रुपन्देहीमा मेला-महोत्सव स्थगित, संक्रमितले भरिन थाले अस्पताल – Nepal Press

रुपन्देहीमा मेला-महोत्सव स्थगित, संक्रमितले भरिन थाले अस्पताल

रुपन्देही । कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीका पूर्वघोषित गरेर तयारी अवस्थामा रहेका मेला महोत्सव स्थगित भएका छन् ।

सबै भेला महोत्सव भइरहेकाले मेला महोत्सव सञ्चालन गर्न पाइनेमा व्यवसायिक संघसंस्थाहरु ढुक्क रहेर तयारी गरेका थिए । केही समय अगाडि भएका मेलामा उत्साहजनक सहभागिता भएकाले पनि पछिल्ला मेलाहरु आयोजना गर्न व्यवसायीहरु सकृय भएर लागेका थिए ।

तर संक्रमणको जोखिम पुनः बढेसँगै सरकारले भौतिक रूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाएसँगै सबै तयारी पूरा भएका मेला महोत्सव स्थगित भएका हुन् ।

तिलोत्तमामा माघ १४ गतेदेखि व्यापार मेला आयोजना गर्ने तयारी रहेको थियो भने सैनामैना, देवदह र भैरहवालगायतका स्थानमा पनि मेला महोत्सव सञ्चालन गर्न व्यवसायी संघसंस्थाले तयारी गरिसकेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सरकारले गरेको निर्णयको सबैले पालना गर्नुपर्ने बताउँदै कोरोना संक्रमण बढिरहेको बेला मेलामहोत्सव आयोजना गर्दा झन् जोखिम हुने भएकाले गर्न नहुने बताए । संघीय सरकारले भिडभाड कार्यक्रम गर्न रोक लगाएकाले रुपन्देहीमा पूर्व घोषित सबै मेला महोत्सव सञ्चालन गर्नका लागि जिल्ला प्रशासनले रोक लगाउने उनको भनाइ छ ।

भारतबाट आउने ठूलो नाका बेलहियामा कोरोना संक्रमणको धेरै देखिएकाले रुपन्देहीका सीमानाकामा परीक्षणको दायरा बढाउने उनले बताएका छन् । बुधबार जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठक बस्ने र जिल्लामा कोरोना संक्रमणको दर बढ्न नदिन सबै संमन्त्र अबलम्बन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

पछिल्लो एकसातायता बेलहिया नाकाबाट नेपाल आउनेहरुमा संक्रमण बढेको छ भने जिल्लाभित्र रहेका कोरोना विशेष अस्पतालहरुमा पनि बिरामीको भीड बढ्दै गएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टर नन्दु पाठकले आइसियुमा बिरामीको संख्या बढ्दे गएपनि बजारमा सर्तकता बढी नदेखिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

अस्पताल भरिन लागिसक्यो, बजारमा समान्य सर्तकता पनि हराउँदै गएको छ, सबै दोष सरकार र अस्पताललाई लगाएर पनि हुँदैन, नागरिकले गर्नसक्ने सर्तकर्ता त पूरा गर्नुपर्यो नि– उनले कोरोनालाई सामान्यरुपमा नलिन आग्रह गर्दै भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर