अनुगमनमा मन्त्री आले, बतासले लिएको पशुपतिको ‘धर्मशाला’ मा यस्तो देखियो – Nepal Press

अनुगमनमा मन्त्री आले, बतासले लिएको पशुपतिको ‘धर्मशाला’ मा यस्तो देखियो

एकरात बसेको ५ हजार ५ सयसम्म

काठमाडौं । नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेम आलेले विवादित बतास समूहले लिएर चलाइरहेको पशुपतिको धर्मशालाको अनुगमन गरेका छन् ।

आइतबार बिहान मन्त्री आले सरकार कर्मचारीसहित भारतले बनाइदिएको धर्मशाला अनुगमनमा पुगेका थिए । अनुगमनका क्रममा होटल बनाइएको धर्मशालमा स्पा, जिमहल र बाथ टबलगायत भेटिएपछि उनले सेभेनस्टारजस्तो देखिएको बताए ।

पशुपति विकास कोषअन्तर्गत संचालित उक्त धर्मशालामा अनुमति नदिइएको क्षेत्रमा पनि संरचना बनाएको/नबनाएको बारे आलेले अनुगमन गरेका थिए ।

छानबिन समितिको प्रतिवेदन आएपछि सबै स्पष्ट हुन्छ : मन्त्री आले

अनुगमनपछि प्रतिक्रिया दिँदै मन्त्री आलेले धर्मशाला छानबिनका लागि अनुसन्धान समिति बनाइएको र त्यसको प्रतिवेदन आएपछि सबै कुरा स्पष्ट हुने बताए ।

‘छानबिन समितिलाई दिएको ७ दिन भोलि पूरा हुन्छ,’ उनले भने भोलि प्रतिवेदन पेस हुन्छ । प्रतिवेदनका आधारमा के गर्ने भन्ने तय गर्छौं ।’

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।

संयोजक सुवेदीले भोलि ४ बजे कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने समेत जानकारी दिए ।

एकरात बसेको ५ हजार ५ सयसम्म

धर्मशाला नाम दिएर संचालन गरेका होटलमा शुल्क महँगो पाइएको छ । एकजनालाई एकरात बसेको मात्रै १ हजारदेखि ५ हजार ५ सयसम्म शुल्क तोकिएको छ ।

एसी नभएको कोठामा एकजनालाई एक हजार, डिलक्स कोठाको २ हजार ९ सय र ‘स्वीट रुम’ नाम दिएको कोठाको शुल्क ५ हजार ५ सय तोकिएको छ ।

मन्त्री आलेले धर्मशालाभन्दा पनि आधुनिक होटेल बनाएको बताए । ‘यो धर्मशालाभन्दा पनि आधुनिक सेभेन स्टार होटेल बनाइएको पाइयो,’ मन्त्री आलेले भने ।

उनले आफूले कसैमाथि पूर्वाग्रह साँधेको नभइ काम गरेको बताए । मन्त्री आलेले भने, ‘मेरै पार्टीबाट पर्यटनमन्त्री बनेको भए पनि म यस्तै गर्थेँ ।’

तस्बिरहरु : उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *