८ जनाको हत्या आरोपी खानलाई कपिलवस्तु जिल्ला अदालतबाट सफाइ – Nepal Press

८ जनाको हत्या आरोपी खानलाई कपिलवस्तु जिल्ला अदालतबाट सफाइ

पीडितले उच्च अदालतमा पुनरावेदन गर्ने

रुपन्देही । ८ जनाको हत्या अभियोग लागेका कपिलवस्तुका नसिम खान (बादशाह)लाई जिल्ला अदालत कपिलवस्तुले सफाई दिएपछि पीडितले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् ।

जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाई दिएपछि जिल्ला अदालतको न्यायसम्पादनमाथि पीडित पक्षले प्रश्न उठाएका छन् ।

खानलगायत सबै आरोपीलाई सफाइ दिइएपछि प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, राजेन्द्र तिवारी, शिवपुजन कुर्मी, आयान खान, राममिलन गुप्ता, अलैचा बढइकी ४ वर्षीय वालिकाको हत्या प्रकरणमा कसको संग्लग्नता थियो भन्ने अर्को प्रश्न पनि उब्जिएको छ । कुनै समय प्रहरीको सर्वाधिक खोजी (मस्ट वान्टेट) सूचीमा रहेका नसिमलाई अदालतले वेकसुर सावित गरेपछि आक्रोशित पीडितहरु उच्च अदालत जाने तयारीमा रहेको बताएका छन् ।

न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले सोमबार अभियोग दावी नपुगेको भन्दै आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र दुईवटा डाँका मुद्दाका आरोपित खानलाई सफाइ दिएको हो । यसअघि नै नसिमसहित घटनामा संलग्नलाई रिहा गर्न राजनीतिक र आर्थिक चलखेल भइरहेको आरोप पीडित परिवारले लगाउँदै आएका थिए ।

जसका कारण केही समय सेलाएको मुद्दा एकाएक पेसीमा चढेको थियो । अदालतमा मुद्दाको जिम्मेवारी गोलाप्रथाबाटै लाग्ने भएपछि हतारहतार पेसी चढेको पीडितहरुको आरोपलाई अदालतको फैसलाले बल पुगेको छ । आदेशमा अभियोग नपुगेको भनिए पनि पूर्णपाठ आइसकेको छैन ।

मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण नसिम खानलाई निर्दोष सावित गरिएको दावी गरे । उनले सबै चलखेलबाट यथेष्ट प्रमाणहरु हँुदा पनि न्यायलय पीडकको पक्षमा जानु निकै दुःखद भएको बताए । ‘फैसला आउनुपूर्व नै घटनामा प्रत्यक्ष संलग्नहरुलाई छाड्ने हल्ला सुनेका हौं, त्यहीअनुसार नै फैसला भएको छ, हामी माथिल्लो अदालतमा जान्छौं,’ उनले भने ।

अर्का मृतक राजेन्द्र तिवारीका भाइ सुरेन्द्र तिवारीले न्यायलयबाट यो हदसम्मको पक्षपात विश्वासै गर्न नसकिएको बताए । नेपाल प्रेससँग कुरा गर्दै तिवारीले भने– ‘ठूलो आर्थिक चलखेलमा न्याय मर्ने भयो, पीडित परिवारका सबै प्रमाण मेटाएर भएका फैसलाले जिल्ला अदालतको गरिमा हरायो, विश्वास हरायो ।’

‘एक दुई घटनामा भए त उनको प्रमाण पुगेन भन्न सकिन्थ्यो होला, यति धेरै जघन्य अपराधमा प्रमाणसहित अदालतमा पेश भएको विषयमा पीडिकले सफाई पाउनु दुर्भाग्य हो,’ कपिलवस्तुका स्थानीय तथा नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरी भन्छन्, ‘यसलाई गम्भीर विषयका रुपमा हामीले उठान गर्नुपर्छ, यो घटना समान्य हुँदै होइन । एक मुद्दामा करोडमाथि चलखेल हुनु, पीडित सडकमा रुँदै हिंड्नु विषयलाई गम्भीर अनुसन्धानको विषय बनाइनुपर्छ ।’

कुन-कुन घटनामा जोडिएका छन् नसिम ?

माओवादी सशस्त्र संर्घषका क्रममा तत्कालीन शाही सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका मुख्य नाइके नसिमले त्यसबेलै थुप्रै माओवादी कार्यकर्ताको हत्या गरेको आरोप लागेको थियो ।

चारजना माओवादी कार्यकर्ता, दुई जना बालबालिका र एक जना कर्मचारीको हत्या आरोपित नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ वर्षअघि काठमाडौंबाट पक्राउ गरेको हो ।

२०६२/६३ को जनआन्दोलनपछि जनतान्त्रिक तराई मुक्ति मोर्चा भन्ने भूमिगत समूहमा आबद्ध भएका उनी त्यसलगत्तै हत्या, अपहरण, लुटपाटलगायतका घटनामा संलग्न भएको अदालतमा पेश गरिएका प्रतिवेदनहरूमा उल्लेख छ ।

राजनीतिमा पनि उनले एकपछि अर्को सफलता हात परे । २०७२ सालमा एमालेको सदस्यता लिएका खानले २०७४ मै श्रीमती फौजिया खानलाई एमालेबाटै समानुपातिक सूचीबाट प्रदेश सांसद बनाए । कपिलवस्तुको सीमा पारीको भारतीय भूमि प्रयोग गरी नेपालमा आपराधिक गतिविधि गर्दै उनले चन्दा आतंक, हतियार बेचबिखन, अपहरण तथा कनट्र्याक्ट किलरसम्मका काम गर्ने गरेको प्रहरीको दावी छ ।

नसिमले २०६३ साल फागुनमा माओवादीका जिल्ला सदस्य प्रेम परियार (भुवन) को गोली हानी हत्या गरेको, उनकै समूहले २०६३ फागुन १ गते इलैचा बरईको फुलिकास्थित घरमा आक्रमण गरी उनकी ४ वर्षीया छोरीको हत्या र लुटपाट गरेको जाहेरी अदालतमा पुगेको थियो ।

उनकै नेतृत्वमा २०६४ मंसिर २५ गते तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरञ्जन पौडेलको अपहरण गरी करिब ४ लाख रुपैयाँ फिरौती लिएर ८ दिन पछि छाडेको तथा चन्दा दिन नमानेको भन्दै तत्कालीन गाविस सचिव राममिलन गुप्तालाई नसिम र उनका सहयोगी श्रवण मुराउले २०६५ साल भदौमा पिपरा गाविसमै गोली हानी हत्या गरेको मुद्दा पनि अदालतमा पुगेको थियो ।

नसिमको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमानलाई हानेको गोली स्थानीय सर्वसाधारण अकाली कोहारलाई लागेर उनको मृत्यु भएको थियो ।

२०६७ वैशाख १३ गते फुलिकाका माओवादी युवा नेता राजेन्द्र तिवारीलाई पिपरा गाविसमै गोली हानी हत्या गरिएको र यसमा पनि खानकै मुख्य हात रहेको अभियोग पत्रमा उल्लेख छ ।

तिवारीको हत्या प्रकरण पछि खानलाई पक्राउ गर्न प्रहरीलाई ठूलो दबाब आएको थियो । जेलबाट भागेका श्रवण मुराउ र खानको खोजी तीव्र पारेपछि प्रहरीले भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिए पनि खान भने बच्न सफल भए ।

नसिमको समूहले नै पुनः कपिलवस्तुकै पुरुषोत्तमपुर ५ मा रहेको शिवम क्रेसरका मजदुर ज्ञानबहादुर सुनारलाई २०६७ अषाढ २३ गते गोली हानी हत्या गरे । सुनारको हत्या आफ्नो समूहले गरेको नसिमले विज्ञप्ति नै निकालेर बताएका थिए ।

२०७५ फागुन ४ गते उनले मायादेवी गाउँपालिका–४ का वडा अध्यक्ष फत्ते मोहम्मदका ४ वर्षीय छोरा अयमानको अपहरण गरी ८ गते हत्या गरेको अभियोगमा पनि मुद्दा अदालतमा थियो । कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा हत्याका ६ वटा र एउटा डाँका मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर