ज्येष्ठ नागरिकमा प्राकृतिक प्रकोपको असर, अवस्था र भूमिका – Nepal Press
सन्दर्भः भूकम्प सुरक्षा दिवस

ज्येष्ठ नागरिकमा प्राकृतिक प्रकोपको असर, अवस्था र भूमिका

विश्वव्यापीरूपमा प्रकोपहरूको आवृत्ति र तीव्रता बढ्दै गएको छ, जसले लाखौं मानिसहरूको जीवनलाई प्रभाव पार्नुका साथै विगतमा हजारौं मानिसहरूको ज्यान गएको छ । इन्टरनेशनल फेडेरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीजका अनुसार प्रकोपबाट प्रभावित अधिकांश देशहरू न्यून र निम्नमध्यम आय भएका छन् ।

प्रकोपहरूले विश्वव्यापी अर्थतन्त्रको साथै सामाजिक–आर्थिक र वातावरणीय निर्धारकहरूलाई पनि ठूलो असर गरेको छ । जोखिम व्यवस्थापनको लागि सूचना सूचांक, २०१९ का अनुसार नेपाल प्रकोप जोखिमको ४४ औं स्थानमा, जोखिमको खतरामा ७४ औं स्थानमा र जोखिमसँग सामना गर्ने क्षमताको कमीमा ५७ औं स्थानमा रहेको छ ।

यसबाहेक नेपाल प्रकोपसँग सम्बन्धित मृत्युदरका लागि शीर्ष १० देशमध्ये एक, बाढी प्रकोपहरूका लागि २० औं स्थानमा, भूकम्पका लागि ११ औं स्थानमा र विश्वभर जलवायु परिवर्तनमा चौथो स्थानमा रहेको छ ।

यी तथ्याङ्कले नेपाल खतरनाक परिणामको जोखिममा रहेको देखाउँछ । नेपालमा वर्षा र जलवायु परिवर्तनको कारणले गर्दा जलमौसम विज्ञानसम्बन्धी खतराहरू सामान्य छन् । यस्ता जोखिमसँग सामना गर्दा मानिसहरूको जीवनमा असर पार्छ भने यी जोखिमहरू प्रकोप हुन् ।

नेपाल ठूला भूगर्भीय प्रकोपहरू (जस्तैः भूकम्प, बाढीपहिरो र हिमपहिरो)को जोखिममा रहेको छ । यसमध्ये एक प्रकारको विनाशकारी प्राकृतिक प्रकोप भनेको भूकम्प हो, जुन बिनाचेतावनी अचानक आउँछ ।

यसका साथसाथै विश्व स्वास्थ्य संगठनका आधारमा नेपाललगायत विकासशील देशहरूमा ६० वर्ष वा माथिका ज्येष्ठ नागरिकहरूको संख्या र अनुपात बढ्दै गएको छ । नेपाल सरकार नेपाल योजना आयोग (सन् २०१७) का अनुसार सन् २०५४ मा नेपाल वृद्ध समाज हुनेछ भनी आँकलन गरिएको छ ।

नेपालमा पहिलोपटक रेकर्ड गरिएको १३११ सालमा गएको भूकम्पले कुल जनसंख्याको एक तिहाइको ज्यान लिएको थियो । १९९० साल माघ २ गते गएको भूकम्पका कारण अधिकांश पूर्वाधार र प्रमुख सम्पदा स्थलहरू ध्वस्त भए, धेरै मानिसहरूलाई चोटपटक, धेरै घरहरू क्षतिग्रस्त र धेरै परिवारहरूलाई असर गर्नुका साथै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी मानिसहरुको मृत्यु भएको थियो ।

विपद् व्यवस्थापन र मानवीय सहायता उत्कृष्टता केन्द्र (२०२०) का अनुसार, २०२७ सालदेखि २०७४ सालसम्म नेपालमा १७५ वटा भूकम्प गए ।

२०७२ सालमा नेपाली जनताले विनाशकारी भूकम्पको अनुभव गर्नुका साथै धेरै मानिसहरू घाइते भए भने धेरै व्यक्तिहरुले अकालमा ज्यान गुमाउनुपर्यो । धेरै मानिसहरु घरवारविहीन हुनुका साथै विस्थापित पनि हुन पुगे ।

अझै पनि कति मानिसहरू अस्थायी निवासमा कठिन परिस्थितिको सामना गर्दै बसिरहनु भएको छ । त्यस्तै, जलमौसम विज्ञानसम्बन्धित प्रकोपहरूले पनि वार्षिक रूपमा मानिसहरूको जीवन र बस्ने व्यवस्थालाई असर गरिरहेको कुरा सर्वविदितनै छ ।

साथै पहाडी क्षेत्रमा बसोबास गर्ने नेपालका जनताले बारम्बार पहिरो र हिमनदीका कारण हुने गम्भीर खतरा महसुस गरिरहेका छन् र धेरै मानिसहरुले ज्यान गुमाएका छन् । यी सबै बाहिरबाट हामी सबैले देख्ने समस्याहरु हुन् ।

अहिले नेपाली जनता कोभिड–१९ का कारण हुने संक्रामक रोगको प्रकोपको सामना पनि गरिरहेका छन् । यस्ता प्राकृतिक र जैविक प्रकोपहरुले मानव जीवन, स्वास्थ्य र प्रकृतिमा तत्काल, मध्यकालीन र दीर्घकालीन रूपमा प्रभाव पार्दछ ।

डीवल्फले विपद्को अवस्थाको मानसिक स्वास्थ्यलाई ७ चरणमा छुट्याउनु भएको छ ।

१. चेतावनी वा खतरा चरण

विपद्को प्रभाव समुदायका मानिसहरूले घटना हुनुअघि प्राप्त गर्ने चेतावनी संकेतहरूमा निर्भर गर्दछ । धेरैजसो प्रकोपहरू बिनाचेतावनी आउँछन् । यदि मानिसहरूले चेतावनी संकेतहरू बिना विपद्को सामना गर्छन् भने उनीहरु कमजोर हुन्छन् । यस अवस्थामा मानिसहरूले आफ्नो सुरक्षा गर्न सक्दैनन् । फलस्वरूप आफ्नो र परिवारको सुरक्षा गर्न नसक्दा मानिसहरू आफूलाई दोषी महसुस गर्दछन् ।

२. प्रभाव चरण

यस चरणमा समुदायको विनाश; प्रियजन, आफन्त र छिमेकीहरूको जीवनको हानि र परिवारहरूको विस्थापनका कारण विभिन्न मानसिक प्रभावहरू (जस्तै तनाव, चिन्ता र नकारात्मक भावनात्मक प्रतिक्रियाहरू) पर्दछन् ।

३. उद्धार वा हिरोइक चरण

प्रकोपपछि तुरुन्तै, समुदायमा बाँचेका मानिसहरूले जोखिममा परेकाको उद्दार गर्ने, आश्रय दिने, खाना खुवाउने, खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्ने, सुरक्षा र सम्पत्तिको संरक्षणमा सक्रिय संलग्नता देखाइ परोपकारी व्यवहार देखाउँछन् । यस चरणमा शारीरिक खतराहरू, उद्धार र स्थानान्तरण प्रक्रियाहरूका कारण तथा परिवारबाट अलग हुँदा नकारात्मक मानसिक प्रभावहरु पर्दछन् ।

४. उपचार वा हनिमून चरण

यस चरणमा मानिसहरू आफ्नो सुरक्षाको लागि दाताहरुको सहयोग र समर्थनमा अस्थायी आश्रयहरूमा बस्दछन् । मिडियाको ध्यानाकर्षण; निःशुल्क चिकित्सा सहायता, खाना र आवास; प्रकोप प्रभावित क्षेत्रहरुमा महत्वपूर्ण सरकारी विशिष्ट व्यक्तिहरुद्वारा अनुगमन; प्रशासनिक अधिकारीहरूबाट दिइएको राहतहरु, क्षतिपूर्ति र पुनर्वास आश्वासनहरूले बाँचेका मानिसहरूलाई विश्वासको ठूलो राहत प्रदान गर्दछ ।
त्यसकारण प्रकोपबाट प्रभावित समुदायलाई छिट्टै पुनःस्थापना गर्ने विश्वास वा आशा पनि जाग्दछ । यो चरण हप्तादेखि महिनासम्म जारी रहन्छ।

५. सूची (इन्भेन्टरी) चरण

यस चरणमा मानिसहरूले प्रकोपपछि राहत सहयोगको सीमितताका साथै प्रकोपसँग सम्बन्धित विभिन्न समस्याहरू, जस्तै आर्थिक सीमितताहरू, स्थानान्तरणको तनाव, वा बस्ने व्यवस्थाको बारेमा तनाव आदि अनुभव गर्छन् । अब मानिसहरु प्रकोपको सामना गरिरहँदा पाइएका आश्वासनहरू सबै अव्यावहारिक लाग्नुका विभिन्न क्षेत्रबाट देखाइएका आशावादबाट थकित र निराश हुन थाल्छन् ।

६. मोहभंग (डिसईलुजन्मेन्ट) चरण

विपद्पछि २ देखि ४ हप्तासम्म राहत सामग्री र स्रोतको आपूर्ति जारी रहन्छ । सरकारी अधिकारी र राजनीतिज्ञहरूको भ्रमण रोकिनुका साथै मिडियाको ध्यानाकर्षण कम हुन्छ । प्रशासनिक समर्थन, सहयोगी दाताहरु, र गैरसरकारी संस्थाहरुले दिने योगदानहरू घट्न थाल्छन् । प्रकोपबाट बाँचेका मानिसहरूले प्रकोपपूर्व जीवनमा फर्किनका लागि प्राप्त गर्ने अनुदान, आफ्नो आवश्यकताबीचको अन्तर पहिचान गरी वैकल्पिक उपायहरु खोजी गर्न थाल्छन् ।

यस अवस्थाले बाँचेका मानिसहरुको विपद्पछिको जीवन जोखिममा पर्दछ र समुदायको पुनर्निर्माण र पुनस्थापना उहाँहरुलाई टाढाको सपना लाग्न थाल्दछ । यस चरण निराशाको एक लामो चरण हो, जसले मानसिक स्वास्थ्य समस्याहरू, जस्तै निराशा, तनाव, र नकारात्मक भावनाहरू प्रजनन गर्न उर्वर भूमि सिर्जना गर्दछ ।

यो चरण ३–३६ महिना सम्म रहन्छ । यस चरणमा मानसिक स्वास्थ्यकर्मीहरूले महत्त्वपूर्ण भूमिका खेल्नु पर्दछ ।

७. पूनर्निर्माण वा रिकभरी चरण

मानिसहरूको धारणा र उहाँहरुले प्राप्त गर्नुभएको आर्थिक, सामाजिक, मानसिक र भावनात्मक सहायतामा पूनर्निर्माण चरण निर्भर गर्दछ । साथै आर्थिक वा आवास समस्याहरूले रिकभरी प्रक्रियालाई असर गर्छ ।

त्यसैले, विपद्लाई व्यक्तिगत उन्नति र अवसरको रूपमा लिएर आफ्नो शक्ति पहिचान गरी आफ्ना प्राथमिकताहरूमा पुनर्विचार गर्न सकेमा मानिसहरु सजिलै विपद्को सामना गर्न सक्छन् । मानसिक र व्यवहारिक स्वास्थ्य प्राप्तिका लागि लामो समय अर्थात् हप्ता, महिना र वर्ष पनि लाग्न सक्दछ ।

यहाँ यस चरणहरूको बारेमा उल्लेख गर्नुको प्रमुख उद्देश्य भनेको प्रकोपको सामना गरेपछि तुरुन्त नै र दिर्घकालीन रुपमा यसबाट मानिसहरु प्रभावित हुन्छन् । त्यसैले, प्रकोपको विभिन्न चरणको मानसिक अवस्थालाई विचार गरेर सहायताका कार्यक्रमहरु तर्जुमा गर्नु अत्यावश्यक छ भन्नेकुरालाई उजागर गर्नु हो ।

विपद् र जेष्ठ नागरिक

यसका साथसाथै विश्व स्वास्थ्य संगठनका आधारमा नेपाललगायत विकासशील देशहरूमा ६० वर्ष वा माथिका ज्येष्ठ नागरिकहरूको संख्या र अनुपात बढ्दै गएको छ । नेपाल सरकार नेपाल योजना आयोग (सन् २०१७) का अनुसार सन् २०५४ मा नेपाल वृद्ध समाज हुनेछ भनी आँकलन गरिएको छ ।

ज्येष्ठ नागरिकहरूको यो जनसांख्यिकीय परिवर्तन र प्रकोपहरूको बढ्दो संख्याले नेपाल र विश्वव्यापी परिप्रेक्ष्यमा उहाँहरुको लागि विशेष आवश्यकताको अनुभूति र समस्याहरू खडा गरेको छ ।

विश्वव्यापी परिदृश्य र नेपाली सन्दर्भलाई उल्लेख गर्दा, ज्येष्ठ नागरिकहरू प्रकोपको प्रत्येक चरणमा समाजमा सबैभन्दा कमजोर र उपेक्षित जनसंख्या हुन् । कमजोरी र बेवास्ताले उहाँहरुलाई प्रकोप पूर्व कार्यमा फर्कन समस्यामा पार्छ ।

उमेरसँगै शारीरिक स्वास्थ्यमा गिरावट र दैनिक जीवन र आपतकालीन समयहरूमा पर्याप्त सेवाहरूको अभाव, राहत वितरणको बेलामा उहाँहरुलाई गरिने भेदभाव, शारीरिक असक्षमता, वित्तीय अवरोधहरू, कमजोर शारीरिक शक्ति र प्रतिरक्षा प्रणाली, संज्ञानात्मक क्षमतामा आएको समस्या र दिर्घकालीन रोगहरूका कारण ज्येष्ठ नागारिकहरु जोखिममा रहेको पाईन्छ ।

विभिन्न लेख र अनुसन्धानका आधारमा नेपाली समाजमा आएको पारिवारिक प्रणालीमा परिवर्तन, परिवार र सामुदायिक सदस्यहरूद्वारा गरिने उपेक्षा र परित्याग, राज्यले प्रदान गरिने सहायतामा पहुँचको कमी, युवा जनसंख्याको कामका लागि सहर वा विदेशमा बसाइँसराइको कारण प्रकोपपछि एक्लै बस्नुपर्ने बाध्यता छ ।

भूकम्प गएको पाँच वर्षपछि भूकम्प प्रभावित जिल्लामा मलगायत मेरो सहपाठीहरुद्वारा ३७ जना ज्येष्ठ नागरिकहरूमा गरिएको प्रारम्भिक अनुसन्धानमा– करिब १९% ज्येष्ठ नागरिकले मात्र अब विपद्का कारणले जस्तोसुकै परिस्थिति आइपरे पनि सामना गर्नसक्ने बताए ।

स्वास्थ्य आवश्यकताहरू पूरा गर्न असक्षमता, विपद्को समयमा विस्थापन र पछि पनि आफू जन्मेहुर्केको र आफ्नो भावनात्मक सम्बन्ध गाँसिएको भूमिबाट विस्थापित हुनुपर्ने अवस्थाले पनि उहाँहरु आफूलाई मानसिक रुपले कमजोर महसुस गरिरहनु भएको हुन्छ ।

साथै, परम्परागत सामाजिक र पारिवारिक सहयोगमा ह्रास, आर्थिक अभाव, विपद्सम्बन्धी ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप, अनुभवहरूको कदर गर्न नसक्नु, स्थानीय रूपमा उपलब्ध स्रोतहरू प्रयोग गर्न नसक्नु र विपदपछिको आपत्कालीन राहत कार्य, सहयोग र भत्ताहरूको असमान वितरण आदिका कारणहरुले प्रकोपबाट बाँचेका ज्येष्ठ नागरिकहरूमा मनोवैज्ञानिक रोगहरू बढ्छ । र दीर्घकालीन मनोवैज्ञानिक संकट हुने सम्भावना बढी हुन्छ ।

त्यस्तै, १९० देशमध्ये धेरै स्वास्थ्य समस्याहरू अनुभव गर्नेमा नेपाली ज्येष्ठ नागरिकहरू हेल्पएज विपद् जोखिम र उमेर सूचांकमा ३० औँ स्थानमा छन् । तसर्थ, उहाँहरुलाई स्वास्थ्य सेवा टोलीबाट दीर्घकालीन सहयोग चाहिन्छ ।

आइसेकका अनुसार ज्येष्ठ नागरिकहरू उमेर सँगसँगै आएको परिपक्वता, पूर्वअनुभवहरू, सामाजिक समर्थन, लचिलोपन र भावनात्मक नियमनले विभिन्न सुरक्षात्मक स्रोतहरू परिचालन गर्न र जस्तोसुकै अप्ठ्यारो र तनावपूर्ण परिस्थितिहरूमा समायोजन गर्न सक्षम हुन्छन् । हामी यो भन्न सक्छौँ कि, नेपाली ज्येष्ठ नागरिकहरू पनि आन्तरिक साधन स्रोत भएका छन् र उहाँहरुले आफ्नो अनुभव, ज्ञान र सीप प्रयोग गरेर विपद्को सामना गर्न सक्छन् ।

त्यस्तै सामुदायिक मानसिक स्वास्थ्यको विकास गर्न महत्ववपूर्ण भूमिका खेल्न सक्छन् । उहाँहरु विपद्पूर्व, विपद्को समयमा र विपद् पछि परोपकारी कार्य, राहत सहयोग वितरण र समुदायमा अरूलाई सहयोग गर्न संलग्न हुन सक्छन् ।

विपद्को सामना गर्न उहाँहरुको कमजोरी र सकारात्मक शक्तिहरूलाई ध्यानमा राख्दै विपदपछि तुरुन्त र दीर्घकालीन समयमा आउनसक्ने मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरुलाई समाधान गर्नु पनि हामी सबैको कर्तव्य हो ।

अर्नोल्ड (२०१९) का अनुसार ज्येष्ठ नागरिकहरूको आत्म–प्रभावकारिता (आफ्नो कार्यक्षमता प्रतिको आत्मविश्वास) र काम गर्नसक्ने क्षमताप्रतिको आत्मविश्वासले विपद्सँग सम्बन्धित विविध समस्याहरु समाधान गर्न, मानसिक स्वास्थ्य विकास गर्न, विपदपूर्वको अवस्थामा फर्कन र विपद्सँग सामना गर्ने शक्ति विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

आत्म–सहायता मनोवृत्ति र विपद्पछि पारस्परिक सहयोगले भूकम्प प्रभावित नेपाली समुदायहरूमा बसोबास गर्ने मानिसहरूको लचिलोपनलाई सहज बनाउँछ ।

भूकम्प गएको पाँच वर्षपछि भूकम्प प्रभावित जिल्लामा मलगायत मेरो सहपाठीहरुद्वारा ३७ जना ज्येष्ठ नागरिकहरूमा गरिएको प्रारम्भिक अनुसन्धानमा– करिब १९% ज्येष्ठ नागरिकले मात्र अब विपद्का कारणले जस्तोसुकै परिस्थिति आइपरे पनि सामना गर्नसक्ने बताए ।

२४% मा मात्र उच्चतहको सकारात्मक मानसिक स्वास्थ्य र झन्डै ३८% ज्येष्ठ नागरिकहरूले उच्च तहको तनाव महसुस गरिरहनु भएको पाइयो ।

ज्येष्ठ नागरिकहरूलाई आर्थिक रुपले सबल बनाउन र उहाँहरुले अझै पनि समाजमा ठूलो योगदान दिन सक्नुहुन्छ भन्ने भावनालाई विकास गर्नुपर्ने आवश्यकता छ । म लगायत मेरो सहपाठीहरुको अनुसन्धानमा ज्येष्ठ नागरिकहरूलाई आत्मनिर्भर बनाउन उमेर सुहाउँदो घरेलु कार्यक्रमको आवश्यकता देखियो ।

त्यस्तै, भूकम्प प्रभावित जिल्लामा मलगायत मेरो सहपाठीहरुले ३२४ जना ज्येष्ठ नागरिकहरूमा गरेको करिब २३% मा उच्चतहको लचिलोपन, करिब ४८% मा उच्च तहमा आत्म ्रभावकारीता, झन्डै ६०% मा उच्च तहको सामाजिक सहायता, ६१% मा सामान्य आत्मसम्मान, करिब ४४% मा उच्चतहको सकारात्मक मानसिक स्वास्थ्य र २३% मा मात्र भविश्यप्रति आशा रहेको पाइयो ।

त्यस्तै ४८% मा उच्चतहको आध्यात्मिकता, ४९% मा एक्लोपन, ७७% मा उच्च तहको तनाव महसुस र ८५% मा जीवनप्रति सन्तुष्टि अनुभव गरिरहनु भएको पाइयो । यस अनुसन्धानबाट आन्तरिक साधनस्रोतहरु जस्तै आत्म–प्रभावकारीता, सामाजिक सहायता (परिवार, साथी, अनि आफन्तजनबाट पाउने सहायता), आत्मसम्मान र आध्यात्मिकताले ज्येष्ठ नागरिकहरूलाई विपदपूर्वको अवस्थामा पुग्न अथवा लचिलोपनको अनुभुतिमा सकारात्मक प्रभाव पर्ने र तनावले नकारात्मक प्रभाव पर्ने कुराको पुष्टि गरेको छ ।

यस अनुसन्धानमा भूकम्पले आफ्नो जीवनभरिको कमाइले बनाएको घरहरु भात्किँदा धेरै तनाव र परिवारको चिन्ता हुँदाहुँदै पनि राहत वितरणमा संलग्न हुँदा आफ्नोभन्दा धेरै समस्यामा रहनु भएका परिवारहरु देख्दा आफ्नो मन सम्हाल्न सकेको कुरा ज्येष्ठ नागरिकहरुले बताउनुभयो । उहाँहरुको यस कार्य र ईच्छा शक्तिप्रति हार्दिक नमन गर्दै उहाँहरुलाई प्रकोप व्यवस्थापनमा एक सबल जनशक्तिको रुपमा लिन सकिने कुरा पनि स्पष्ट देखिएको छ ।

तसर्थ नीति निर्माताहरू, स्वास्थ्य चिकित्सकहरू, सामाजिक कार्यकर्ताहरू, नर्सहरू र अन्य स्वास्थ्य पेसाका व्यक्तिहरुको सामूहिक प्रयासले ज्येष्ठ नागरिकहरूको आन्तरिक सुरक्षात्मक शक्तिलाई विकास गर्न, आत्म–प्रभावकारिता बढाउन, आध्यात्मिक वातावरण सिर्जना गर्न, तनाव कम गर्न र आत्मसम्मान बढाउन विभिन्न कार्यक्रमहरु तर्जुमा गर्नुपर्छ ।

ज्येष्ठ नागरिकहरूलाई आर्थिक रुपले सबल बनाउन र उहाँहरुले अझै पनि समाजमा ठूलो योगदान दिन सक्नुहुन्छ भन्ने भावनालाई विकास गर्नुपर्ने आवश्यकता छ । म लगायत मेरो सहपाठीहरुको अनुसन्धानमा ज्येष्ठ नागरिकहरूलाई आत्मनिर्भर बनाउन उमेर सुहाउँदो घरेलु कार्यक्रमको आवश्यकता देखियो ।

ज्येष्ठ नागरिकहरू शारीरिक तवरले कमजोर हुन्छन् भन्ने सोचाइलाई परिवर्तन गर्दै विपद् र विपद् व्यवस्थापनसँग सम्बन्धित पूर्वज्ञान, अनुभव र सीपको कदर गर्दै उहाँहरुलाई समुदाय र राष्ट्रियस्तरको नीतिनिर्माणमा सरिक गराउनु पर्दछ । यसका लागि ज्येष्ठ नागरिकहरूलाई प्रकोप सामना र पछि आउने समस्याहरुको व्यवस्थापनका लागि उच्चरूपमा तयार गर्नुपर्दछ र उहाँहरु आफ्ना छिमेकीहरू बारे जानकारी हुनुपर्छ ।

तसर्थ उहाँहरुलाई प्रकोपहरूको लागि तयारी र सामना गर्न सामाजिक सन्जालहरू विकास गर्ने हो भने सक्रियरुपमा विपद् व्यवस्थापनामा अमूल्य योगदान दिन सक्छन् । ज्येष्ठ नागरिकहरू समुदायका सम्पत्ति हुन्, जसले आफ्नो छिमेकमा आफ्ना अनुभवहरू बाँड्न सक्छन् र छिमेकिहरुसँग सम्बन्ध विकास गर्न सक्छन् । साथै सबैसँग सौहार्दपूर्ण वातावरण सिर्जना गरी विपद् सामना गर्न सक्षम समुदाय निर्माण गर्न सक्छन् ।

(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ललितपुर नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.