अस्पतालमा कोभिडका बिरामी भर्ना हुने दर एकसातामै दोब्बरले बढ्यो – Nepal Press

अस्पतालमा कोभिडका बिरामी भर्ना हुने दर एकसातामै दोब्बरले बढ्यो

काठमाडौं । पछिल्लो एकसातामै केन्द्रीय तथा प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका बिरामी दोब्बरले बढेका छन् । कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पताल)का निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले केन्द्र तथा प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको बताए ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा बस्नेतले साताअघिको तुलनामा अहिले बिरामीको चाप दोब्बरले बढेको बताए । संक्रमित बढेसँगै अस्पतालमा सामान्य वार्ड, एचडीयू, आइसीयू तथा भेन्टिलेटरलाई तयारी अवस्थामा राखिएको जानकारी उनले दिए ।

चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पतालका साथै उपत्यकाका १३ र प्रदेशका सात अस्पतालमा बिरामीको संख्या बढेको हो । ‘सबै अस्पतालमा एक हप्ता अगाडिभन्दा दोब्बरको संख्यामा बिरामी भर्ना भएका छन्’, उहाँले भन्नुभयो ।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल भएकाले वीर अस्पतालमा रहेको कन्ट्रोल रुमले केन्द्रका १३ र सातै प्रदेशका कोभिड अस्पतालसँग समन्वय गरेर संक्रमितको उपचार व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।

नेपालमा अहिलेसम्म २७ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । आइतबार मात्र देशभर २४ घण्टा पीसीआर र एन्टिजेन परीक्षण गर्दा एक हजार बढी संक्रमित थपिएका छन् ।

बस्नेतले के भने :

अहिले कोभिडको संक्रमण बढेको छ। हाम्रो वीर अस्पताल तथा अन्य कोभिड अस्पतालहरुमा पनि केही समय अघि अर्थात एकसाता अघि भन्दा अहिले भर्ना दर बढेको छ।

एकसाता भन्दा अहिले दोब्बर बिरामी भर्ना भएका छन्।

कोभिड-१९ केन्द्रिय अस्पताल वीर र वीरले समन्वय गरेर सरकारले तोकेका काठमाडौं उपत्यकाका १३ वटा कोभिड अस्पताल र प्रदेशका ७ वटा कोभिड अस्पतालहरुमा अहिले हामीले समन्वयमा छौं।

यी अस्पतालहरुमा अहिले कोभिडका बिरामी बढेको पाइएको छ।

वीर अस्पतालको सन्दर्भमा भन्नुपर्दा अहिले कोभिडका बिरामीका लागि २४ सै घण्टा पिसिआर परीक्षणको व्यवस्था गरेका छौं। कोभिडको छुट्टै आकस्मिक सेवाको व्यवस्था गरेका छौं। कोभिडका बिरामीहरु डाइरेक्ट आकस्मिक सेवामा जानु भएमा त्यहाँ खटिएका चिकित्सकहरुले बिरामीको अवस्था परीक्षण गरी आवश्यकता अनुसार सामान्य वार्ड, एचडीयु तथा आइसीयुमा भर्ना गर्नुपर्ने हेरेर भर्ना गरीन्छ। होम आइसोलेसनम बस्नुपर्नेलाई होम आइसोलेसनमा बस्न सल्लाह दिइन्छ। अहिले वीर अस्पतालमा टेलिकन्सलटेन्ट सेवा पनि सञ्चालन भइरहेको छ। ११३३ नम्बरमा २४ सै घण्टा चिकित्सकीय परामर्श लिन सकिन्छ। जसमा कोभिडबारे जानकारीसँग अस्पतालमा भएका वेड, एचडीयु, आइसीयु तथा भेन्टिलेटरको अवस्थाबारे पनि जानकारी दिइने व्यवस्था गरेका छौं।

अहिले कोभिडको संक्रमण बढेको अवस्था छ। हामी अत्यन्तै सजक रहन र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आवश्यक छ।
कोभिड युनिफाइड केन्द्रीय अस्पतालले अहिले सरकारले तोकेका केन्द्र तथा प्रदेश अस्पतालहरुसँग समन्वय गरेर काम गरीरहेको छ। सबै अस्पतालहरुको रिसोर्स म्यापिङ गरेका छौं। कुन अस्पतालमा कस्ता कुरा छन्रु कुन अस्पतालमा के कस्ता कुरा आवश्यक छरु त्यो पहिचान गरी त्यसलाई पूर्ति गर्नका लागि केही कदमहरु अगाडि बढाइसकेका छौं। स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कुनै पनि कोभिडका बिरामीलाई अस्पतालमा शय्या, अक्सिजन र उपचारको कमी हुन नदिने गरी व्यवस्था गरेका छौं।

हामीसँग केन्द्रीय कोभिड अस्पतलको सेन्ट्रल कन्ट्रोल रुम छ। कन्ट्रोल रुमले कोभिड अस्पतालहरुसँग समन्वय गरेर सबै कोभिड अस्पतालहरुको डेटा अपडेट लिन्छौं। त्यो अपडेट स्वास्थ्य मन्त्रालय र एचईओसीसँग समन्वय गरीरहेका छौं। अहिलेको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न तथा यसको जोखिमबाट आम नागरिकलाई बचाउन अस्पतालले कसरी चुस्त सेवा दिन सकिन्छ भन्ने सोचेर काम गरिरहेका छौं।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर