वीर अस्पतालमा निर्देशकभन्दा कर्मचारीको सेटिङ बलियो, सम्पत्ति छानबिन माग गर्दै उजुरी – Nepal Press

वीर अस्पतालमा निर्देशकभन्दा कर्मचारीको सेटिङ बलियो, सम्पत्ति छानबिन माग गर्दै उजुरी

काठमाडौं । वीर अस्पताल सुधारतर्फ अघि बढिरहेका बेला कोभिडको तेस्रो लहरविरुद्ध लड्ने तयारीमा जुटेको छ । डा. भुपेन्द्र बस्नेत अस्पतालको प्रमुख भएर फर्केपछि पूर्णरूपमा संचालन भएर दैनिक २५ सय बिरामीलाई सेवा दिइरहेका बेला कोभिडको नयाँ लहर थेग्नुपर्ने भएको छ ।

डा. जागेश्वर गौतम र डा.केदार सेञ्चुरीको बहिर्गमनपछि अस्पतालले लय लिँदै गरेका बेला लामो समयदेखि वीरमा अनियमितताको अखडा बनाइरहेका विभाग हेर्ने कर्मचारीहरू मेडिकल माफियासँग सेटिङबाट काम गर्न थालेपछि निर्देशक बस्नेतमाथि दबाब बढेको छ ।

पछिल्लो समय वीरमा २४ सै घन्टा पीसीआर हुँदै आएको छ भने टिकट काट्ने डिजिटल प्रणाली व्यवस्थाले सेवाग्राहीलाई सहज भइरहेको छ । अहिले वीरको कोभिड अस्पतालमा एक सयभन्दा बढी बिरामी उपचाररत रहेकोमा नयाँ लहरपछि संख्या बढिरहेको छ ।

वीर अस्पतालले कोभिडको नयाँ लहरलाई लक्षित गरेर आवश्यक तयारी गरेको बस्नेतले बताएका छन् । ५ सय बेडको कोभिड अस्पताल संचालन तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छन् । अस्पतालले कोभिड सोधपुछका लागि ११३३ संचालन गरेको भने आधुनिक बेडसहितको ५०० शैया भएको सर्जिकल भवन सन्चालनको तयारीमा छ ।

बस्नेत निर्देशक बनेर आएपछि दुवाकोटको परियोजना समेत अघि बढाएका छन् भने सीटी स्याक्यान ,एमआरआई, प्याथोलिजि, इमर्जेन्सी सेवा चुस्त बताइएको अस्पतालले जनाएको छ । कर्मचारीले लामो समयदेखि नपाएको कोभिड भत्तासमेत पाएका छन् ।

अस्पताल सुधारको काम अघि बढिरहेका बेला भ्रष्टाचारको अड्डा भनेर चिनिने खरिद एकाई ,जनरल स्टोर ,मेडिकल स्टोर र सामाजिक एकाईका कर्मचारीले मेडिकल सामग्री खरिद तथा ठेक्का र कर्मचारी भर्नामा सेटिङ मिलाउन थालेको भन्दै बस्नेतमाथि उनीहरूलाई त्यस्ता ठाउँबाट अन्यत्र सार्न दबाब बढेको छ ।

वीर अस्पतालको मेडिकल सामग्री खरिद , ठेक्का ,कोटेसन , कर्मचारी भर्नामा आफूनिकटसँग मिलेर सेटिङमा काम हुने गरेको छ । उपकरण खरिदमा मेडिकल स्टोर र जनरल स्टोरमा लामो समय बसेका रैथाने कर्मचारी बैकुण्ठ लुइँटेल, बायोमेडिकल भावना बराल , स्टाफ नर्स भगवती थपलिया, श्याम वि.क, अहेव विण्णु फुयाल , टीकाराम पनेरू, अग्निधर वस्याललगायतको टिमले निर्देशक बस्नेतकै नाममा ‘भेन्डरसँग’ मिलेमतो गर्ने गरेको आरोप लागेको छ ।

यसका साथै लेखा शाखाका केही कर्मचारी, मेडिकल बोर्डका अरूण महतोलगायतको नाम समेत मुछिएपछि निर्देशक बस्नेतमाथि एक्सन लिन अन्य कर्मचारीले दबाब बढाएका हुन् ।

उनीहरूमाथि टेण्डर नगरी कोटेसनमा सामान खरिद गर्न लागेको र सेटिङवाला फर्मसँग कोटेसन लिएर भित्रभित्रै महँगा स्वास्थ्य सामग्री खरिदको घोटाला भइरहेको भन्दै सतर्कता केन्द्र तथा स्वास्थ्यमन्त्रालयसम्म उजुरी पुगेको छ । उजुरीमा लेखा शाखाका केही कर्मचारी, मेडिकल स्टोर प्रमुख टीकाराम पनेरु र जनरल स्टोर प्रमुख बैकुण्ठ लुइँटेलले टेण्डरका गोप्य कागज पहिले नै बाहिर लिक गरेको आरोप समेत लगाइएको छ । टेन्टर तयारी गर्दा नै आफूनिकटलाई दिन मिल्ने गरी यो समूहले बायो मेडिकल विभागकी करार कर्मचारी भावना बरालमार्फत व्यवसायीसँग मिलेर खरिद गर्ने गरेको आरोप लगाइएको छ ।

निर्देशक बस्नेतको नामबाट बाहिर-बाहिरै भइरहेका डीलप्रति उनी बेखबर देखिएका छन् । नेकपा एसका नेता विरोध खतिवडा स्वास्थ्यमन्त्री भएकाले भावना बराल, विष्णु फुयाल, अग्निधर बस्याललगायतले आफूहरू नेकपा एसनिकट भएको भन्दै समानान्तर प्रशासनको अभ्यास गरेको आरोप अन्य कर्मचारीहरूले लगाएका छन् ।

अस्पताल निर्देशक डा. बस्नेत उनीहरूको सामू निरीह भएको आरोप कर्मचारी संघ संगठनका नेताहरूको छ । विगतमा पनि बैकुण्ठ लुइँटेल, भावना बराल र डा. जागेश्वरको मिलेमतोमा २४ करोडको अनियमित टेन्डर आफूनिकट कम्पनीलाई दिएको आरोप लागेको थियो ।

लेखा शाखा र कर्मचारीको यही समूहले सर्जिकल भवन को रकम निकासा दिदा गर्दा ठेकेदार कम्पनीसँग प्रतिशतमै कमिसन लिएरमात्र चेक काट्ने गरेको आरोप छ । गत महिना ११ करोडको चेक काटेर भुक्तानी दिँदा ४० लाख कमिसन रकम वितरण भएको थियो ।

गता साता ८ वटा भिडिओ ऐक्सरे मेसिनको टेन्डर आह्वान गर्दा समेत बायोमेडिकल भावना बराल र बैकुण्ठ लुइँटेलले सेटिङमा दिन मिल्नेगरी स्पेक बनाएको भन्दै अरु भेण्डरले लिखित उजुरी हालेका छन् ।

केही कर्मचारी र सामाजिक एकाइको समेत मिलेमतोमा स्वास्थ्य बीमाको ५० लाख हिनामिना भएको बेरुजु शाखाले निर्देशकलाई जानकारी गराएको स्रोतले जनाएको छ । अहिले देशकै एउटा मात्र जेनेटिक ल्याब प्याथोलोजी विभागका केही कर्मचारीका कारण महिनौदेखि बन्द छ । कमिसन नआउने सामान महिनौंसम्म खरिद प्रक्रिया नै अघि नबढ्दा सेवाग्राही मारमा परेका छन् ।

किनकी यो ल्याब बन्द हुँदा बिरामीले जाँचका लागि विदेश जानुपर्छ । जबकी जेनेटिक ल्याबको टेण्डर फाइल ६ महिनादेखि लुकाइएको छ ।

अस्पताल कर्मचारीहरूले लेखा, मेडिकल स्टोर, जनरल स्टोर र बायोमेडिकलका कर्मचारी र तीनका परिवारको सम्पत्ति छानबिन गरियोस् भन्दै अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागदेखि राज्यका सबै निकायमा उजुरी दिएका छन् ।

(दर्ता भएको उजुरी नेपाल प्रेससँग सुरक्षित छ)

उजुरीमा टिचिङबाट विवादकै कारण निकालिएकी बायोमेडिकल भावना बराललाई वीरमा दिइएको नियुक्ति खारेजीको माग गरिएको छ । बराललाई करारमा राखिएको हो ।

उता विभिन्न निकायमा उजुरी गर्ने कर्मचारीलाई थर्काउन अस्पताल गेटमै गुण्डा राखिएको आरोपसमेत लागेको छ । यसबारेमा निर्देशक बस्नेतले भने छानबिन हुने आश्वासन दिएर पन्छिने गरेको कर्मचारीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *