सुदूरपश्चिममा ह्वात्तै बढे कोरोना संक्रमित, समुदायमा फैलने खतरा – Nepal Press

सुदूरपश्चिममा ह्वात्तै बढे कोरोना संक्रमित, समुदायमा फैलने खतरा

कैलाली । पछिल्लो केही दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । सेती प्रादेशिक अस्पतालमा बुधवार गरिएको परीक्षणमा सबै भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार बुधवार मात्रै १०५ जनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको थियो । जुन मंगलबार भन्दा धेरै हो । मंगलबार ७६ जनाको परीक्षण्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

‘हिजोबाट एक्कसी कोरोना संक्रमितहरूको सङ्ख्या एक्कासि बढेको छ’ सूचना अधिकारी श्रेष्ठले भने ‘आज चार महिनामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।’

अहिले कैलालीमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या मात्रै बढेको छैन । अस्पतालमा भर्ना हुने हरुको सङ्ख्या पनि बढेको छ । आज मात्रै ८ जना कोरोना सङ्क्रमित सेती अस्पताल भर्ना भएका छन् ।

उनले भने, ‘हिजो सम्म ७ जना भर्ना थिए । एकै दिन आज ८ जना भर्ना भएका छन् ।’

उनले दुई जना डिस्चार्ज भएको बताए । अस्पतालमा उपचार गराइरहेका मध्ये तीन जना आइसियुमा रहेका छन् । १० जनालाई अक्सिजन सपोर्टमा राखिएको छ ।

तेस्रो लहरको कोरोना फैलन सक्ने भन्दै तयारी समेत भइरहेको उनले बताए ।

सीमा सयौं भेटिन थाले सङ्क्रमित

भारतबाट आउनेहरूमा दैनिक कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । गौरिफन्टा नामा र गड्डा चौकी नाकामा दैनिक करिब एक सयको हाराहारीमा सङ्क्रमितहरू भेटिन थालेका छन् ।

‘दैनिक चार सय सम्मको एन्टिजेन परीक्षण भइरहेको छ। त्यसमा करिब ८० जना सम्ममा कोरोना देखिएको छ’ सीमा सञ्चालन भइरहेको हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

पुस महिनाबाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेको उनले बताए । उनका अनुसार बेंलोर, ,दिल्ली महाराष्ट्र लगायत ठाउँबाट आउनेहरूमा बढी संक्रमण देखिएको छ ।

समुदायमा फैलने खतरा

दैनिक कोरोना सङ्क्रमितहरू भेटिए पनि उनीहरूलाई आइसोलेसनमा राख्न सकिएको छैन । जसले गर्दा समुदायमा कोरोना संक्रमण फैलन सक्ने देखिएको छ ।

उनले भने, ‘बालबालिकासहित आएकाहरू यहाँ परीक्षण गराएर घर जाने गरेका छन् । सङ्क्रमितहरू घर जाने गरेको हुँदा गाउँ सम्मै संक्रमण फैलिन सक्छ ।’

जनप्रतिनिधहरुको समन्वयमा उनीहरू घर जाने गरेको बताए ।

कोरोना सङ्क्रमितहरूको उचित व्यवस्थापन हुन नसक्दा धनगढीमै पनि सङ्क्रमितहरू बढिरहेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

‘समुदाय भित्रका नागरिकहरूमा संक्रमण देखिएको छ’स्वास्थ्य शाखाका लक्ष्मीराज उपाध्यायले भने, ‘उनीहरू मध्ये काठमाडौँबाट आएकाहरू छन् । ’

ट्राभल हिस्ट्री समेत नभएका केही व्यक्तिमा संक्रमण देखिएको उनले बताए । उनले अहिले सम्म कोरोना समुदायमा फैलिनसकेको भए पनि यस्तै लापरबाही भए अवस्था जटिल हुन सक्ने बताए ।

के ओमिक्रोन आएको हो ?

दैनिक रूपमा यहाँ कोरोना संक्रमण फैलिएको पुष्टि भए पनि अहिले सम्म यहाँ ओमिक्रोन नभएको दाबी गरिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकाले तीन पटक सम्म भेरियन्ट पुष्टि गर्न स्वाब काठमाडौँ पठाएको भए पनि अझै नयाँ भेरियन्टको विषयमा पुष्टि भएको छैन ।

पहिलो चरणमा १३ जनाको स्वाब पठाउँदा उनीहरूमा ओमिक्रोन नभएको पुष्टि भए पनि दोस्रो र तेस्रो चरणमा पठाइएको स्वाबको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राम प्रसाद ओझाले जानकारी दिए ।

‘पहिलो चरणमा पठाएको १३ वटामा ओमिक्रोन नभएको पुष्टि भयो’ उनले भने, ‘त्यसपछि ५ वटा र १४६ जनाको कुन भेरियन्ट हो भन्ने बारे छैन तथ्य आइको छैन ।’

पठाएका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जाँचको क्रममा रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *