प्रधानमन्त्री कप क्रिकेटः आर्मीलाई ४ विकेटले हराउँदै पुलिसको दोस्रो जित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः आर्मीलाई ४ विकेटले हराउँदै पुलिसको दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ । आर्मीलाई पराजित गरेसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

सोमबार मुलपानीमा भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले हराएका थियो ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा टस जितेर फिल्डिङ रोजेको पुलिसले आर्मीले दिएको १ सय ३८ रनको लक्ष्य १८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले २२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाएर पेभेलियन फर्किए । अनिल शाह ११ बलमा २२ रन, रासिद खान १९ बलमा २८ रन जोड्दा दिलिप नाथ २५ रन बनाएर अविजित रहे ।

आर्मीको वलिङमा साहव अलामले सर्वाधिक ३ विकेट लिए । यस्तै, जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले १ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार गरेको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ३६ बलमा ३ चौका र ३ छक्कासहितद सर्वाधिक ४४ रन जोडे । यस्तै, ओपनर सोम्पाल कामी ३५ बलमा ६ चौकासहित ४२ रन र हरी चौहान १२ रन बनाएर पेभेलियन फर्किए । कुशल मल्ल तथा सुसन भारीले समान १२ रन बनाए । भने, अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पुलिसको बलिङमा करण केसीले ४ ओभरमा १७ रन खर्चिँदै सर्वाधिक ४ विकेट लिए ।

गल्सन झा र योगेन्द्रसिंह कार्कीले समान २ विकेट तथा आरिफ शेख र दिपेन्द्र सिँह ऐरिले १/१ विकेट लिए ।

समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर