प्रधानमन्त्री कप क्रिकेटः वागमतीको दोस्रो जितमा प्रदेश २ पराजित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः वागमतीको दोस्रो जितमा प्रदेश २ पराजित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा वागमती प्रदेशले प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर फिल्डिङको निम्तो पाएको वागमतीले १ सय ५५ रनको लक्ष्य १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

वागमतीका लागि इशान पाण्डेले सर्वाधिक ३२ रन जोडे । उनले ३१ बलमा एक छक्का र दुई चौका प्रहार गरे । यस्तै, लक्की कठायतले २८, प्रतीस जिसीले २२ रन गर्दा सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान २० रनको योगदान गरे ।

प्रदेश २ को वलिङमा जितेन्द्र यादवले दुई विकेट लिँदा पार्थिक यादव, हरीशंखर शाह र विवेक यादवले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर वागमतीलाई १ सय ५६ रनको लक्ष्य दिएको थियो ।

पहिला ब्याटिङ गरेको प्रदेश २ का लागि हरिशंकरले सर्वाधिक ५६ रन बनाएर उत्कृष्ट इनिङ खेले । उनले ५४ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यस्तै, विवेकले २८, कप्तान हासिम अन्सारीले २६ र मोहमद आदिल आलमले १२ रनको योगदान गरे ।

वागमतीको बलिङमा रिजन ढकाल र विपिन आचार्यले समान दुई विकेट लिँदा प्रतीस जिसी र सुवास खत्रीले समान एक विकेट लिए ।

यसअघि आफ्नो पहिलो खेलमा एपीएफ क्लबसँग २४ रनले पराजित भएको प्रदेश २ ले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनी प्रदेशसँग ४२ रनले पराजित भएको थियो ।

पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको बागमती दोस्रो खेलमा एपीएफसँग सात विकेटले हारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर