सुनचाँदी, रत्न तथा आभूषणको जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न गृहमन्त्रीको निर्देशन – Nepal Press

सुनचाँदी, रत्न तथा आभूषणको जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी रत्न तथा आभूषणको जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

सुनचाँदी रत्न तथा आभूषण महासंघसँग सम्बन्धी सरकारी निकायका उच्च पदस्थ अधिकारीहरूसँगको छलफलमा व्यवसायीहरूले कार्यविधिका कारण काम गर्न अप्ठ्यारो भएको बताएका थिए ।

गृहमन्त्री खाणले मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौललाई कार्यविधि परिमार्जनमा समन्वयकारी भूमिका निभाउन निर्देशनसमेत दिए । खाणले भने, ‘कार्यविधिसँग सरोकार हुने अर्थ, उद्योग र वाणिज्य मन्त्रालयसँग समन्वय गरेर कार्यविधि परिमार्जन गर्ने समन्वयकारी भूमिका मन्त्रालयका सहसचिव मुकुन्द निरौलाले गर्नुहुन्छ । यही कार्यक्रममा उहाँलाई निर्देशन दिन्छु ।’

मन्त्री खाणले समय र परिस्थिति अनुसार कानून परिमार्जन गर्दै जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष मणिकरत्न शाक्य, मणिरत्न शाक्य, रामकुमार विश्वकर्मालगायतका व्यवसायीले आफूहरूले गहना बनाउन पर्याप्त मात्रामा सुनचाँदी नपाएकोले आपूर्ति प्रणालीलाई नियमित बनाउनु पर्ने, सुनचाँदी व्यवसायलाई निर्यातमूलक व्यवसायको रुपमा रुपान्तरण गर्नुपर्ने, थप भन्सारको व्यवस्था गरेर भए पनि पर्याप्त मात्रामा सुन पाइने व्यवस्था गर्नुपर्ने, सुरक्षा निकायले आफूहरूलाई गहना बनाउन एक स्थानबाट अर्को स्थानमा सुन लैजाँदा समस्या पार्ने गरेको भन्दै सहज बनाउने व्यवस्था गर्न माग गरे ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका एआईजीपी रामशरण पौडेल, आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल, भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले व्यवसायिका जिज्ञासा समाधान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर