तीर्थहरूको वर्णन पाइनु यसको अर्को महत्वपूर्ण पक्ष हो ।

व्रतमा अपनाइने ‘पवित्रता’ले स्वच्छ वातावरण र स्वस्थ शरीर राख्न मद्दत गर्छ । यसै कारण व्रतको समयावधि भरी सात्विक भोजन र संयमित जीवनचर्याले आरोग्य प्राप्त हुन्छ । सदाचारले सहज जीवन जीउने सकारात्मक ऊर्जा प्रदान गर्दछ ।

स्वस्थानीमा परिवारकै सदस्यले व्रत लिने, कथा भन्ने र सुन्ने गरिन्छ । यस परम्पराले पारिवारिक जमघट, एकता र मेलमिलाप बढाउन विशेष भूमिका निर्वाह गरेको छ । यो कथा सुन्नका लागि निमन्त्रणा आवश्यक हुँदैन । जुनसुकै जात-वर्गले सुन्न, सुनाउन र प्रसाद ग्रहण गर्न हुन्छ । समाजका जुनसुकै वर्ण र वर्गका मानिसहरू भेला हुने अवसर भएकोले स्वस्थानीले सामाजिक एकताको विकास गर्नमा योगदान गरेको छ । यस कथालाई माध्यम बनाएर महिलाहरू समेत जुट्दछन्, एकै ठाउँमा बसेर कथा भन्ने र सुन्ने गर्दछन् । यस्तो परम्पराले महिलाहरूलाई समेत एकताबद्ध हुन, सुन्न, सुनाउन, पढ्न, पढाउन र अन्य सामाजिक पक्षको विकासमा मद्दत पुर्‍याएको छ । आफू शिक्षित नभएका अविभावकहरूले पनि आफ्ना बालबालिकालाई कथा पढ्न वा भन्न लगाई सुन्ने गर्दछन् । यसले बालबालिकाहरूमा नैतिक चेतना र आध्यात्मिक भावनाका बढ्नुको साथै शुद्धसँग पढ्ने र वाचन गर्ने कलाको विकास गर्न समेत मद्दत पुर्‍याएको हुन्छ ।

स्वस्थानीको सार भनेको सनातनलाई स्वीकार गर्नु, कपट नगर्नु, आपसमा मिलेर बस्नु, मिलेर काम गर्नु, मिलेर आर्जन गर्नु, समाजमा र आपसमा केही अनमेल भए आपसमा मिलाउनु, निष्ठाको रक्षा गर्नु, युद्धमुखी नहुनु, कल्याणकारी बाटोमा लाग्नु, प्रकृतिको रक्षा गर्नु आदि हो ।

यिनलाई कथाका रूपमा पढ्ने सुन्ने गरे पनि गूढार्थको खोजी र विश्लेषण गर्ने काम भने भइरहेको देखिँदैन । गूढार्थको खोजी र विश्लेषण गर्ने हो भने स्वस्थानीव्रत कथाबाट धेरै शिक्षा लिन नसकिने होइन । तर मान्ने र नमान्ने अति र अन्धविश्वासले गर्दा यसलाई हेर्ने गतिशील दृष्टिकोण बन्न सकिरहेको छैन । कुनै पनि वस्तु, स्थान र घटनामा रहेका असल पक्षलाई नकार्नु र बुझ्ने प्रयास नै नगरी मान्नु दुवै अन्धविश्वास हुन् ।

समाजको विकासमा मानवीय कृयाकलापको भूमिका नै सर्वोपरि हुन्छ । मानिसका कृयाकलापद्वारा नै समाज विकसित हुन्छ । समाजका आवश्यकता अनुसार नै संस्कृतिको पनि विकास भएको हुन्छ । समाजमा भएका विभिन्न किसिमका कृयाकलाप र संस्कृतिहरूले समाजलाई एकताको सूत्रमा बाँध्न सक्दछ । समाजमा परम्परादेखि आएर रहेका विभिन्न संस्कृतिभित्र रहेका वैज्ञानिक र व्यवहारिक पक्षहरूको संरक्षण गर्नु आजको अपरिहार्य आवश्यकता हो ।

स्वस्थानीको सार भनेको सनातनलाई स्वीकार गर्नु, कपट नगर्नु, आपसमा मिलेर बस्नु, मिलेर काम गर्नु, मिलेर आर्जन गर्नु, समाजमा र आपसमा केही अनमेल भए आपसमा मिलाउनु, निष्ठाको रक्षा गर्नु, युद्धमुखी नहुनु, कल्याणकारी बाटोमा लाग्नु, प्रकृतिको रक्षा गर्नु आदि हो । यस्ता विषयका लागि कम्तीमा वर्षमा एक पटक लामै समय (एक महिना) ज्ञान प्राप्त गर्न, भक्ति विस्तार र सुदृढ गर्न तथा तत्परता विकास गर्ने अभ्यास गर्न चलाइएको परम्परा हो । सहभागितामुखी संस्कृतिको विकासमा स्वस्थानी व्रतकथाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । कथा सुन्नुको प्रयोजन यथार्थ बुझ्ने र उचित शिक्षा लिने हो, जस्ताको तस्तै नक्कल गर्नु र विगतलाई सत्तोसराप गर्नु उचित होइन ।

स्वस्थानी व्रतकथामा औँल्याइएका नेपालका स्थानहरूको पहिचान र संरक्षण गर्न आवश्यक छ । त्यस्ता स्थानहरूको भौतिक तथा पौराणिक र सांस्कृतिक उत्खनन् गर्नुपर्ने देखिन्छ । यसबाट हाम्रो देशको प्राचीनताको थप पुष्ट्याइँ गर्न सकिने छ । यति नै बेलाका लागि उपयोगी वा अनुपयोगी जेसुकै होला, यहाँ मानव समाज थियो, सामाजिक प्रवन्ध थियो, आज हामीले आफ्नो मानेको र गर्व गरिरहेको भूमि र समाजको संरचना थियो भन्ने पुष्ट्याइँ गर्ने थप साक्ष्य प्राप्त हुनेछ । अतः हामीले पारम्परिक पर्व मनाइरहँदा, कथा सुनिरहँदा यी पक्षमा ध्यान दिन सक्दा थप सार्थक हुनेछ ।

(लेखक सांस्कृतिक अध्येता तथा अभियन्ता हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.