फागुनमा स्थानीय तहको चुनाव नगराएर ५९ साल फर्काउने षडयन्त्र छ : ओली – Nepal Press

फागुनमा स्थानीय तहको चुनाव नगराएर ५९ साल फर्काउने षडयन्त्र छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थानीय तहको निर्वाचन गर्न छाडेर लुटपाटमा लागेको आरोप लगाएका छन् ।

संखुवासभा जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएपनि सरकारको ध्यान यता नरहेको बताए ।

उनले भने, ‘सरकार लुटपाटमा लागेको छ । चुनावतिर होइन् ।’

स्थानीय निर्वाचन सम्बन्धि ऐनमा पहिलोपटक निर्वाचन भएको मितिको दुई महिना अगाडी नै नेतृत्व चयन हुनुपर्ने भएपनि त्यसको तयारी नभएको उनले बताए ।

ओलीले २०७४ सालमा स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाखमा सम्पन्न भएकाले फागुनमा नै अहिले निर्वाचन हुनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘स्थानीय निर्वाचनसम्बन्धि ऐनअनुसार पहिलोपटक जुन मितिमा हुन्छ । त्यसको दुई महिना अगाडि गरिसक्नु पर्छ । चरण चरणमा निर्वाचन भए पनि पहिलो चरणमा भएको मितिले दुई महिना अगाडी नै निर्वाचन हुनुपर्ने हो । २०७४ को निर्वाचनको समय मानेर दुईमहिना अगाडी निर्वाचन गरिसक्नुपर्छ भनेको फागुनमा गर्ने हो । तर फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन ।’

विगतमा पनि सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर कर्मचारीमार्फत चलाएको स्मरण गर्दै अहिले पनि सोही प्रकारको षडयन्त्र भइरहेको बताए ।

उनले भने, ‘०५९ सालमा पनि जनप्रतिनिधिहरुको चुनाव गरेर म्याद थपिएन । त्यो बेला कर्मचारीहरुको जिम्मा लगाइएको थियो । त्यसपछि स्थानीय तह पङ्गु भए । पछि २०७४ सालमा प्रतिनिधिहरुको निर्वाचन भयो । अहिले फेरि सरकारले निर्वाचन गर्नेमा शंका छ ।’

अध्यक्ष ओलीले एमालेले काम गर्न नसकेर सरकारबाट बाहिरएको नभइ दुनिया हल्लाउने गरि काम भएपछि ढालिएको बताए ।

विश्वबैंक, युनेस्को र डब्ल्युएचओलले समेत आफू नेतृत्वको सरकारको प्रशंसा गरेको उल्लेख गर्दै उनले भने, ‘एमालेले नेतृत्व गरेको सरकारका बेला नेपालको प्रशंसा विश्व बैंकले गरेको थियो । शिक्षाको क्षेत्रमा युनेस्कोले प्रशंसा गरेको थियो । स्वास्थ्यको क्षेत्रमा डब्ल्यूएचओले प्रशंसा गरेको थियो । स्रोत साधन नभए पनि कोभिडविरुद्ध लडेकोमा प्रशंसा गरेका थिए । तर षडयन्त्र गरेर केही तत्वले हामीलाई हटाए । षडयन्त्र सँधै काम लाग्दैन । षडयन्त्रकारीहरु जनताका माझ जान डराइरहेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *