अष्ट्रेलियन सरकारसँग पराजित भएर सर्विया फर्किए जोकोभिच – Nepal Press

अष्ट्रेलियन सरकारसँग पराजित भएर सर्विया फर्किए जोकोभिच

काठमाडौं । अष्ट्रेलियन ओपन खेल्न मेल्बर्न पुगेका टेनिस स्टार नोभाक जोकोभिचले आफूलाई अस्ट्रेलियाबाट स्वदेश फिर्ता गर्ने अदालतको निर्णयले अत्यन्तै निराश भएको बताएका छन् ।

कोभिड–१९विरुद्धको खोप नलगाएका सर्वियन खेलाडी जोकोभिच आफ्नो भिसा रद्द गर्ने अष्ट्रेलियन सरकारको निर्णयलाई उल्टाउन असफल भएका छन् ।

जोकोभिचलाइ स्पेनका राफेल नाडाल र स्विट्जरल्याज्डका रोजर फेडेररलाई पछि पार्दै कीर्तिमानी २१औं पुरुष ग्राण्डस्लाम उपाधि जित्ने मौका थियो । तर अष्ट्रेलिया सरकारले उनको भिसा रद्द गरेसँगै उनलाई स्वदेश फिर्ता पठाइएको छ ।

अब तीनमध्ये नाडालले मात्र अष्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्नेछन् । ४० वर्षीय फेडेर लामो समयदेखि घुँडाको चोटका कारण कोर्ट बाहिर छन् ।

जोकोभिच स्वदेश फिर्ता भएसँगै उनले अष्ट्रेलियन ओपन खेल्न पाउने वा नपाउने भन्नेबारे ११ दिन लामो कानूनी विवाद पनि अन्त्य भएको छ ।

जनवरी ५ मा अष्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिचको भिषा रद्द गरिएको थियो । त्यसपछि उनलाई एक होटलमा हिरासतमा राखिएको थियो ।

प्रक्रियागत रुपमा त्यो निर्णय खारेज भएपनि अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले शुक्रबार पुनः उनको भिसा रद्द गरेका थिए ।

भोलीदेखि वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन सुरु हुँदैछ । जोकोभिचले नखेल्ने भएपछि पुरुष सिंगल्सको ड्रमा फेरबदल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *