नोबेलका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्रै विद्यार्थी नेताद्वारा दुर्व्यवहार, पाँच पक्राउ – Nepal Press

नोबेलका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्रै विद्यार्थी नेताद्वारा दुर्व्यवहार, पाँच पक्राउ

काठमाडौं । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका संचालक डा. सुनिल शर्मालाई विद्यार्थी संगठनका नेताहरूले सिंहदरबारभित्रै दुर्व्यवहार गरेका छन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रालयमै बोलाएको बैठकमा सहभागी भएर निस्किने क्रममा शर्मामाथि दुर्व्यवहार गरिएको हो । मेडिकल कलेजले लिँदै आएको शुल्कसम्बन्धी विवाद समाधानका लागि मन्त्रीले सरोकारवालाको बैठक डाकेका थिए । उक्त बैठकले सहमति जुटाउन असफल भएको थियो ।

बैठकबाट निस्कने क्रममा बाहिर विद्यार्थी नेताहरू शर्मालाई ढुकेर बसेका थिए । शर्मा आउनासाथ उनीहरूले सुरुमा नमस्कार गरे । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि जाइलाग्दै कालोमोसो दल्ने प्रयास गरिएको एक प्रत्यक्षदर्शी विद्यार्थीले बताए । शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये दुईजना नेकपा एसनिकटको अनेरास्ववियूका नेता हुन् । उक्त संगठनका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीका अनुसार उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेका छन् । पराजुलीले उनीहरूको ‘बहादुरी’ को प्रशंसा गर्दै शीघ्र रिहाइको माग गरेका छन् ।

अपडेटः
घटनामा पक्राउ परेकामध्ये दुई जना शर्माकै मान्छेहरु भएको बुझिएको छ । प्रहरीका अनुसार शर्माका ड्राइभर र अकाउन्टेन्ट पक्राउ परेका थिए । हुलमुलमा पक्राउ परेका उनीहरु छुटिसकेका छन् ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेश मैनालीले शर्मामाथि दुव्र्यवहार भएको तर कालोमोसो नदलिएको बताए ।

तस्बिर : सुदेश पराजुलीको फेसबुकबाट


प्रतिक्रिया

One thought on “नोबेलका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्रै विद्यार्थी नेताद्वारा दुर्व्यवहार, पाँच पक्राउ

  1. यी अराजक टाेले गुण्डाहरूलाई कानून बमाेजिम कडा कारवाही गर्नुपर्दैन ? पैसा नपाएकाे रिस फेरेका हुन् यिनले । बढी पैसा लिए कारवाही गर्ने अरू निकाय छन् । यिनले यसरी कारवाही गर्ने ? यिनका नेता तिनै मेडिकलवालासँग हण्डी उठाएर खान्छन् । यी पुच्छर धाक लगाउन जंगली बन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर