कोरोनाको तेस्रो लहर सुरू, के छ सरकारको तयारी ? – Nepal Press

कोरोनाको तेस्रो लहर सुरू, के छ सरकारको तयारी ?

काठमाडौं । नेपालमा साउन अन्तिम सातादेखि मन्थर हुँदै गएको कोभिड १९ संक्रमण दर फेरि तीव्र रुपमा फैलन थालेको छ । केही समय यता संक्रमण घट्दै गएर जनजीवन सामान्यतर्फउन्मुख भइरहेको थियो ।

मंसिर २० गते नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि तेस्रो लहर आउन सक्ने भन्दै जनस्वास्थ्यविदले सबैलाई सचेत गराएका थिए । बिहीबार मात्रै २४ जनामा ओमिक्रोन पुष्टि हुनु र नियमित संक्रमण पनि एकाएक बढ्नुले जनस्वास्थ्यविदहरु कोभिड १९ को तेस्रो लहर सुरु भएको तर्फ संकेत गर्छन् ।

पछिल्लो समय विभिन्न राजनीतिक दलको भेला, महाधिवेशन, अंग्रेजी नयाँ वर्ष र मेला÷महोत्सवले पनि संक्रमण बढाउन सहयोग पुगेको स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

अंग्रेजी नयाँ वर्ष मनाउन एक साता अघिदेखि नै नेपालको पर्यटकीय क्षेत्रहरुमा चर्को चहलपहल भइरहेको थियो । न्यु इयर इभ मनाउन पोखरा, चितवन, नगरकोट, लुम्बिनी, ठमेलका होटलदेखि होमस्टेहरु आन्तरिक पर्यटकले भरिभराउ थिए । यस वर्ष ओमिक्रोन भाइरस विश्वको थुप्रै मुलुकहरुमा देखिन थालेपछि नेपालमा नयाँ वर्ष मनाउन तेस्रो मुलुकबाट आउट पर्यटकको संख्या शून्यप्रायः भए पनि भारतीय र आन्तरिक पर्यटकको भने उल्लेख्य उपस्थिति देखिएको थियो ।

क्रिसमस तथा नयाँ वर्ष मनाउनेको भीड र राजनीतिक दलको भेला/महाधिवेशन हेर्दा कोरोनाको जोखिमलाई बेवास्ता गरेको भान हुन्थ्यो । पुस ११ गतेदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको महाधिवेशन पुस १८ गते सकियो ।

महाधिवेशन सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्षलगायत दर्जनौं कार्यकर्ताहरुमा संक्रमण पुष्टि भयो । नेता कार्यकर्तामा संक्रमण फैलने माध्यम नै महाधिवेशन बनेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । यस्तै अंग्रेजी नयाँ वर्षले पनि संक्रमण फैलाउन सहयोग पुगेको स्वास्थ्य मन्त्रालयको कोरोना संक्रमणको तथ्यांकले देखाउँछ ।

नेपालमा ओमिक्रोनको जोखिम एक महिनादेखि सुरु भएकाे हाे । किनभने गत मंसिर अन्तिम साता नै नेपालमा पहिलो पटक ओमिक्रोन फेला परेको थियो । ओमिक्रोनको देखिएपछि पनि सरकार गम्भीर बनेको भने थिएन । त्यसैले पनि नेपालीले अंग्रेजी नयाँ वर्ष धुमधामले मनाए । तर कोभिड महामारी भने सकिएको थिएन ।

डिसेम्बर ३० अर्थात पुस १६ गते २३५ जनामा संक्रमण देखिँदा ४ जनाको मृत्यु भएको थियो । नयाँ वर्ष अर्थात पुस १७ गते ३८२ जनामा संक्रमण पुष्टि भयो भने मृत्युदर शून्य थियो । पुस १८ गते २१६ जनामा कोभिड १९ देखिदा २ जनाको मृत्यु भएको थियो । ३२६ जनामा संक्रमण पुष्टि भएको १९ गते २ जनाले ज्यान गुमाए । २० गते एक साताको तुलनामा संक्रमित बढेका थिए । ३९३ जनामा एकैदिन कोरोना पुष्टि भयो । र ३ जनाको मृत्यु भएको थियो ।

२१ गते संक्रमित हुनेको संख्या बढेर ४३५ पुग्यो भने मृत्युदर शून्य थियो । २२ गतेदेखि कोरोना संक्रमण बढेको हो । उक्त दिन ५४० जनामा संक्रमण बढ्दा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । २३ गते शुक्रबार तीन महिनाएताकै सबैभन्दा बढी संक्रमित भेटियो । ९६८ जना संक्रमित थपिँदा मृत्युदर भने शून्य थियो । शनिबार ९४४ संक्रमित भेटिँदा संक्रमणबाट मृत्यु हुुनेको संख्या शून्य थियो ।

आइतबार एकै दिन ११६८ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको कोभिडको कारण मृत्यु भएको छ । पछिल्लो केहीदिनको संक्रमणदरको तथ्थाङ हेर्ने हो भने संक्रमणदर बढ्दै गए पनि संक्रमणदरको तुलनामा मृत्युदर स्थिर छ ।

यसअघि कोरोना महामारीको दोस्रो लहरका क्रममा एकै दिन २८७ जना सम्मको मृत्यु भएको दर्दनाक स्थिति थियो । अहिलेको तथ्थाङले मृत्युदर स्थिर देखिए पनि पहिलेको अवस्था नआउला भन्न सकिने अवस्था छैन । मृत्युदर घट्नुमा कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारीता मुख्य कारण रहेको भाइरोलिष्ट तथा शुक्रराज ट्रपिक अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

के छ स्वास्थ्य मन्त्रालयको तयारी ?

डेल्टा भाइरसबाट ओमिक्रोन लगायतका भेरियन्ट बन्न गएको विज्ञहरु बताउँछन् । अन्य भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले पनि नेपालमा पछिल्लो समय संक्रमण बढ्नु ओमिक्रोन समुदाय स्तरमा फैलिसकेको हो भन्नेमा संसकित गराएको छ । सरकारले केही दिन यता संक्रमण तीव्र रुपमा बढेसँगै रोकथाम गर्न पनि तयारी थालिसकेको बताएको छ । हाल नेपालमा २७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

ओमिक्रोन भरियन्टका कारण जोखिमपूर्ण अवस्था आउन नदिन सरकारले तयारी थालिसकेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्राले बताइन् ।

सरकारले खोपको उपलब्धता सुनिश्चित गर्ने, प्रवेश नाका र उच्च जोखिममा रहेको कोभिड १९ को जाँचमा वृद्धि गर्न क्वारेटिनको व्यवस्थापन गर्न,अक्सिजन, बेड तथा दक्ष जनशक्तिको व्यवस्थापन सुनिश्चितता गर्न र अन्य पूर्वतयारीको स्वास्थ्य मन्त्रालय निरन्तर प्रयासरत रहेको उनको भनाइ छ ।

ओमिक्रोन भेरियन्टको एस जिन नेगेटिहरुको संख्या बढ्नु भनेको ओमिक्रोनको संक्रमण बढ्नु हो । पता लगाइएका सबै एस जिन नेगेटिभ व्यक्तिहरुलाई कन्ट्र्याक्ट ट्रेसिङको काम नियमित रुपमा भइराखेको उनले दावी गरिन् ।

‘ओमिक्रोन भेरियन्टको कारण हुनसक्ने अत्याधिक विरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलार्ई अक्सिजन, आईसीयू, भेन्टिलेटर शय्या लगायत अन्य सामाग्रीहरुको यथेष्ट जोहो गरी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएका छ,’ प्रवक्ता मिश्राले नेपाल प्रेससँग भनिन् ।

उनका अनुसार समुदायमा जोखिम क्षेत्रहरु पत्ता लगाइ एन्टीजेन द्वारा परीक्षण गर्न र परीक्षणको दायरा बढाउन, पहिचान भएका केसहरुको उचित व्यवस्थापन समन्वय र सहयोग गर्न, संक्रमणमा आएको व्यक्तिहरुको पहिचान गरी क्वारेन्टिनमा राख्न सबै स्थानीय तह र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरुलाई मन्त्रालयले निर्देशन दिएको छ ।

सीमानाकामा कोभिड १९ को परीक्षणलाई थप शशक्त बनाउने र संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

ओमिक्रोनको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पुर्वतयारी स्वरुप प्रदेश १ मा ११, प्रदेश दुईमा ६, वागमतीमा २१, गण्डकीमा १७, लुम्बिनीमा १८, कर्णालीमा ७ र सुदुरपश्चिममा ५ गरी जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ । सबैभन्दा उत्तम उपाय भनेकै खोप लगाउने र संक्रमणको जोखिम घटाउन जनस्वास्थ्यको मापदण्ड पालना गनुपर्ने प्रवक्ता मिश्राको जोड छ ।

कोभिड १९को पहिचान गर्न नमुना परीक्षणमा जोड दिइएको छ । नयाँ भरियन्टको पहिचानको लागि जिन सिक्वेसिङ पनि नियमित रुपमा भइरहेको छ । पुस मसान्तभित्र १८ वर्ष माथिका ६६ प्रतिशतलाई पूर्ण मात्राको खोप दिइसक्नुपर्ने लक्ष्यमा वागमती र गण्डकी प्रदेशले मात्र सफलता पाएका छन् । बाँकी प्रदेशमा पनि खोप कार्यक्रमले तीव्रता पाएको मन्त्रालयले जानकारी दिएको छ ।

लकडाउन गर्नुपर्ने बाध्यतत्मक अवस्था आउन नदिन खोपको पूरा मात्रा लगाउन र जनस्वास्थ्यको नियम पूर्ण पालना गनुपर्नेमा उनले जोड दिइन् ।

तेस्रो लहर सुरु भएको छैन– मन्त्रालय

स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता डा. जागेश्वर गौतमले कोभिडको तेस्रो लहर सुरु भइसकेको दावी गरेका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘सरकारले के भन्ला थाहा भएन । कोभिड १९ को तेस्रो लहर सुरु भइसक्यो जनस्वास्थ्यको मापदण्ड अवलम्बन गरौं/गराऔं । धेरै दुख पाउने सर्वसाधरण नागरिक र स्वास्थ्यकर्मीले हो । फेरि जटिल परिस्थिति आयो । पोहोर सालको त्रासदीबाट सिक्ने हो कि ?’

यस्तै टेकु अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन पनि तेस्रो लहरको संकेत सुरु भइसकेको बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘केही समय यता कोराना संक्रमण घटिरहेको अवस्थामा अहिले फेरि बढ्न थालेपछि कोरोनाको तेस्रो लहरको संकेत सुरु भइसकेको छ । अहिले नै तेस्रो लहर सुरु भइसक्यो त भन्न सकिँदैन । तर, संकेत भने पक्कै देखिएको छ ।’

अबको केहि दिनसम्म पनि निरन्तर यसरी नै संक्रमण बढ्दै गयो भने तेस्रो लहर सुरु भयो भन्न सकिने उनी बताउँछन् ।

तर स्वास्थ्य मन्त्रालयले भने तेस्रो लहरको बारे भनिहाल्नुपर्ने अवस्था नआइसकेको बताएको छ । मन्त्रालयकी प्रवक्ता डा मिश्राले कोभिड १९को तेस्रो लहर सुरु भइनसकेको बताइन् ।

उनले भनिन्, ‘हामीले आधिकारिक रुपमा केही घोषणा गरेका छैनौं । संक्रमणदर बढेको छ । तेस्रो लहरको बारेमा अहिले भनिहाल्नुपर्ने आवश्यकता पनि देखेको छैनौं । हामीले भनेका छैनाैं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *