नायिका दीया पुन आगामी अप्रिलमा सगरमाथा आरोहण गर्दै – Nepal Press

नायिका दीया पुन आगामी अप्रिलमा सगरमाथा आरोहण गर्दै

काठमाडौं । अभिनेत्री दीया पुनले आगामी अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढेकी ‘वीर विक्रम’ नायिकाले निजी खर्चमा सगरमाथा चढ्न लागेकी हुन् ।

उनले सन् २०१८ मा अर्जेन्टिनाको ६ हजार ९६१ मिटर उचाइको हिमाल माउन्ट ओकनकागुवा आरोहण गरेकी थिइन् । सगरमाथा आरोहणमार्फत उनले तीनवटा सामाजिक परियोजनाको लागि सहयोग संकलन गर्ने भएकी छिन् ।

सगरमाथा आरोहणका लागि नेपालमा रहेको कीर्तिमानी आरोही निर्मल पूर्जाको कम्पनी एलिट एक्स्पिडिसनले प्रक्रियाहरु पुरा गरेको दीयाले बताइन् । ‘अहिलेसम्म मेरो आरोहणका लागि कुनै स्पोन्सर छैन’ उनले भनिन्, ‘म आफैले सबै खर्च तिर्ने योजना बनाएकी छु । कोही स्पोन्सरको रुपमा आउन चाहनुहुन्छ भने स्वागत छ ।’

कोरोना महामारी सुरु भएदेखि आफू कतै नगएको र पैसा बचत भएको उनले जनाइन् । त्यही बचत भएको पैसाबाट हिमाल चढ्न लागेको दीयाको कथन छ । उनले पर्वतारोहण आफ्नो पेशा भएको समेत बताइन् । सातै महादेशका हिमाल चढ्ने र वर्षमा एउटा हिमाल आरोहणको योजना रहेको उनको तयारी छ ।

दीयाले वीर विक्रम, ह्याप्पी डेज, दयारानी, मन्त्र लगायतका फिल्ममा अभिनय गरेकी छिन् । दयारानी र मन्त्र रिलिज तयारीमा छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर