बढ्दै कोरोना संक्रमण, सिके राउत शक्ति प्रदर्शनमा – Nepal Press

बढ्दै कोरोना संक्रमण, सिके राउत शक्ति प्रदर्शनमा

प्रशासनको मौन समर्थन

जनकपुरधाम । दैनिक २ लाखको हाराहरीमा कोरोना संक्रमित थपिन्छन् भारतमा । उही भारतसँग प्रदेश २ का आठै जिल्ला जोडिएको छ ।

सबै नाका खुल्ला छन् । त्यसैले निर्वाध रुपमा मानिसहरु आवतजावत गर्दा प्रदेश २ कोरोनाको उच्च जोखिममा छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार माघ २५ मा यस प्रदेशभर २५ जना मात्र संक्रमित भेटिएका थिए । तर मात्र तीन दिनपछि पुस २८ मा संक्रमित हुनेको संख्या ७९ पुग्यो । यो सरकारी तथ्यांक हो । कतिपय संक्रमित त घरमै होम आइसोलेसनमा बसेका छन्, उनीहरुको संख्या तथ्यांकमा छैन । जे होस्, सरकारी तथ्यांकले पनि संक्रमण दर उच्च रहेको देखाएको छ ।

तर संक्रमण रोक्न प्रदेशमा सरकारी अधिकारीले पनि चासो देखाइरहेका छैन । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीसहितलाई संक्रमण रोक्न २५ जनाभन्दा बढी भेला हुन नदिन निर्देशन दिएको छ । तर भीडभाड नियन्त्रण गर्नमा अधिकारीहरु गम्भीर देखिएका छैन । यतिसम्म कि मानिसहरु मास्कको समेत प्रयोग नगर्ने जस्ता गम्भीर लापरबाही गरिरहेका छन् ।

एकतीर कोरोनाले त्रास देखिएको छ । तर पनि मानिसहरु सतर्कता अपनाइरहेका छैन । भेला, प्रदर्शन र अधिवेशनको नाममा राजनीतिक दलहरुले पनि भीडभाड गर्न छाडेका छैन ।

किसानको मुद्दा बोकेर आन्दोलनरत जनमत पार्टी भोली मधेसका सबै जिल्लामा ‘किसान महार्याली’ गर्ने घोषणा गरेको छ । जुन महार्यालीमा हजारौं लाखौंलाई उतारेर सरकारलाई शक्ति देखाउने उक्त पार्टीका अध्यक्ष डा. सीके राउतको योजना छ ।

उनी सिरहा सदरमुकाममा हुने किसान महार्‍यालीमा सहभागी हुने भनिएको छ । यो महार्‍यालीमा अनिवार्य रुपमा सहभागी हुन कार्यकर्ता र नेतालाई जनमत पार्टीले निर्देशन जारी गरेको हो । साथै किसानलाई सहभागी हुन व्यापक प्रचारप्रसार गरिएको छ । महार्यालीमा लाखौं किसान सहभागी हुने जनमत पार्टीका नेताले दावी गरेका छन् ।

जनमतको किसान आन्दोलनले संक्रमण फैलिने जोखिम बढाएको छ । किसान आन्दोलनको नाममा लाखौं मानिस उतार्ने महार्‍याली रोक्नुको सट्टा सरकारी अधिकारीको मौन समर्थन छ । महार्‍याली रोक्ने कि नरोक्ने विषयमा धनुषा र सिरहाका प्रमुख जिल्ला अधिकारी केहि बोल्न मानेनन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले कोभिड फैलिन लागेको छ भनेर जनमत पार्टीका नेताहरुलाई भेला नगर्न सम्झाउनुपर्ने बताए । जनमत पार्टीले त महार्यालीको घोषणा गरिसकेको छ तपाईहरु रोक्नुहुन्छ कि भन्ने जिज्ञासामा उनले भने, ‘यो विषयमा अहिले केहि भन्न सक्दिनँ । भोलीको कुरा भोली गरौैंला ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोरोना संक्रमणको विषयमा कुरा गर्न हिचकिचाए । भने, ‘म अलि ब्यस्त छु । सहायक प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्नुस् न ।’
सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार कर्णले शान्ति सुरक्षासँग जोडिएको र आन्तरिक कुरा बाहिर फ्लास गर्न नहुने बताए । उनले भने, ‘सुरक्षा व्यवस्था मिलाएका छौं । तर जनमत पार्टीलाई कार्यक्रम गर्न नदिने कि नदिने कुरा सिडिओ साहेबसँगै सोध्नुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर