रेल्वेमा गुपचुप कर्मचारी नियुक्त गरिएपछि प्रदर्शन, प्रशासनलाई सात दिने अल्टिमेटम – Nepal Press

रेल्वेमा गुपचुप कर्मचारी नियुक्त गरिएपछि प्रदर्शन, प्रशासनलाई सात दिने अल्टिमेटम

जनकपुरधाम । जनकपुर – जयनगर रेल सञ्चालनका लागि गुपचुप कर्मचारी भर्ना गरिएपछि विरोध प्रदर्शन सुरु भएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले गुपचुप ६० जना कर्मचारी भर्ना गरेर तालिम सञ्चालन गरेपछि विगतमा हटाइएका कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

हटाइएका कर्मचारीहरुले आज धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै प्रक्रिया पुरा नगरी रेल्वेका महाप्रबन्धक झाले कर्मचारी नियुक्त गरेको भन्दै सञ्चालन गरिरहेको तालिम रोक्न माग गरे ।

तालिम रोकेर भर्ना गरिएका कर्मचारीलाई सात दिनभित्र नहटाए चरणवद्ध आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्र मार्फत दिइएको छ ।

उक्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय सिंहदरबार, गृहमन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय र रेल्वे विभागलाई बोदार्थ गरी पठाइएको छ ।
ज्ञापनपत्रमा हटाइएका कर्मचारीको तर्फबाट अजय कुमार गोइत, इन्द्रजीत गोइत, सतिश साह र चन्दन साहको हस्ताक्षर छ ।

ज्ञापनपत्र बुझाएर उनीहरु नयाँ कर्मचारीलाई तालिम दिइरहेको जनकपुरको मतस्य तालिम केन्द्र पुगेर नाराबाजी गरिरहेका छन् । उनीहरु बुधवार पनि महाप्रबन्धक झाको राजीनामा माग्दै तालिमस्थलमा प्रदर्शन गरेका थिए ।

आन्दोलन सुरु भएपछि महाप्रबन्धक झा सम्पर्क विहिन छन् । उनको मोवाइल आज समेत मोबाइल अफ गरिएको छ ।

गैरकानूनी ढंगबाट महाप्रबन्धक झाले आफ्ना कार्यकर्ता र नातेदारलाई रेल्वे कम्पनीमा भर्ना गरेकोले लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत ज्ञापनपत्र बुझाउने उनीहरुले बताएका छन् ।

हटाइएका कर्मचारीमध्येका इन्द्रजीत गोइतले विगतमा करोडौं रुपैयाँ खर्चेर तालिम पाएर काम गरिरहेका आफूहरुलाई हटाएको र अहिले आफ्ना आसेपासेलाई गैरकानूनी ढंगले कर्मचारी नियुक्त गरी राज्यकोषको दुरुपयोग गर्न लागेकाले अख्तियारमा समेत उजुरी दर्ता गराउने बताए ।

महाप्रबन्धकमा नियुक्त भएलगत्तै झाले पूर्व महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा नियुक्त गरेर तालिम दिइसकेका १५१ कर्मचारीलाई हटाएका थिए ।

विगतमा तालिममै एक करोडभन्दा बढी खर्च रेल्वे कम्पनीले गरेको थियो । तर माधव कुमार नेपालको कोटामा महाप्रबन्धक नियुक्त भएका झाले रेल सञ्चालनको टुंगो नलाग्दै कर्मचारी नियुक्त गरेको बहाना बनाएर उनीहरुलाई हटाएका थिए ।

अहिले पनि रेल सञ्चालनको टुंगो लागेका छैन । तर विगतमा जस्तै गैरकानूनी तरिकाले महाप्रबन्धक झा ६० कर्मचारीलाई नियुक्त गरेर पुनः तालिमका नाममा लाखौं रकम खर्चिन लागेका छन् । आसपासेलाई कर्मचारी बनाउने मोहले जनकपुर– जयनगर रेल भर्ती केन्द्र र कमाइखाने भाँडो बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर