एकता दिवसका अवसरमा राप्तीमा सरसफाइ – Nepal Press

एकता दिवसका अवसरमा राप्तीमा सरसफाइ

चितवन । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर मेघौलीको राप्ती टाइगरटप्स देखि गोलाघाटसम्मको नदि किनार सरसफाइ गरिएको छ । खडक दल गण (घ) गुल्म मेघौलीको आयोजना तथा भिम्ले रेञ्जरपोष्टको सहआयोजनामा सरसफाइ गरिएको हो ।

करिब ४ घण्टा लगाएर सरसफाई गरिएको हो । मेघौलीका गुल्मपति सेनानी चुडामणी पौडेलले करिब ३ ट्याक्टर प्लास्टिक तथा सिसाजन्य फोहर संकलन भएको बताए ।

बाढीले बगाएर ल्याएका फोहर नदी बगरमा छरपस्ट भेटिएका थिए । सरसफाइ कार्यक्रममा मेघौली उपभोक्ता समिति, चितवन गाइड एशोसियसन मेघौली घट्गाई उपसमिति, भुपु सैनिक संघ भरतपुर (२६, २७, २८) नेपाल टाइगर ट्रष्ट, केयर फर नेचर, मेघौली सराई, सारङ्गा वाइल्ड लाइफ, बाराही, चितवन बेम्बो लज, क्लिनिक नेपाल लगायतका संघसंस्था सरसफाइमा खटिएका थिए ।

करिब ५ किमि नदी किनार सफाई गरिएको हो । गाइड एशोसियसन उपसमिति अध्यक्ष मनिष लिम्बुले नदी किनारमा पर्यटक घुमफिर गर्न रुचाउने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको नदि किनारमा घडियाल गोही, गैडा, साइवेरियन चरा लगायतका वन्यजन्तु तथा चराहरु सजिलै अवलोकन गर्न सकिन्छ ।

‘नदि किनारमा पर्यटक रमाउँछन्, तर फोहरका थुप्रोले धेरैलाई असन्तुष्टि बनाउँछ’, उनी भन्छन्, ‘नदिले बगाएर ल्याउने नकुहिने फोहरलाई वर्षमा कम्तिमा २ पटक सरसफाइ गर्ने अभियान चलाएर पर्यावरण जोगाउनुपर्छ।’

मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बगरको फोहरले जल तथा जमिनमा बस्ने जनावरलाई प्रत्यक्ष असर परेको बताउँछन् ।

केयर फर नेचरका सिद्धार्थ रेग्मीले बगरमा प्लास्टिकजन्य फोहरले घडियाल गोही बढी संकटमा पर्ने बताए ।

बगरका बालुवामा अण्डा पार्ने ठाउँकै खोजिमा गोही भौतारिनुपर्ने बाध्यता आउन नदिन सरसफाइमा जोड दिनुपर्ने बताए । सरसफाइमा ३ वटा डुङ्गा प्रयोग भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर