राप्रपामा कसैलाई विभेद हुँदैन, समावेशिता पालना गरिन्छः लिङ्देन – Nepal Press

राप्रपामा कसैलाई विभेद हुँदैन, समावेशिता पालना गरिन्छः लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका मनोनीत सदस्यहरूलाई सपथ गराउँदै अध्यक्ष लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनु नपर्ने र सबैलाई समेटेर अघि बढ्ने दाबी गरे ।

‘हाम्रो मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन हो,’ लिङ्देनले भने, ‘सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन सक्दैन ।’

लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गर्दा अनुभवी, पार्टीको लागि आवश्यक, पार्टीमा योगदान दिएका व्यक्तिलाई मनोनयन गरिएको बताए । मनोनीतको संख्या अझै बाँकी रहेको र संविधानले व्यवस्था गरेबमोजिमको समानुपातिक समावेशितालाई पूर्णरुपले पालना गरिने उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार केही दिनअघि ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए । राप्रपाको विधान अनुसार १९९ जनाको कार्यसमिति हुने र त्यसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेको छ भने ५० जना अध्यक्षले मनोनीत गर्न पाउँनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर