गगन थापा र गुरु घिमिरेसँगैका ‘राजद्रोही’ पुरुषोत्तम बने एमाले ललितपुरको अध्यक्ष – Nepal Press

गगन थापा र गुरु घिमिरेसँगैका ‘राजद्रोही’ पुरुषोत्तम बने एमाले ललितपुरको अध्यक्ष

काठमाडौं । कुनै घटना संयोगमात्र हुँदैनन्, मान्छेको जीवन बदल्ने मोड बन्छन् । नेपालमा गणतन्त्रको आवाज र एजेण्डा बोक्ने को हो भनेर जस लिने होडबाजी चलिरहँदा छायामा परेका पात्र हुन् पुरुषोत्तम आचार्य ।

एएफपीका तत्कालीन फोटो पत्रकार देवेन्द्रमान सिंहले २०६१ सालमा खिचेको यो फोटोमा कांग्रेस महामन्त्री गगन थापा र नेता गुरुराज घिमिरेकोबीचमा देखिने व्यक्ति नै पुरुषोत्तम आचार्य हुन् । १९ वर्षअघि यी तीन नेता राजतन्त्र मास्ने अपराध गरेको अभियोगमा सँगै जेल परेका थिए ।

जतिबेला राजनीतिक दलहरू राजतन्त्र मान्थे त्यतिबेला दुई ठूला दल कांग्रेस र एमालेका त्यसबेलाका विद्यार्थी नेताहरू गणतन्त्रको पक्षमा बोलेबापत पक्राउ परेका थिए । त्यसबेला गुरु नेविसंघको अध्यक्ष र गगन महामन्त्री थिए । पुरुषोत्तम आचार्य भने अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य तथा पाटन क्याम्पसको नेता थिए ।

उनीहरूविरुद्ध तत्कालीन सरकारले विशेष अदालतमा राजद्रोहको मुद्दा पेश गरेको थियो । तर विशेष अदालतले मुद्दा अघि नबढाएपछि उनीहरू १० दिनमा रिहा भएका थिए । यो देखिएको तस्बिर यी तत्कालीन विद्यार्थी नेताहरु राजद्रोहको मुद्दा खेपेर बाहिर निस्कदाको हो ।

१८ वर्षको बीचमा मुलुक राजतन्त्रबाट गणतन्त्रमा गयो । त्यहि मुद्दाका कारण चर्चाको शिखरमा पुगेका गगन आज कांग्रेसको महामन्त्री छन् । गुरु घिमिरे कांग्रेसमा गगनभन्दा पछि परेपनि चर्चाबाहिर छैनन् । प्रदेश १ को सभापतिमा २ मतले पराजित भएका घिमिरे शेखर कोइराला समूहको नेता नै हुन् ।

तर, यी दुई नेताको बीचमा रहेका आचार्य भने राष्ट्रिय राजनीतिको चर्चामा आउन करीव २ दशक संघर्ष गर्नुपर्यो । आइतवार राति एमाले ललितपुरको अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि आचार्यको चर्चा शुरु भएको छ । गगन र गुरुसँगैका राजद्रोही आचार्य यसअघि ललितपुर एमालेको सचिव थिए ।

गणतन्त्रका योद्दा भनेर गगनको नाम अग्रपंक्तिमा आउँदा आचार्यको नाम कतै आउदैन । आफूलाई त्यसमा कुनै गुनासो नरहेको आचाई बताउछन् । त्यसबेला राजद्रोहको मुद्दा खेप्दैगर्दा राजनीतिको यो ठाउँमा आउने कल्पना नगरेको उनी बताउँछन् । त्यस घटनाले आफूलाई संघर्षप्रति थप प्रतिबद्ध बनाएको उनले नेपाल प्रेसलाई बताए ।

गणतान्त्रिक योद्धा आचार्यले मुलुकमा गणतन्त्र आएपछि विद्यार्थी राजनीति छाडेर ललितपुरमा पार्टीको राजनीति थालेका थिए । गोदावरीका आचार्य जिल्ला कमिटी सदस्य हुँदै सचिव भए । ललितपुरमा युवा पुस्ताको नेतृत्व स्थापित गर्न सफल भएका आचार्य पार्टीमा तीनवटै पुस्ताको संयोजन गर्ने जिम्मेवारी आफूले पूरा गर्ने बताउँछन् ।

ललितपुरमा एमालेलाई तीनै तहका निर्वाचनमा अग्रणी शक्तिका रूपमा स्थापित गर्न आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर