चितवनमा लकडाउनको झल्को, प्रशासनले जारी गर्‍यो यस्तो आदेश – Nepal Press

चितवनमा लकडाउनको झल्को, प्रशासनले जारी गर्‍यो यस्तो आदेश

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभरी लागूहुनेगरी विभिन्न आदेश जारी गरेको छ । गृहमन्त्रालयको परिपत्रअनुसार प्रशासनले सभा, सम्मेलन, मेला र महोत्सव नगर्न आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चितवनमा २५ जनाभन्दा बढी भेला हुन नदिने गरी आदेश जारी भएको उल्लेख गर्दै महोत्सवहरु पूर्ण रुपमा बन्द गर्न दुईदिनको समय दिइएको बताए ।

माघ ७ देखि सार्वजनिक स्थलमा जादा र सार्वजनिक सेवा लिदा अनिवार्य रुपमा कोभिड विरुद्धको भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला जादा कार्ड वा मोबाइलमा राखिएको कार्डको फोटो देखाउनुपर्ने छ ।

विश्वविद्यालय, क्याम्पस लगायतका सबै शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना गरेर जेड आकारमा बसाइ व्यवस्थापन गरि सञ्चालन गर्न सकिने उल्लेख छ ।

परीक्षा केन्द्रमा मास्क, स्यानिटाइजर प्रयोग अनिवार्य र भौतिक दुरीको प्रावधान कडाइका साथ पालना गर्न भनिएको छ । जिल्लाका सरकारी कार्यालय, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्थामा जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।

सार्वजनिक तथा निजी सवारीमा सिट क्षमता बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य मास्क लगाउने, ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र हरेक दिन सवारी निसंक्रमण गरेर चलाउन सकिने उल्लेख छ ।

स्थानीय तह तथा जिल्लाका अस्पतालहरुमा आइसोलेसन तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोग, भौतिक दुरी लगायतका स्वास्थ मापदण्ड पालना गराउन जनचेतना फैलाउने तथा उपचारलाई प्रभावकारी बनाउन अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *