सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन गृह मन्त्रालयको निर्देशन – Nepal Press

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न सरकारले देशभरी नै जनस्वास्थ्यका मापदण्ड कडाई गर्न थालेको छ ।

गृहमन्त्रालयले सोमबार २५ जनाभन्दा बढी भेला हुने मेला, सभा, सम्मेलन तथा महोत्सव सञ्चालन नगर्न नगराउन निर्देशन दिएको छ । मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै गृहले यस्तो निर्देशन दिएको हो ।

आइतबार कोभिड १९ संकट व्यवस्थपन समन्वय केन्द्र सीसीएमसीले गरेको सिफारिस अनुसार गृहले सोमबार निर्णय गरेको हो ।

मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्न निर्देशन दिएको छ ।

यस्तै अत्यावश्यक नियमित कार्यक्रम गर्नुपर्ने भए स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

गृहको परिपत्रमा भनिएको छ, ‘मन्त्रालयले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्नु ।’

आफ्नो जिल्लाका अवस्था हेरेर जिल्ला र स्थानीय तहको विश्लेषणगरी लचकता वा कडाई गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भएपनि हुने० साथमा राख्ने र ति निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागू गर्ने व्यवस्थाका लागि सबै जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ ।

यस्तै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न, नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन र त्यस्तो परीक्षणबाट संक्रमित देखिएकालाई तत्काल संस्थागत आईशोलेसन, होल्डिङ्ग सेन्टर, होटल आदिमा राख्न सम्बन्धित जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले समन्वय गर्न आवश्यक व्यवस्था मिलाउन पनि भनेको छ ।

यस्तै सार्वजनिक स्थानमा निशुल्क एन्टिजेन टेस्ट वुथ स्थापना गर्न र नियमित खोप केन्द्रमा खोपलाई अभियान कै रुपमा अगाडि बढाउन आवश्यक सहजीकरण गर्न पनि भनेको छ ।

मन्त्रालये अध्यागमन विभालाई सरकारले मंसिर १३ र पुष ८ गते जारी गरेको आदेशलाई अध्यागमन विभागबाट ट्राभल एड्भाइजरी जारी गर्दा पूर्ण मात्रा खोप लगाएको र बोडिङ्ग पास जारी हुनु भन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिम भएका यात्रुलाई विदेशबाट नेपाल प्रवेशको लागि सम्बन्धित वायुसेवाले वोडिङ्ग पास जारी गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिका लगायत नौ देशबाट नेपाल आउने वा ती मुलुकमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल राहदानी वाहक वा आवासीय प्रवेषाज्ञा प्राप्त यात्रुको हकमा मात्र क्वारेण्टिन तथा आईशोलेसनको व्यवस्था लागू हुने व्यवस्था गर्न पनि भनेको छ । यस्तै अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसंग समन्वय गर्न पनि भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर