जलनपीडित बालबालिकाको उपचारमा निजी क्षेत्रको अहिलेसम्मकै ठूलो सहयोग, पाल्पा सिमेन्टले दियो ६० लाख – Nepal Press

जलनपीडित बालबालिकाको उपचारमा निजी क्षेत्रको अहिलेसम्मकै ठूलो सहयोग, पाल्पा सिमेन्टले दियो ६० लाख

काठमाडौं । जलन पीडित बालबालिकाको उपचारका लागि निजी क्षेत्रबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग हुने भएको छ । पाल्पा सिमेन्ट प्रा.लि.ले जलन पीडित बालबालिकाको उपचारका लागि ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्टले वार्षिक ६० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । निजी क्षेत्रबाट जलन पीडितको उपचारका लागि यति ठूलो सहयोग सम्भवतः पहिलो पटक हो ।

सुष्मा कोइराला मेमोरियल अस्पताल नेपालकै पहिलो जलन उपचार हुने अस्पताल हो । २५ वर्षअघि स्थापित सो अस्पतालमा उपचार गराउने जलन पीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टले सहयोग गरेको हो ।

सहयोगसम्वन्धी सम्झौतामा सिमेन्टको तर्फबाट पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकहरु राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवाल तथा अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा। सन्तोष भण्डारी र सामाजिक अभियन्ता उज्वलविक्रम थापाले हस्ताक्षर गरेका छन् ।

अस्पतालमा आयोजित एक समारोहबीच सहयोगसम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सहयोगसम्वन्धी सम्झौतामा विभिन्न प्रकारको जलनबाट हुने पीडित १८ वर्षमुनिका बालबालिकाको अस्पतालले निःशुल्क उपचार गराउने उल्लेख छ । साथै, सिमेन्ट कम्पनीको तर्फबाट वार्षिक ६० लाख रुपैयाँ उपलव्ध गराउने छ ।

सामाजिक अभियन्ता उज्वल विक्रम थापाको पहलका कारण सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कम्पनीले जलन पीडितका लागि निःशुल्क उपचार गराउन सहयोग गरिएको पाल्पा सिमेन्टका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बताए ।

सो अवसरमा मेडिकल डाइरेक्टर भण्डारीले जलनबाट पीडितको उपचारका लागि कम्पनीको तर्फबाट सहयोग प्राप्त भएकोमा विशेष धन्यवाद दिएका थिए । उनले जलन पीडितहरु अधिकांश गरिब र असहाय हुने भएकाले सो सहयोगबाट महत्वपूर्ण सघाउ पुग्ने बताए ।

सामाजिक अभियन्ता थापाले जलन पीडितको उपचारका लागि पाल्पा सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सहयोगले महत्वपूर्ण सेवा पुग्ने बताए ।

विभिन्न प्रकारका जलनबाट नेपालमा मात्र वार्षिक ५० हजार पीडित हुने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर