फेसबुकमार्फत ओटीटीको विचौलिया धन्दा, ‘पोर्न’ को समेत व्यापार (प्रमाणसहित) – Nepal Press
ओटीटीको लुट, सरकारको छुटः भाग २

फेसबुकमार्फत ओटीटीको विचौलिया धन्दा, ‘पोर्न’ को समेत व्यापार (प्रमाणसहित)

काठमाडौं । सूचना प्रविधिको व्यापकतासँगै अहिले नेपालीहरुको हातहातमा पुगेको छ मोबाइल । यो बहुउपयोगी यन्त्रलाई फोन गर्नेबाहेक अरु कुनै प्रयोजनमा सबैभन्दा बढी प्रयोग गरिन्छ भने त्यो फेसबुक चलाउनलाई नै हो ।

अहिले फेसबुकमा खाता नभएका नेपालीहरु कमै होलान् । सबैको पहुँचमा पुगेको यो प्रख्यात सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि त्यत्तिकै भइरहेको छ । नेपालमा ओटीटी प्लेटफर्मको अवैध धन्दामाथि निगरानीका क्रममा हामीले सुरु गरेको श्रृंखलाको दोस्रो भागमा फेसबुकतिर नजर लगाएका छौं ।

फेसबुकलाई हतियार बनाएर कसरी ओटीटी प्लेटफर्महरुको व्यवसाय विस्तार र प्रवर्द्धन भइरहेको छ त ?

तपाईं यदि नियमित फेसबुक चलाउनुहुन्छ भने बग्रेल्ती पेजहरुसँग ठोक्किनुभएको होला, जसमा नेटफ्लीक्सलगायतका ओटीटी प्लेटफर्महरुको ग्राहक बन्नका लागि विभिन्न अफरहरु गरिएको हुन्छ । प्रायले फोन नम्बरसमेत दिएका हुन्छन् । यस्ता धेरै पेजहरु डलर तिरेर स्पोन्सरसमेत गरिएको पाइन्छ । यसरी स्पोन्सर गरेवापतको पैसा पनि नेपालबाट विदेश नै जाने हो ।

नेपालमा ओटीटीमार्फत विदेशी श्रव्यदृष्य सामग्रीको प्रसारण गर्नु नै गैरकानूनी हो । तर, यसरी खुलेआम विज्ञापन गरेर विचौलियाहरुले उपभोक्तासँग पैसा असुल गरिरहँदा पनि सरकारी निकायहरु निद्रामा छन् वा निद्राको अभिनय गरिरहेका छन् ।

यी विचौलियाहरु कतै पनि दर्ता हुँदैनन् । न त सरकारलाई एक पैसा कर नै तिर्छन् । यिनीहरुको धन्दा हुण्डीमार्फत चलेको छ । इ–सेवा, खल्ती, आइएमई पेजस्ता पेमेन्ट गेटवेहरुको प्रयोग गरेर नेपालमा उपभोक्ताबाट पैसा उठाउने, अनि उठेको पैसामा आफ्नो कमिसन कटाएर हुण्डीमार्फत विदेशमा डलर पठाउने गरिन्छ ।

यस्ता अवैध पेजका केही उदाहरण हेरौंः

नेटफ्लीक्स एन्ड अमाजन प्राइम नेपाल नामक पेजबाट स्पोन्सर नै गरेर फेसबुकमा विज्ञापन हालिएको छ । विज्ञापन गरिएअनुसार यसले नेटफ्लीक्सका भिडियो कन्टेन्टहरु मासिक ३२५ रुपैयाँमा र ६ महिनाको १५ सय रुपैयाँमा बिक्री गर्छ । यस्तै अमाजोन प्राइमका भिडियोलाई मासिक ९९ रुपैयाँ र ६ महिनाको २९९ रुपैयाँ तिरेर हेर्न पाइन्छ भने स्पोटीफाइ नामक प्लेटफर्मका कन्टेन्ट हेर्न ६ महिनाको ६९९ वा वर्षको ११९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

प्रिमियर रिसेलर नेपाल नाममा खुलेको पेजबाट स्पोन्सर नै गरेर फेसबुकमा विज्ञापन गरिएको छ । यसमा धेरै प्रकारका अफरहरु छन् । यसले नेटफ्लीक्सका भिडियो ४१ दिनको ३९९ र ५५ दिनको ५४९ पर्ने बताएको छ । यस्तै, सोनीलिभ मासिक २४९ रुपैयाँ, स्पोटीफाइ वार्षिक १४४९ रुपैयाँ, अल्ट बालाजी वार्षिक ८९९ रुपैयाँमा उपलब्ध गराउने बताएको छ ।

यस्ता पेजहरु अनगिन्ती छन् । नेपाल डिजिटल सलुसन प्राइभेट लिमिटेड नाममा नेटफ्लीक्सको विज्ञापन गरिएको छ । जसमा दुईवटा अफर छन् । पहिलो ८१० रुपैयाँ प्रतिमहिना तिरेर सिंगल स्क्रिनमा हेर्न सकिने, दोस्रो प्रतिमहिना १६२० रुपैयाँ तिरेर डबल स्क्रिनमा हेर्न सकिने ।

प्रिमियम सब्सक्रिप्सन नेपालले पनि पेज स्पोन्सर  गरेर विज्ञापन हालेको छ । विज्ञापनमा उल्लेख गरिएअनुसार यसले नेटफ्लीक्स, डिज्ने प्लस, हटस्टार, जी ५, अल्ट बालाजी, स्पोटीफाइ लगायतका भिडियो कन्टेन्टहरु विभिन्न दरमा उपलब्ध गराउँछ ।

हाम्रो खाेजबिनका क्रममा यो तथ्य पनि फेला पर्यो कि नेपालमा ओटीटी प्लेटफर्मममार्फत विशुद्ध मनोरञ्जनात्मक सामग्रीहरु मात्रै आयात भइरहेका छैनन्, नेपालमा प्रतिवन्धित अश्लिल चलचित्रहरुको पनि बिक्री–वितरण भइरहेको छ । विज्ञापनमै अश्लील सामग्री उपलब्ध गराउने भन्दै त्यसको रेट पनि तोकिएको भेटियो ।

प्रिमियम सब्सक्रिसन नेपालले एडल्ट साइटहरु नेपालमा मासिक २४९ रुपैयाँमा उपलब्ध गराउने बताएको छ । (हेर्नुस् विज्ञापन)। यस्तै, प्रिमियर रिसेलर नेपालले पनि ठ्याक्कै त्यही दरमा एडल्ट साइट उपलब्ध गराउने बताएको छ । विज्ञापनमा एडल्ट साइटको अफर नगरेकाहरुले पनि यस्ता सामग्री उपलब्ध गराइरहेका छन् ।

ग्राहक बनेर एन २ डिजिटल नेपाल नामक ओटीटी प्लेटर्फमको कथित एजेन्टसँग कुरा गर्दा सबै प्रकारको भिडिओ हेर्न सकिने बताइयो ।
‘हिन्दी, मदरासी, तेलेगु, हलिउड सबै हेर्न पाइन्छ,’ आफ्नो नाम बताउन नचाहने वितरकले भने ।

पोर्न भिडिओ पनि हेर्न पाइन्छ ? भनी सोध्दा उत्तर आयो– ‘पाइन्छ । त्यसको लागि वार्षिक एक हजार ४ सय तिर्नुपर्छ ।’

नेपालमा ०७५ असोज ५ गते सरकारले पोर्न साइट बन्द गराएको थियो । सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटबाट पोर्नलगायत यौनजन्य सामग्रीको रोक्न निर्देशन दिएपछि नेपालमा यस्ता सामग्री इन्टरनेटमा खुल्दैनन् । मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अनुसार नेपालमा यौनजन्य सामग्रीको रोक लागेको हो । तर, निश्चित शुल्क लिएर ओटीटी प्लेटफर्मममा पोर्न सामग्री बेच्ने गरिएको खुलेको छ ।

कसरी हुन्छ कारोबार ?

नाम मात्रका कम्पनीहरुले गर्ने आर्थिक कारोबारको प्रक्रिया पनि वैध र पारदर्शी छैन । ग्राहकले कुनै प्याकेज लिन परेमा पेजमा गएर कमेन्ट गर्नुपर्छ । उताबाट जवाफ आइसकेछि इसेवा, खल्ती, आईएमई पेजस्ता वालेटबाट पैसा भुक्तानी गर्न सकिन्छ । यसरी उठाइएको पैसा उनीहरुले विदेश कसरी पठाउँछन् ? जवाफ कसैले दिँदैन ।

मेरो फिक्स नेपाल नामक ओटीटी कम्पनीसँग कुरा गर्दा उसले सामग्री खरिदका लागि पेजमा कमेन्ट गर्नुपर्ने बतायो । कमेन्ट गरिसकेपछि कुन प्याक लिने हो त्यसको शुल्क तिर्नुपर्ने जानकारी दिइयो ।

हामीले सोध्यौं, ‘नेपालमा ओटीटी त गैरकानूनी हो । तपाईंहरुले यस्तो व्यवसाय कहाँ दर्ता गर्नु भएको छ ? कर कहाँ बुझाउनु हुन्छ ?’

ती कम्पनीका सञ्चालक अलमलमा परे । उनले अहिले अडिटको समय भएकाले दर्ता गर्न नभ्याएको जवाफ दिए ।

‘अब केही समयपछि दर्ता हुन्छ, त्यसपछि कुनै कानूनी समस्या हुँदैन,’ उनले दाबी गरे । उनले घुमाउरो तवरले हुण्डीमार्फत विदेशमा पैसा पठाइने गरिएको स्वीकार गरे ।

फोन उठाउने व्यक्तिले नाम नबताइकन भने, ‘विदेशमा दाइहरु हुनुहुन्छ, उहाँहरुले एकाउन्ट लिएर हामीलाई दिने हो ।’

यता उठाएको पैसा कसरी विदेश पठाउनुहुन्छ त भन्ने प्रश्नमा उनले जवाफ दिन चाहेनन्  । आफूले यस्तो कामबाट महिनामा ८–१० हजार मात्रै कमाउने गरेको ती व्यक्तिले बताए ।

‘हामीसँग धेरै ग्राहक छैनन् । मैले खासमा अन्तै काम गर्छु । फुर्सदको समयमा मात्रै यता गर्ने हो,’ उनले भने ।

हामीले महिनामा ८ देखि १० हजार रुपैयाँ मात्रै कमाउने गरेका छौं । हामीसँग धेरै ग्राहक छैनन् । मैले अन्तै कम गर्छु । यो फुर्सदको समयमा मात्रै गर्ने हो ।’

अर्को भिडियो कन्टेन्ट बिक्री गर्ने कम्पनी स्न्यापअफ नेपाल सर्पोटलाई फोन गर्दा पनि आफ्नो पेजमा गएर कमेन्ट गरेपछि त्यहाँबाट कुराकानी हुने बतायो । कुन प्याक लिने हो, त्यहीअनुसार पैसा तिरेपछि कम्पनीले युजर नेम र पासवर्ड दिने बताइयो । भिडिओ कन्टेन्ट बेचेको पैसा विदेशमा कसरी पठाउनुहुन्छ भन्ने प्रश्नको जवाफ आएन ।

किन अवैध ?

नेटफ्लीक्स, अमाजन प्राइम, सोनी लिभ, अल्टबालाजी, जि ५, भुट, स्पोटीफाइ जस्ता दर्जनौं ओटीटी प्लेटफर्महरुले अवैधरुपले नेपालमा आफ्नो व्यवसाय विस्तार गरिरहेका छन् । यी प्लेटफर्महरु नेपालमा कतै पनि दर्ता छैनन् र कार्यालय पनि खोलेका छैनन् । न त यी कम्पनीका कथित एजेन्टहरुले नै कतैबाट अनुमति लिएका छन् ।

विदेशी चलचित्र र च्यानलका टेलिभिजन कार्यक्रमहरु यी प्लेटफर्महरुमार्फत नेपालीका घर–घरमा पुगिरहेका छन् । जबकि नेपालको प्रसारण ऐनअनुसार विदेशी टेलिभिजन कार्यक्रम प्रशारण गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट लाइसेन्स लिनुपर्ने हुन्छ । नियमित ट्याक्स तिर्नुपर्ने हुन्छ । तर, यस्ता ओटीटी प्लटेफर्मले यस्तो कुनै पनि कानून पालना गरेका छैनन् ।

खासमा नेपालमा ओटीटी प्लेटफर्ममार्फत विदेशी श्रव्यदृष्य सामग्रीको खरिद बिक्री गर्न कुनै कानूनले अनुमति नै दिएको छैन । अनुमति नदिएको कुरा गर्नु स्वतः अवैध भइहाले । दोस्रो नेपालबाट विदेशमा हुण्डीमार्फत पैसा पठाउन पाइँदैन । तर, नेपालका एजेन्टहरुले विदेश पैसा पठाउन हुण्डीबाहेक अर्को विकल्प छैन । तेस्रो, नेपालमा पोर्न साइटहरु अवैध गरिएको छ । तर, यस्ता एजेन्टहरुले खुलेआम पोर्न साइटको विज्ञापन गरेर बिक्री वितरण गरिरहेका छन् ।

एकसाथ अनेक कानूनको उल्लंघन भइरहँदा जिम्मेवार निकायहरु मौन छन् । यो विषय आधारभूतरुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीअन्तरगत पर्छ । अवैधरुपमा भइरहेको भुक्तानीमा नेपाल राष्ट्र बैंक पनि जोडिन्छ । तर, यी दुवै सरकारी निकायको मौनता सन्देशहास्पद छ । अनौपचारिक कुराकानीमा अधिकारीहरु नेपालमा यसप्रकारको अवैध क्रियाकलाप भइरहेको र ठूलो परिमाणमा पैसा विदेशिएको स्वीकार गर्छन् । तर, त्यसलाई रोक्न कुनै तदारुकता देखाउँदैनन् ।

नेपाल प्रेसले ओटीटी प्लेटफर्मले नेपालको राष्ट्रिय ढुकुटीमा वार्षिक एक अर्ब ३० करोड रुपैयाँ नोक्सानी पुर्‍याइरहेको तथ्य उजागर गरेको थियो ।

यो पनि पढ्नुस् : 

ओटीटीको लुट, सरकारको छुट भाग १- देशको ढुकुटी रित्याउने खेल ! नेटफ्लिक्सहरूले लग्दैछन् बर्सेनि सात अर्ब


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *