कोरोना जोखिम : चितवनमा महोत्सव रोक्ने तयारी – Nepal Press

कोरोना जोखिम : चितवनमा महोत्सव रोक्ने तयारी

चितवन । चितवनमा मेला महोत्सव रोक्ने तयारी भएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले मेला महोत्सव नगर्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले महोत्सवहरू रोक्ने तयारी गरेको हो ।

नारायणी नदी किनारमा हिजोबाट सुरू भएको चितवन महोत्सव, भोलिदेखि तय गरिएको रत्ननगर महोत्सव र ३० देखिको खैरहनी गौचरनमा सुरू गर्न लागिएको खिचरा महोत्सवलाई रोक्ने औपचारिक निर्णय गरिँदैछ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी) को बैठकबाट निर्णयको तयारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मेला महोत्सव रोक्ने निर्णय बेलुकासम्म सार्वजनिक गरिने बताए । जिल्ला प्रशासन कार्यालयमा आयोजक संस्थासहितको दिउँसो ३ बजे सर्वपक्षीय बैठक हुँदैछ ।

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनारमा आइतबारबाट चितवन महोत्सव सुरु भएको थियो । औपचारिक निर्णय नआएकाले चितवन महोत्सव तत्काल नरोकिने उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले बताए । महोत्सव तयारी तथा सञ्चालनमा ठूलो धनराशी लगानी भएकाले महोत्सव रोक्न नहुने उनको भनाइ छ ।

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर अर्थतन्त्र चलायमान बनाउन प्रतिबद्ध रहेको भन्दै उनले महोत्सव नरोक्न माग गरे ।

भोलिदेखि सुरु गर्ने भनिएको रत्ननगर महोत्सव रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको हो । चितवन महोत्सव ५ लाख, रत्नगरम महोत्सव ३ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा थियो । रत्ननगर महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाणले गर्ने तय थियो ।

थारु कल्याणकारिणीसभा क्षेत्र नम्बर ७ को आयोजनामा हुने खिचरा महोत्सवबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलन स्थानीय प्रशासनको अनुरोधपछि स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *