अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ टीजर लन्च, बैशाख १ गते फिल्म रिलिज घोषणा – Nepal Press

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ टीजर लन्च, बैशाख १ गते फिल्म रिलिज घोषणा

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर’को चौंथो श्रृंखलाले शुक्रबार टीजर ट्रेलर रिलिज गरेको छ ।टीजर सार्वजनिक भएसँगै आगामी बैशाख १ गते (अप्रिल १४)लाई प्रदर्शन मितिको रुपमा घोषणा गरिएको छ ।

१ मिनेट ४४ सेकेन्ड लामो टीजर ट्रेलरमा फिल्मका दुई मुख्य पात्रहरु अनमोल केसी र सुहाना थापा चित्रण छन् । टीजरमा प्रेम, रोमान्स र बिछोडका तीन आयामलाई फिचर्ड गरिएको छ ।

टीजरमा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र उत्तम न्यौपाने सीएएसको ध्वनी डिजाइन माधुर्य लाग्छ । संजय लामाले आकर्षक दृश्यहरुलाई क्यामेरामा कैद गरेका छन् । सन् २००२ अगस्ट ३१ मा शिव रेग्मीको निर्देशनमा बनेको ए मेरो हजुरको पहिलो श्रृंखलामा श्रीकृष्ण श्रेष्ठ र झरना थापा मुख्य भूमिकामा थिए ।

ए मेरो हजुर २ सन् २०१७ र ए मेरो हजुर ३ सन् २०१९ मा रिलिज भएका थिए । यी सबै फिल्मले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेका थिए । निर्मात्री समेत रहेकी झरनाले दोसो श्रृंखलाबाट निर्देशकीय जिम्मेवारी सम्हालेकी थिइन् ।

‘लालसिंह चड्डा’ र ‘केजीएफ २’ सगै

कोरोना महामारीको परिस्थितीमा सुधार भए बैशाख १ गते ए मेरो हजुर ४, लालसिंह चड्डा र केजीएफ दोस्रो च्याप्टर एकसाथ प्रदर्शन हुनेछन् । यी तीनै फिल्म बिग बजेट, बहुप्रतीक्षितदेखि स्टारकास्ट भएका फिल्महरु हुन् । यदि तीनै फिल्म प्रदर्शन भए त्यो व्यवसायिक चुनौति हुनेछ ।

वितरक पनि हेरफेर

ए मेरो हजुर ४ को मोफसल वितरणबाट ब्यांकटेस इन्टरटेनमेन्टले हात झिकेको छ । मनोज राठी र उज्वल पौडेलले अघिल्ला ए मेरो हजुरका सिक्वेललाई वितरण गरेका थिए । यसपटक मोफसल वितरणको जिम्मा केदारप्रसाद पराजुलीले सम्हालेका छन् ।

हिन्दी फिल्म वितरणमा अग्रणी मानिएको ब्यांकटेस इन्टरटेनमेन्टले सोही मितिमा केजीएफ र लालसिंह चड्डामध्ये कुनै एकलाई वितरण गर्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकाको वितरणको जिम्मा गोविन्द शाहीले लिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *